सफल होला त उपेन्द्रको ‘उप रणनीति’ ?

बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचमार्फत आफू सांसद बन्ने अनि सरकारको उपप्रधानमन्त्री बन्ने ‘उप रणनीति’मा उपेन्द्र ७५ प्रतिशत सफल भइसकेका छन् ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सत्ता राजनीतिका माहिर खेलाडी मानिन्छन् । ०६४ पछि तत्कालीन ‘मधेशी जनअधिकार फोरम’ मार्फत मधेश विद्रोह गरेर सोही नाममा पार्टी स्थापित गरेका यादव छोटो समयमा नै पटकपटक मन्त्री र उपप्रधानमन्त्री भइसकेका छन् । 

जनताले कुनै पनि पार्टीलाई बहुमत नदिएपछि सत्ताको नेतृत्व गर्ने पार्टीहरुलाई उपेन्द्र यादव अपरिहार्यजस्तै बनेका छन् । त्यसैले त उनी कहिले कांग्रेस, कहिले एमाले त कहिले माओवादीको सहयोगी बनेर सत्ता राजनीतिको स्वाद लिइरहेका छन् । आफूलाई ‘मधेशी जनताको मसिहा’ घोषित गरेर सत्तामा पुग्ने, तर माथि पुगेपछि धरातल बिर्सने गरेको आरोप पनि यदाकदा उनीमाथि लाग्दै आएको छ । 

गत मंसिर ४ मा सम्पन्न आमनिर्वाचन अघिसम्म तत्कालीन पाँचदलीय सत्ता गठबन्धनमा रहेका यादवले निर्वाचनको केही दिनअघि मात्रै पुरानो गठबनधन छाडेर एमालेसँग चुनावी गठबन्धन बनाए । एमालेसँगको गठबन्धनका कारण पार्टीलाई राम्रै फाइदा भए पनि उनी स्वयं भने सप्तरी २ मा जनमत पार्टीका सिके राउतसँग नराम्ररी पराजित भए । 

सत्ता राजनीतिका धुरन्धर खेलाडी उपेन्द्रका लागि त्यो हार झनै लाभदायक बन्यो । तीन ठूला दलबीच प्रधानमन्त्री र राष्ट्रपतिमा रस्साकस्सी चलिरहँदा उनले आफ्नो पार्टी जसपाले उपराष्ट्रपति पाउनुपर्ने अडान लिए । एमाले–माओवादी या कांग्रेस माओवादी जुन गठबन्धन बनेपछि उपराष्ट्रपति फुत्काउने उनको दाउ कालान्तरमा सत्य साबित भइछाड्यो । 

बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचमार्फत आफू सांसद बन्ने अनि सरकारको उपप्रधानमन्त्री बन्ने उपेन्द्रको ‘उप रणनीति’ हो । त्यसमा उनी ७५ प्रतिशत सफल भइसकेका छन् । तर, आफू केन्द्र सरकारको उपप्रधानमन्त्री बन्ने उनको रणनीति सफल होला, नहोला यसै भन्न सकिने अवस्था छैन ।  



यादव नेतृत्वको पार्टीले सत्ता गठबन्धनमा शिक्षा र वन गरी दुईवटा मात्रै मन्त्रालय पाएको छ । जसपाले शिक्षा मन्त्रालयमा पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका अशोक राइलाई पठाइसकेको छ । पार्टीको भागमा बाँकी रहेको वन मन्त्रालयसहित उपप्रधानमन्त्री पाएमा आफैँ सरकारमा जाने मनशायमा उपेन्द्र रहेको बताइन्छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा जसपालाई उपप्रधानमन्त्री दिन तयार भइनसकेका कारण उपेन्द्रको उपप्रधानमन्त्री बन्ने रणनीति सफल हुने सम्भावना कम छ ।  

उपनिर्वाचनमार्फत निर्वाचित भएर आएको तीन साता बितिसक्दा पनि उनले सरकारमा थप मन्त्री पठाएका छैनन् पार्टीले मन्त्री छान्ने जिम्मा अध्यक्ष यादवलाई नै दिइसकेको छ । पटकपटक उप्रधानमन्त्री बनिसकेका यादव मन्त्री मात्रै बनेर सरकारमा जाने सम्भावना न्यून छ । 



जसपाले शुक्रबार आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्री प्रचण्डलाई मन्त्रीको नाम बुझाउने भएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष यादवले आज या भोलिसम्म मन्त्रीको नाम प्रधानमन्त्री प्रचण्डलाई बुझाउने जानकारी गराएका थिए । 

जसपाले यसअघि संसदीय दलको नेता चयन भएपछि मात्रै मन्त्री चयन गर्ने जानकारी प्रधानमन्त्री प्रचण्डलाई दिएको थियो । संसदीय दलको नेतामा यादव आफैँ चयन हुने पक्काजस्तै छ । आफू उपप्रधानमन्त्री बन्न पाउने लक्षण नदेखिएपछि अध्यक्ष यादवले संसदीय दलको नेता चयनअघि नै मन्त्रीको नाम पठाउने तयारी गरेका हुन् ।
 

  • प्रकाशित मिति : जेठ ४, २०८० बिहीबार २३:४०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया