एसइई नतिजा : कुन जिपिए ल्याउने कति ? (सूचीसहित)

परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसइई) परीक्षाको नतिजा प्रकाशित गरेको छ । २०७९ को एसइई परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रको सहभागी भएका थिए । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसइईमा सहभागी थिए ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जिपिए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २. ८ जिपिए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ । सबैभन्दा धेरै २ देखि २.४ जिपिए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख २ हजार २९३ छ ।

बोर्डले अन्तिमपटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो । विसं ०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ ।

विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ ।

नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ । यो व्यवस्था आगामी वर्षदेखि मात्रै लागू हुने भएको छ ।



 



  • प्रकाशित मिति : असार २१, २०८० बिहीबार १६:२१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया