नक्कली भुटानी शरणार्थी प्रकरण : दबाबमा देउवा

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि पार्टी सभापति शेरबहादुर देउवा तनावमा छन् । 

देउवानिकट मानिएका नेता खाण प्रहरी हिरासतमा पुगेपछि उनलाई पार्टीबाट निलम्बन गर्नुपर्ने माग चौतर्फी उठिरहेको छ । प्रहरी हिरासतमा पुगेको ६ दिन बितिसक्दा पनि खाणलाई विभागीय कारबाहीसमेत नगरिएको भन्दै कांग्रेसकै नेता तथा कार्यकर्ता देउवामाथि प्रश्न उठाउन थालेका छन् । 

पार्टीबाट निलम्बन गरे सोही प्रकरणमा नाम जोडिएकी कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाविरुद्ध खाण जानसक्ने डरले कारबाही गर्ने कुरामा सभापति देउवा मौन रहेको हुनसक्ने आकलन गरिएको छ ।

पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई निलम्बन गर्नुपर्ने माग राख्दासमेत सभापति देउवा मौन रहनुले पनि देउवा डराएको कुरालाई केही हदसम्म पुष्टि गरेको मान्न सकिन्छ । आरजु देउवाकी श्रीमती हुन् । 

गत २७ वैशाखमा बसेको कांग्रेस पदाधिकारी बैठकमा महामन्त्रीद्वय थापा र शर्माले नेता खाणलाई निलम्बन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उक्त बैठकमा महामन्त्री थापाले सार्वजनिक पदमा भएको व्यक्ति अनुसन्धान अवधिभर स्वतः निलम्बनमा जाने भएका कारण आफैं पार्टीबाट अलग रहनुपर्ने धारणा राखे । थापाको उक्त कुरामा अर्का महामन्त्री शर्मा र उपसभापति धनराज गुरुङले समर्थन पनि जनाए ।

पार्टीका महामन्त्री र उपसभापतिले समेत खाणलाई निलम्बन गर्नुपर्छ भनेपछि देउवा नैतिक दबाबमा पर्नु स्वाभाविक हो । तर देउवाले खाणलाई निलम्बन गर्ने नैतिकता भने हालसम्म देखाउने सकेका छैनन् ।



यस्तै, कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आइतबार (३१ वैशाख) खाणलाई निलम्बन गर्न माग गर्दै विरोध प्रदर्शन गरेपछि देउवा थप दबाबमा परेका छन् । नाता र नेता नहेरी भ्रष्टाचारीलाई कानुनी दायरामा उभ्याउनुपर्ने माग गरेको नेविसंघले प्रतिकात्मकरूपमा कागजको हतकडी र कैदीबन्दीको पोसाकसहित प्रदर्शन गरेको थियो ।

‘सभापति ज्यू खाणलाई किन निलम्बन नगरेको ?’ लेखिएको प्लेकार्डसहित उनीहरू प्रदर्शन उत्रिएका हुन् । नेता खाण त्रिवि स्ववियु सभापति, नेपाल विद्यार्थी संघको अध्यक्ष र तरुण दलको अध्यक्षको जिम्मेदारी सम्हाल्दै केन्द्रीय राजनीतिमा प्रवेश गरेका नेता हुन् । सोही प्रकरणमा नाम जोडिएका नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायझीलाई एमालेले पार्टीबाट निलम्बन गरेपछि कांग्रेस सभापति देउवा थप नैतिक दबाबमा परेका छन् ।



रायमाझी पक्राउ पर्नुपूर्व नै एमालेले पार्टीबाट निलम्बन गरे पनि देउवाले भने खाण पक्राउ परेको एक साता हुन लाग्दासमेत कारबाहीको कुनै संकेत दिएका छैनन् । २६ वैशाखमा बसेको एमालेको सचिवालय बैठकले रायमाझीलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको हो ।

राज्यले गर्ने अनुसन्धानमा सहयोग पुर्याउने भन्दै एमालेले अनुसन्धान र कानुनी कारबाहीको प्रक्रियाले किनारा नपाउँदासम्मका लागि रायमाझीलाई निलम्बन गरेपछि कांग्रेस सभापति देउवा खाणलाई कारबाही गर्नुपर्ने थप दबाबमा परेका हुन् ।

पक्राउ पुर्जी जारी भएको ६ दिनपछि एमालेले रायमाझीलाई पार्टीबाट निलम्बन गरेको थियो । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि फरार रहेका रायमाझीलाई प्रहरीले आइतबार काठमाडौंको बुढानिलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीले पक्राउ परेका रायमाझीलाई जिल्ला अदालतबाट काठमाडौंबाट सोमबार ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति लिएको छ । कुनै पनि पार्टीको जिम्मेवार पदमा बसेको व्यक्तिलाई यस किसिमको आरोप लागेपछि स्वयम् व्यक्तिले नै सम्पूर्ण पदबाट मुक्त भएर अनुसन्धानमा सघाउनुपर्ने राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन् । 

व्यक्तिले त्यसो नगरेको खण्डमा त्यो व्यक्ति आबद्ध संस्था, पार्टीले जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धानलाई सघाउनुपर्ने उनको भनाइ छ । आचार्यले फरकधारसँग भने, ‘कांग्रेसले त्यो किन गरेन मलाई थाहा छैन ।’ पार्टीको उक्त कार्यले भ्रष्टलाई संरक्षण गरेको र अनुसन्धानलाई सहयोग नगरेको देखाउने उनले बताए ।

राजनीतिक दलले जनताको संवेदनशीलता र चाहनालाई सम्बोधन गर्नुपर्ने भएकाले खाणलाई निलम्बन गरेर अनुसन्धानलाई सघाउनु नै उपयुक्त हुने उनको भनाइ छ । अनुसन्धानबाट सफाइ पाए पुनर्स्थापित गर्ने नीतिअनुसार कांग्रेस अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।

यस्ता कदमले पार्टीको साख गिराउँछ : राजनीतिक विश्लेषक आचार्य 

आफूलाई लोकतन्त्रको परहेदार ठान्ने नेपाली कांग्रेस जस्तो राजनीतिक दलले केन्द्रीय तहको नेतामाथि यस किसिमको आरोप लागेपछि लामो छलफल नगरी तत्काल निलम्बन गर्नुपर्ने राजनीतिक विश्लेषक सुदर्शन आचार्य बताउँछन् ।

निलम्बन नगरे पनि पार्टी सभापतिले आरोपित खाणसँग राजीनामा मागेर भ्रष्टाचारको विषयमा कांग्रेस संवेदनशील छ भन्ने सन्देश जनतालाई दिनुपर्ने उनको भनाइ छ ।

संवेदनशील विषयमा संलग्न रहेको आरोपमा पक्राउ परेका केन्द्रीय तहका नेतालाई निलम्बन नगर्ने र राजीनामा पनि नमाग्ने जस्ता कार्यले कांग्रेसको साख गिराउने विश्लेषक आचार्यको भनाइ छ ।

उनका अनुसार सार्वजनिक सञ्चारमाध्यमहरूले नक्कली भुटानी शरणार्थी प्रकरणको जरो बुढानिलकण्ठसम्म पुगेको भनिरहेको सन्दर्भमा तत्काल खाणलाई निलम्बन, निस्कासन वा अन्य कुनै कारबाही गर्दा उनले पनि आफ्नाबारे प्रतिक्रिया दिनसक्ने र आफू पनि उक्त प्रकरणमा तानिने त्रासले देउवाले कारबाही नगरेको कुरा बुझ्न कठिन छैन ।

उक्त प्रकरणमा आफू तानिन सक्ने त्रासकै कारण देउवाले निलम्बन नगरेको र राजीनामा पनि माग नगरेको हुनसक्ने उनको बुझाइ छ । आचार्यले भने, ‘राज्यको नियन्त्रणमा भएको र नियन्त्रणमा नपुगेको व्यक्ति उक्त प्रकरणमा संलग्न छैन, सुशासनको पक्षमा काम गरेको छ भने डराउनुपर्ने कुरा थिएन ।’

उनका अनुसार अहिले खाणलाई निलम्बन गरेर यस प्रकरणको टुङ्गो लागेर खाणको संलग्नता देखिएन भने उनलाई सम्मान पूर्वक पुनः केन्द्रीय समितिमा फिर्ता बोलाउने बाटोतर्फ पार्टी जानुपर्थ्यो । 

पार्टी सभापतिभन्दा पनि बढी मत ल्याएर चुनिएका महामन्त्रीलगायत पार्टीका उच्च तहका पदाधिकारीले प्रस्टरूपमा निलम्बन गर्नुपर्ने नैतिक प्रश्न उठाउनु अगाडि नै पार्टी नेतृत्वले खाणलाई निलम्बन गर्नुपर्ने आचार्यको भनाइ छ ।

खाणलाई निलम्बन गर्नुपर्ने दबाब पार्टीभित्र उत्कर्षमा पुगेको र पार्टीको दबाबलाई छलेर निलम्बन नगर्ने राजीनामा पनि नमाग्ने, स्वतन्त्रपूर्वक छानबिनलाई सहयोग नगर्ने जस्ता नेतृत्वका गतिविधिले कांग्रेसप्रति वितृष्णा जगाउने आचार्यको तर्क छ ।  

  • प्रकाशित मिति : जेठ २, २०८० मंगलबार १२:३३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया