लम्पी स्किन नियन्त्रणमा मिलेर काम गर्न भारत सहमत

नेपाली पशुमा आक्रमकरूपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणमा मिलेर सहकार्य गर्न भारत तयार देखिएको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाल र भारतीय मत्स्‍य, पशुपक्षी तथा डेरी मन्त्री पुरुषोत्तम रूपालाबीच भएको छलफलमा लम्की स्किन रोगको नियन्त्रणमा दुवै देश मिलेर अगाडि बढ्ने सहमति भएको हो ।  

मन्त्री भुसालले हालै गरेको भारत भ्रमणका क्रममा भएको समझदारीबारे जानकारी दिन आज आयोजित कार्यक्रममा नेपाल र भारतका सीमावर्ती जिल्लामा मिलेरै लम्पी स्किन रोगको भ्यक्सिनेसन गर्ने सहमति भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

यस्तै खोरेत रोग उन्मूलनका लागि भारत मिलेर अगाडि बढ्न तयार देखिएको मन्त्री भुसालले बताए । त्यसका लागि दुवै देशको सरकारी पक्षबाट आवश्यक काम अगाडि बढाउने सहमति भएको छ । भारतले गाई र च्याङ्ग्रााको नस्ल सुधारका लागि उन्नत पशु नेपाललाई दिने भएको छ । गाईको गिर र साइवाल गाईको उन्नत जात नेपाललाई दिने भारतीय पशुपक्षीमन्त्री रूपालाले प्रतिबद्धता जनाएका छन् । 

सीमावर्ती नाकाबाट गैरकानूनीरूपमा पशुपक्षी र माछा आयात, निर्यातमा कडाइ गर्ने दुवै देशले प्रतिबद्धता जनाएका छन् । तीन दिने भारत भ्रमण गरेका मन्त्री भुसालले भारतका कृषि, पशुपक्षी र रसायन एवं उर्वरक मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

भारतीय कृषिमन्त्री नरेन्द्र सिंह तोमरसँगको छलफलमा नेपाली टमाटरलाई निर्यातको प्रक्रिया यथाशीघ्र गर्नेगरी छलफल भएको छ । क्वारेन्टाइन सूचीमा नेपालमा उत्पादित टमाटर, मुला, मोटरकोसा, किवी, एभोकाडो, अकबरे खुर्सानी राख्न भारत सकारात्मक देखिएको छ । यी कृषिजन्य उत्पादनलाई आफ्नो क्वारेन्टाइन सूचीमा राख्ने भारतले प्रतिबद्धता जनाएको छ । रासस





  • प्रकाशित मिति : साउन ५, २०८० शुक्रबार २२:५२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया