साउनदेखि पुससम्म रगत संकलनमा किन आउँछ कमी ?
फाइल तस्बिर

देशभर वर्षायाम सुरु भएसँगै रगत संकलन कम हुन थालेको छ । रगत संकलन र आपूर्ति गर्दै आएको संस्था केन्द्रीय रक्त सञ्चार सेवाका अनुसार साउनदेखि मङ्सिर महिनासम्म मानिसहरू खेतीपातीमा संलग्न हुने र चाडपर्व पनि यही अवधिमा पर्ने भएकाले रगत संकलनमा कमी हुने गरेको हो । 

वर्षातको समय सुरु भएदेखि मङ्सिर/पुससम्म दैनिक करिब आठ सय युनिट मात्रै रगत संकलन हुने केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्य राज पौडेलले बताए । उनले अन्य समयमा भने नेपालमा एक हजार एक सय युनिटसम्म रगत संकलन हुने गरेको बताए । केन्द्रीय रक्त सञ्चार सेवातर्फ २०७९/८० मा ३३ हजार चार सय ८५ युनिट रगत संकलन भएको थियो ।

उनले सो अवधिमा ५४ हजार १२३ युनिट रगत वितरण भएको बताए । पौडेलले रक्तदातालाई रक्तदान गर्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको र गत वर्षहरूको तथ्याङ्क हेर्दा देशभर दैनिक एक हजार दुई सय युनिट रगत आवश्यकता पर्ने बताए । देशभर १२० वटा रक्त सञ्चार सेवा रहेको र हाल देशभर २ लाख ६२ हजार ४ सय ८१ नियमित रक्तदाता रहेको बताए ।

निर्देशक पौडेलले नेपालमा कुल जनसंख्याको ०.९ प्रतिशत नागरिक नियमित रक्तदाता रहेको बताए । कुल जनसंख्याको १.५ प्रतिशत रक्तदाता भए नेपालमा रगतको अभाव नहुने बताए । नेपालका रक्तदाताहरूको परोपकारी भावना रहेको र यसलाई दुई गुणा बनाउन सके चाहिएको बेला रगत दिन सकिने बताए । १८ वर्ष उमेर पुगेपछि जन्मदिन महोत्सव रक्तदान गरेर मनाऔँ भन्ने अभियानलाई पनि अघि बढाएको बताए ।

निर्देशक पाठ्यक्रममै रक्तदानलाई प्रवर्द्धन गर्ने खालका विषय समावेश गर्नुपर्ने बताए । पौडेलले संघ र प्रदेश सरकारले विपन्नहरुलाई रगतमा सहुलियत दिने व्यवस्था गर्ने प्रबन्ध मिलाउनुपर्ने बताए । उनले रक्तदाताका लागि रक्तदाता हुँ भनेर गर्व गर्न लायक प्याकेज ल्याउनुपर्ने बताए । पछिल्लो तथ्याङ्क अनुसार नेपाल रेडक्रस सोसाइटीबाट देशभर एक वर्षको अवधिमा २ लाख ७३ हजार एक सय ७० युनिट रगत संकलनमा ३ लाख ५२ हजार ९१९ युनिट रगत वितरण भएको छ । 





  • प्रकाशित मिति : साउन ८, २०८० साेमबार १४:११:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया