नक्कली भुटानी शरणार्थी प्रकरण
रायमाझी र खाणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीहरू टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।  

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि मन्त्रीद्वय रायमाझी र खाण तथा सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

अदालतले लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ । मर्हजनलाई ५ लाख र टंककुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । 

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ र फरार १४ गरी ३० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ठगी, संगठित अपराध, किर्ते र राज्यविरुद्धको अपराध कसुरमा कैद‚ बिगो र जरिवाना मागदाबीसहित जेठ १० मा मुद्दा दायर गरेको थियो । 

गत वर्षको १२ चैतमा गिरोहका नाइके केशव दुलाल‚ सानु भण्डारी र टंक गुरुङलाई पक्राउ गरेपछि प्रहरीले अदालतबाट म्याद थप गरेर अघि बढाएको अनुसन्धानका क्रममा पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जना पक्राउ परेका थिए । 

यस्तै, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप, गिरोहका सदस्यहरू सागर राई, रामशरण केसी, खाण गृहमन्त्री हुँदा उनका स्वकीय सचिव रहेका नरेन्द्र केसी र गोविन्द चौधरी पनि अनुसन्धानका क्रममा पक्राउ परेका थिए ।  



यो मुद्दामा १२ जना अझै फरार रहेका छन् ।    



  • प्रकाशित मिति : असार १, २०८० शुक्रबार १८:३९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया