यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता : मधेस र गण्डकी प्रदेशको जित

गण्डकी र मधेस प्रदेशले कैलालीको धनगढीमा जारी एनआईएमबी सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हात पारेका छन् । आज मंगलबार भएका खेलमा जित हात पार्दै मधेसले लगातार दोस्रो जित हात पारेको हो भने गण्डकीले पहिलो जित दर्ता गरेको हो । 

धनगढीको फाप्ला मैदानमा आज भएको पहिलो खेलमा मधेसले कर्णालीलाई ४९ रनले हरायो भने दोस्रो खेलमा गण्डकीले कोसी प्रदेशलाई १२ रनले हरायो । 

आज भएको पहिलो खेलमा मधेसले पहिले ब्याटिङ गर्दै सबै विकेट क्षतिमा १२५ रन बनायो । उसका लागि राहन शाहले ३९ रन र चन्दन रायले २७ रन बनाए । कर्णालीका लागि विपिन शर्माले ३ विकेट तथा लक्की बम र दीप पौडेलले दुई दुई विकेट लिए । 

प्रतिउत्तरमा कर्णाली प्रदेशले निर्धारित ओभरमा ९ विकेट क्षतिमा ७६  रन मात्रै बनाउन सक्यो । उसका लागि दिपेश रावतले १५ र रोशन शाहीले १३ रन बनाए । मधेसका लागि पप्पु यादवले ३ विकेट र रोहन शाहले दुई विकेट लिए । 

खेलमा दुई विकेट लिएर ३९ रन बनाएका मधेस प्रदेशका राहन शाह प्लेयर अफ द म्याच भए । उनले नगद दुई हजार प्राप्त गरे । 

आजकै दोस्रो खेलमा गण्डकीले पहिले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १६२ रन बनायो । गण्डकीका लागि रोहित कुँवरले ५१ रनको अर्धशतकीय पारी खेले । रोहित चन्दले ३७ रन बनाए । 



कोसीका लागि प्रतिक पोखरेल सौजन घिमिरेले तीन तीन विकेट र प्रेम कामतले दुई विकेट लिए । प्रतिउत्तरमा कोसीले निर्धारित ओभरमा ८ विकेट क्षतिमा १५० रन मात्रै बनाउन सक्यो । उसका लागि दिपु भुजेल र शिवांश बजगाईले समान ३५÷३५ रन बनाए भने सौजन घिमिरेले २३ रन जोडे । 

गण्डकीका लागि सिब्रिन श्रेष्ठले ४ विकेट र अश्विन थापाले दुई विकेट लिए । चार विकेट लिएका गण्डकीका सिब्रिन श्रेष्ठ खेलको प्लेयर अफ द म्याच भए । उनले नगद दुई हजार प्राप्त गरे । 



प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले नगद १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद १० हजार तथा प्लेयर अफ द म्याचले नगद दुई हजार प्राप्त गर्नेछन् । 

नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरेको हो । 

एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सो प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ ।

  • प्रकाशित मिति : वैशाख १२, २०८० मंगलबार २१:५८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया