मृत्यु भएको चार दिनपछि मन्त्री सिंह दम्पतीको दाहसंस्कार गरिँदै

जीप दुर्घटना परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह र उनकी धर्मपत्नी अमृतादेवी सिंहको मृत्यु भएको चार दिनपछि आज दाहासंस्कार गरिर्दै छ।

बुधबार जिल्ला अस्पतालमा राखिएको मन्त्री सिंह दम्पतीको पार्थिव शरीरलाई अहिले  बझाङ जिल्ला अस्पतालदेखि चैनपुर बजार परिक्रमा गराइ ११ बजे नेपाली कांग्रेस पार्टी कार्यालयमा शोक तथा श्रद्धाञ्जली अर्पण गरेर दिउँसो सेती नदीस्थित धौला बगर मसानघाट डुंग्रीमा अन्त्येष्टि गरिने भएको हो।

मन्त्री सिंहका कान्छा छोरा नर्वेबाट आउन समय लागेकाले चार दिनपछि आज अन्त्येष्टि गरिन लागिएको नेपाली कांग्रेस पूर्व पार्टी सभापति हर्कजंगबहादुर सिंहले जानकारी दिए । डडेल्धुराबाट गृहजिल्ला बझाङ आउने क्रममा मंगलबार मन्त्री सिंहसहित उनकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा परी मृत्यु भएको थियो। 

मन्त्री सिंह सवार सुपप्र ०१–००१ झ ४८० नम्बरको जीप मंगलबार दिउँसो १:३० बजे केदारस्युँ गाउँपालिकाको नयाँखेत भन्ने स्थानमा दुर्घटनामा परेको थियो । जीप सडकबाट झण्डै ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।  दुर्घटनापछि उपचारका लागि मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज लगिएको थियो । 

उनलाई कोहलपुर मेडिकल कलेजले मृत घोषणा गरेको थियो । मन्त्री सिहको शव मंगलबार राति नै धनगढी ल्याएर बुधबार धनगढी रंगशालामा अर्पण पश्चात हेलिकप्टर मार्फत् गृह जिल्ला बझाङ ल्याइएको थियो । मन्त्री सिंहका गाडी चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीको थप उपचारका लागि कोहलपुरबाट काठमाडौं लगिएको छ । 





  • प्रकाशित मिति : असार ९, २०८० शनिबार १०:२७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया