अर्थमन्त्री महत भन्छन्- रायमाझी र खाणको केस फरक छ

अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाणको केसलाई एउटैमा जोड्न नमिल्ने बताएका छन् ।

मंगलबार सञ्चारकर्मीसँग भेटघाट गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री महतले खाणले आफू निर्दोष भएको प्रमाणित गर्ने भनेकाले उनको सन्दर्भमा पार्टीले कुनै निर्णय नगरेको पनि बताए ।

अनुसन्धान चलिरहेको उल्लेख गर्दै महतले अनुसन्धानले निकालेको निष्कर्षका आधारमा पार्टीले आफ्नो धारणा बनाउने बताए ।  

‘उहाँले म यसमा निर्दोष छु, त्यो प्रमाणित गर्छु भनिरहनुभएको छ । त्यसो हुनाले यो विषयमा हामीले निर्णयमा नपुगेको अवस्था हो । र, रायमाझीको केस फरक छ । त्यसमा एउटैमा जोड्ने अवस्था पनि म देख्दिनँ । तर, अनुसन्धानले जे निष्कर्ष निकाल्छ, त्योअनुसार पार्टीले आफ्नो दृष्टिकोण बनाउँछ । हामीले भन्दै आएका छौँ स्वतन्त्र, निष्पक्ष अनुसन्धान होस्,’ मन्त्री महतले भने । 

उनले नक्कली भुटानी शरणार्थी प्रकरण स्वतन्त्र र निष्पक्षरूपमा अनुसन्धान गर्न पार्टीले सहयोग गर्ने पनि बताए । उनले निर्दोष दोषी हुने र दोषी निर्दोष हुने अवस्था आउनु नहुने पनि बताए । 

‘हाम्रो दृष्टिकोण यसमा के हो भने यो अनुसन्धान प्रक्रिया अगाडि बढोस् । यसमा पार्टीको पूरा सहयोग हुन्छ । निष्पक्ष हुनुपर्‍यो यो अनुसन्धान, स्वतन्त्र हुनुपर्‍यो । निर्दोष पनि दोषी हुने अवस्था आउनु भएन । र, दोषी निर्दोष हुने अवस्था पनि आउनु भएन । त्यसकारण स्वतन्त्र, निष्पक्ष अनुसन्धानको पक्षमा हामी छौँ । त्यसमा पूरापूरा सहयोग हामी गर्छौँ,’ प्रवक्ता महतले भने । 



उनले कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवाको सम्बन्धमा नक्कली अडियो फैलाइएको भन्दै त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए । आरजु आफैंले सो अडियोको अनुसन्धान गर्न साइबर ब्यूरोमा निवेदन दिइसकेको अवस्थामा उनलाई मिडियामा ट्रायल गरेर दोषी नबनाउन महतले आग्रहसमेत गरे ।

‘सामाजिक सञ्जालको ट्रायल भइरहेको छ । डा. आरजु राणाको विषयलाई लिएर उहाँ आफैंले प्रतिरक्षा गरिरहनुभएको छ । आफैंले साइबर ब्यूरोमा गएर यो नक्कली कुरा हो । यसको अनुसन्धान गर उहाँले भनिरहनु भएको छ । भनेपछि पहिला नै न उहाँ आरोपी हो । न त्यसको कुनै प्रमाणिकता छ,’ महतले भने, ‘यत्तिकै सामाजिक सञ्जाल र मिडिया ट्रायल गरेर दोषी हो भनेजस्तो गर्नु भएन नि । यसप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । मलाई विश्वास छ अडियो प्रकरण झुटो र नक्कली हो ।’ 



उनले पार्टी सभापति शेरबहादुर देउवाले निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि सघाइरहेका पनि बताए । घटनामा संलग्न दोषी प्रमाणित भएमा कानुनी प्रक्रियाअनुसार अगाडि बढ्ने महतो भनाइ छ ।

  • प्रकाशित मिति : जेठ २, २०८० मंगलबार १४:२२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया