सहरी क्षेत्रका एक चौथाई पुरुषमा उच्च रक्तचाप, महिला पनि छैनन् जोखिममुक्त
के हुन्छ असर, कसरी गर्ने नियन्त्रण ?

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०२२ का अनुसार ग्रामीण भेगमा भन्दा सहरी क्षेत्रमा बढी उच्च रक्तचाप रहेको पाइएको छ । ग्रामीण क्षेत्रका पुरुषको दाँजोमा सहरी क्षेत्रका पुरुषमा उच्च रक्तचाप पाइएको छ । ग्रामीण क्षेत्रका १८ प्रतिशत पुरुषमा र सहरी क्षेत्रका २५ प्रतिशत पुरुषमा उच्च रक्तचाप भएको पाइएको छ ।

ग्रामीण र सहरी क्षेत्रका महिलामा भने उच्च रक्तचाप हुने दर १ प्रतिशतले मात्र फरक छ । ग्रामीण क्षेत्रका १७ प्रतिशत र सहरी क्षेत्रका १८ प्रतिशत महिलामा उच्च रक्तचाप भएको सर्वेक्षणमा उल्लेख छ ।

यस्तै, सर्वेक्षणका अनुसार कोशी प्रदेशमा उच्च रक्तचाप सबैभन्दा बढी महिलामा २५ प्रतिशत र पुरुषमा २७ प्रतिशत रहेको पाइएको छ । यससँगै सबैभन्दा कम कर्णाली प्रदेशमा क्रमशः १२ प्रतिशत महिलामा र १८ प्रतिशत पुरुषमा उच्च रक्तचाप रहेको पाइएको छ । 

अध्ययनका क्रममा समग्रमा नेपालमा १५ वर्ष वा सोभन्दा माथि उमेरका ८० प्रतिशत महिला र ७२ प्रतिशत पुरुषको रक्तचाप कुनै न कुनै समयमा कुनै एक स्वास्थ्य कार्यकर्ताद्वारा मापन गरिएको थियो । 

१३ प्रतिशत महिला र १५ प्रतिशत पुरुषहरूलाई स्वास्थ्यकर्मीले कहिल्यै उच्च रक्तचाप छ भनेर भनिएको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणका अनुसार उच्च रक्तचाप भएको बताइएकाहरू मध्ये ५९ प्रतिशत महिला र ५५ प्रतिशत पुरुषलाई रक्तचाप नियन्त्रण गर्ने औषधी सिफारिस गरिएको थियो । अध्ययनकै क्रममा समग्रमा ४७ प्रतिशत महिला र ४३ प्रतिशत पुरुषले आफ्नो रक्तचाप नियन्त्रण गर्न औषधि सेवन गरिरहेको पाइएको छ ।

नेपालमा रक्तचापको स्थिति



उच्च रक्तचाप सामान्यतया ४० वर्ष कटेपछि देखिन्छ भनिए पनि पछिल्लो समय १५ वर्षको उमेरदेखि नै देखिन थालेको सर्वेक्षणले देखाएको छ । 

अध्ययनका अनुसार १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका १८ प्रतिशत महिला र २३ प्रतिशत पुरुषमा उच्च रक्तचाप छ । एक औसत सिस्टालिक रक्तचाप (एसबिपी) १४० एमएमएचजी वा सोभन्दा माथिको स्तर, औसत डाएस्टोलिक रक्तचाप (डिबिपी) स्तर ९० एमएमएचजी वा सोभन्दा माथिको रक्तचापको औषधि उनीहरुले लिइरहेको सर्वेक्षणले देखाएको छ । 



उक्त सर्वेक्षणमा उच्च रक्तचाप उमेरसँगै बढ्दै गएको पाइएको छ । ७० वर्ष र सोभन्दा माथिका महिलामा ५२ प्रतिशत र ६५ वर्ष वा सोभन्दा माथिका पुरुषमा ४५ प्रतिशत उच्च रक्तचाप भएको पाइएको छ ।

यसैगरी, उच्च रक्तचाप ५५–५९ वर्षको उमेरसम्म महिलाहरुको तुलनामा पुरुषहरुमा बढी रहेको र त्यसपछि उच्च रक्तचाप महिलाहरुमा पुरुषहरुभन्दा बढी रहेको पाइएको अध्ययनमा उल्लेख छ । 

यस्तै, अध्ययनकै क्रममा उच्च रक्तचाप भएकामध्ये १९ प्रतिशत महिला र १७ प्रतिशत पुरुषले उच्च रक्तचाप नियन्त्रण गरेको पाइएको छ । अर्थात् एसबिपी १४० भन्दा कम र डिबिपी ९० एमएमएचजीभन्दा कमको उच्च रक्तचापको नियमित औषधि उनीहरुले सेवन गरिरहेका छन् । 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) अनुसार विश्वमा प्रत्येक वर्ष नसर्ने रोगका कारण करिब ६ करोड मानिसको मृत्यु हुन्छ । नसर्ने रोगमध्ये अकालमा ज्यान जाने प्रमुख कारण उच्च रक्तचाप एक हो । 

उच्च रक्तचापका कारण हृदयाघातले मृत्यु हुनेमध्ये ४५ प्रतिशत उच्च रक्तचाप र पक्षाघातबाट हुने ५१ प्रतिशत मृत्युको पनि उच्च रक्तचाप नै भएको डब्ल्यूएचओ जनाएको छ ।

३० वर्ष कटेपछि नियमित रक्तचाप मापन गरौँ 

स्वस्थ मानिसको औसत रक्तचाप १२०–८० एमएमएचजी हुन्छ  । बढेर १४०–९० एमएमएचजी भए उच्च रक्तचाप भएको मान्नुपर्ने त्रिवि मनमोहन सेन्टर, महाराजगन्जका मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई बताउँछन् । 

सहरी क्षेत्रमा उच्च रक्तचाप बढी हुनुको कारण अस्वस्थकर जीवनशैली हो । ग्रामीण भेगको तुलनामा सहरी जीवनशैली अस्वस्थकर छ । धूमपान तथा मद्यपानको बढी प्रयोग, मासुजन्य परिकार, जंक फुड, वातावरण प्रदुषण, तनावपूर्ण जीवनशैली, व्यस्त दैनिकी आदी कारणले सहरमा उच्च रक्तचाप बढी भएको डा. अनिल भट्टराईले जानकारी दिए ।  

उच्च रक्तचापका लक्षण टाउको दुख्नु, रिंगटा, वाकवाकी लाग्नु, नाकबाट रगत बग्ने, थकान महसुस हुने, टाउको भारी हुने, आँखा धमिलो हुने, छाती दुख्ने लक्षण देखिन्छन् । कुनै व्यक्तिलाई भने कुनै लक्षण नै नदेखिने डा.भट्टराईले बताए । त्यसैले उच्च रक्तचापलाई ‘साइलेन्स किलर’ पनि भनिन्छ । एकपटक रक्तचाप उच्च देखिँदैमा उच्च रक्तचाप भन्न नमिल्ने डा. भट्टराईको भनाइ छ । उनका अनुसार कम्तीमा तीनपटक नाप्दा उच्च रक्तचाप देखिएमा मात्रै उच्च रक्तचाप भएको निश्चित गर्न सकिन्छ । 

उच्च रक्तचापलाई नियन्त्रण गर्न सकिएन भने मस्तिष्कको नसा फुटेर मस्तिष्काघात हुने, आँखाको ज्योति गुम्ने, मिर्गौला फेल, पारालाइसिस, हृदयाघातजस्ता शारीरिक समस्या देखिने डा. भट्टराई बताउँछन् । उनी भन्छन्, ‘उच्च रक्तचाप वंशाणुगत पनि हुन्छ । आमाबुवा कसैलाई छ भने छोराछोरीले विशेषगरी ३० वर्ष कटेपछि नियमित रुपमा रक्तचाप परीक्षण गर्नुपर्छ । जीवनशैलीमा परिवर्तन गरी स्वस्थ जीवनशैली अपनाउनुपर्छ ।’

उनका अनुसार नियमित व्यायाम, स्वस्थकर खानपान, धुमपान तथा मद्यपान नगर्ने, शरीरको तौल नियन्त्रणमा राख्ने, शरीरमा कोलेस्ट्रोल र सुगरलाई नियन्त्रणमा राख्नुपर्छ । यसका साथै तनाव नलिने, शरीरलाई आराम दिने, नियमित चाँडै सुत्ने र चाँडै उठ्ने बानीको विकास गर्ने, हरियो सागपात र फलफूल अत्यधिक मात्रामा खाने, मासुजन्य खानेकुरा कम खाने गरियो भने उच्च रक्तचाप हुनबाट जोगिन सकिने डा. भट्टराईको सुझाब छ ।

  • प्रकाशित मिति : साउन ४, २०८० बिहीबार २२:४८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया