विदेशले बोलाइरहेछ- नेपाली नर्सलाई
नर्सको लर्को विदेशतिर, नेपालमा भने अपुग

कञ्चनपुरस्थित बेलौरीकी पुनम खड्का पछिल्लो समय पुतलीसडकमा रहेको एक कन्सल्टेन्सीमा आइएलटीसको कक्षा लिइरहेकी छन् । उनले २०७४ मा बेलौरीकै एक विद्यालयबाट ३.६ जिपिए ल्याएर एसइई पास गरिन् । 

एसइईको नतिजापछि पुनमका बुवाले, ‘छोरीले नर्सिङ क्षेत्रमा भविष्य बनाओस्’ भन्ने इच्छा व्यक्त गरे । बुवाले नर्सिङ क्षेत्रमा जान सुझाएपछि पुनमले केही नसोची ललितपुरस्थित रहेको होप इन्टरनेशनल कलेजमा पिसिएल नर्सिङमा भर्ना भइन् । 

पुनमले कहिले नसोचेको क्षेत्र थियो, नर्सिङ । तर, ‘बुवाले छोरीलाई नर्स बनेको, बिरामीको सेवा गरेको हेर्ने सपना छ’ भनेपछि आफूलाई पनि नर्सिङमा रस बसेको पुनम सुनाउँछिन् । 

पुनमले मन लगाएर नर्सिङ पढिन् । नर्सिङ पढ्न ३ वर्ष लाग्ने भए पनि कोरोना कालले गर्दा पुनमको पढाइ दुई वर्ष पछाडि धकेलियो । पुनमले एक वर्ष अगाडि मात्र नर्सिङ पास गरिन् । नर्सिङ अध्ययन सकिएपछि पुनमलाई योग्यताअनुसारको जागिर खानु थियो । उनी जागिरको खोजीमा विभिन्न अस्पताल चाहरिन् । अध्ययन सकिएपछि जागिर सहजै पाउन सकिन्छ भन्ने सोचेकी थिइन् । तर, सोचे भन्दा फरक परिस्थिति सिर्जना भएपछि उनलाई दिक्दार लाग्यो । 

धेरै अस्पताल धाएपछि पुनमले बल्लतल्ल करुणा अस्पताल, बढानिलकण्ठमा जागिर पाइन् । भर्खरै नर्सिङ पास गरेकी पुनमलाई सुरूमै आइसीयूमा खटाइयो । कहिले १२ घण्टा त कहिले १५ घण्टासम्म उभिएर काम गर्नुपर्‍यो । तर, तलब भने महिनाको १३ हजार थापिन् । महिना भरी काम गरेको तलबले खान, बस्न र आवतजावतको भाडा पनि नउठ्ने देखेपछि उनलाई नेपालमा बस्न मन लागेन । श्रम शोषणबाट उनी आजित भइन् ।

‘काम गरेको छोटो समयमै मलाई त नर्सिङ कस्तो कस्तो लाग्यो । दिनरात नभनी ड्युटीमा खटिनु छ । त्यसमाथि सिनियर नर्सको गाली, बिरामीका आफन्तको किचकिच, बिरामीका दुःख छुट्टै हुन्छन् । तर, नर्सलाई दिइने सेवा, सुविधा भने केही छैन । नेपालमा बस्नुभन्दा त विदेश ठीक जस्तो लाग्छ,’ पुनम दुखेसो पोख्छिन् ।



काम गरेको केही समयपछि उनले विदेश जाने सोच बनाइन् । सोहीअनुरूप ‘आइइएलटीएस’को कक्षा लिइरहेकी छन् । पुनमजस्तै आस्था कार्कीको कथा पनि उस्तै छ । चितवनकी आस्था पुनमकी सहपाठी हुन् । उनले पनि पुनमसँगै पिसिएल नर्सिङ पास गरिन् । तर, नेपालका अस्पतालमा नर्सले पाउने दुःख भनी साध्य नभएको उनी बताउँछिन् । 

‘इन्टर्नका रूपमा २–३ वटा अस्पतालमा काम गरेँ । तर, कस्तो गाह्रो हुन्छ । एक छिन खाजा खाने फुर्सद पनि हुँदैन, सेवा–सुविधा भने केही छैन । थोरै पैसामा धेरै काम गराउन खोज्छन् । सबैले यस्तै हो, सुरुसुरुमा भन्नुहुन्छ,’ आस्थाले सुनाइन् । आस्था पनि पुनमसँगै आइइएलटीएसको कक्षा लिइरहेकी छन् । 



विदेश किन जान चाहान्छौँ ? भन्ने फरकधारको प्रश्नमा ‘विदेशमा पनि दुःख गर्ने नै हो, तर जति दुःख भए पनि पैसा त हुन्छ हातमा’ भन्ने पुनम र आस्थाको भनाइ छ । पुनम र आस्थाको मध्यम वर्गीय परिवार छ । त्यसैले पनि उनीहरूको रोजाइ विदेश रहेको बताउँछन्, उनीहरू । ‘आफू मात्र भए त जसरी पनि जीवन कटाउन सकिन्छ । तर, परिवारको जिम्मेवारी छ । परिवारलाई आर्थिक रूपमा सहज होस् भनेर पनि विदेश जान खोजेकी हुँ,’ पुनमले भनिन् । 

वर्षेनी विदेसिँदै नर्स

स्वदेशमा योग्यता दक्षताअनुसार तलब सुविधा, चाहेअनुसार पढ्न नपाइने, असुरक्षित वातावरणमा कामका साथै नकारात्मक टीकाटिप्पणी हुँदा नर्सहरू विदेसिन चाहेको देखिन्छ । विदेश जाने नर्सहरूको सङ्ख्या कोभिडकालपछि झन् बढेको सरोकारवालाहरूको भनाइ छ । 

२०६० यता २०७९ मा सबैभन्दा बढी नर्सले भेरिफिकेसन लेटर लिएको नेपाल नर्सिङ परिषद्ले जनाएको छ । यस वर्ष ६ हजार ६०८ जना नर्सले भेरिफिकेसन लेटर लिएका छन् । परिषद्ले उपलब्ध गराएको पाँच वर्षयताको तथ्याङ्क हेर्दा ०७५ मा २ हजार ९७८, ०७६ मा ३ हजार ९८६, ०७७ मा ३ हजार ३२०, ०७८ मा ५ हजार ४९३ र ६ हजार ६०८ र ०८० को वैशाख, जेठ, असार महिनामा १ हजार ३८९ जनाले भेरिफिकेसन लिइसकेका छन् ।  

नेपाल नर्सिङ परिषद्मा १ लाख १३ हजार ३७६ जना नर्स दर्ता छन् । परिषद्अनुसार विशेषज्ञतर्फ १ हजार ३५२, स्टाफ नर्स ७३ हजार ८८९, मिडवाइफ ५१, अनमी ३७ हजार २३६ र ८४८ जना विदेशी नर्स छन् । जसमध्ये २७ हजार ८९ जना नर्स र १२ हजार ८५५ जना अनमीले नवीकरण गरेका छन् । प्रत्येक ६/६ वर्षमा नवीकरण हुने भएकाले नवीकरणको क्रम चलिरहने परिषद्ले जनाएको छ । 

२०६० देखि १ असार २०८० सम्मको तथ्यांकअनुसार ३३ हजार ७६५ जनाले विदेश जान भेरिफिकेसन लेटर लिइसकेको देखिन्छ ।परिषद्का अनुसार अमेरिका, अस्ट्रेलिया, दुबई, बेलायत, डेनमार्क, क्यानडा, कतार, कुवेत, जर्मनी, मालदिभ्स, न्यूजिल्याण्ड, आयरल्यान्ड, हङकङ जाने नर्सहरूको सङ्ख्या धेरै छ । विदेशमा नर्सिङ अध्ययन वा काम गर्न जान परिषद्बाट भेरिफिकेसन लेटर लिनुपर्ने हुन्छ । 

पछिल्लो समय व्यक्तिगत रूपमा पनि विदेश जानेहरू बढेकाले कति नर्स विदेश गए भन्ने यकिन तथ्याङ्क परिषद्मा नभएको नर्सिङ परिषद्की रजिस्टार सुक्ला खनाल बताउँछिन् । ‘अध्ययनसँगै काम पनि गर्न सकिने भएकाले पश्चिमा देशहरू नर्सहरूको रोजाइमा पर्ने गरेको छ,’ रजिस्टार खनालले भनिन् । 

आउने वर्षहरूमा नेपालमै अभाव हुने सङ्केत

परिषदमा दर्ता भएका नर्समध्ये ४० प्रतिशत बेरोजगार, कामप्रति असन्तुष्ट हुँदा विदेश पलायन नर्सको सङ्ख्या बढिरहेको नेपाल नर्सिङ संघको अनुमान छ । संघकी अध्यक्ष मनकुमारी राई नेपालमा काम गर्ने वातावरणको कमी, नर्स पेसाप्रति सम्मान नहुँदा, असुरक्षा र आकर्षक सेवा सुविधा नभएका कारण नर्स विदेश पलायन भइरहेको बताउँछिन् । अध्ययन तथा कामका लागि विदेश गएका अधिकांश नर्सहरू उतै पलायन हुने समेत उनको भनाइ छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोग सुनिश्चित गर्न आवश्यक पर्ने जनशक्तिको उत्पादन, विकास, वितरण र व्यवस्थापकीय प्रणालीलाई सुदृढ गर्न स्वास्थ्य जनशक्ति सम्बन्धी राष्ट्रिय रणनीतिक मार्गचित्र तयार गरेको छ । २०७७/७८ देखि २०८६/८७ (२०२१–२०३०)सम्म गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक पर्ने स्वास्थ्य जनशक्तिको आवश्यकताको आकलन गरिएको छ  ।

मन्त्रालयले सन् २०३० सम्म नेपालमा ८१ हजार ३६० नर्स आवश्यक पर्ने जनशक्ति सम्बन्धी राष्ट्रिय रणनीतिक मार्गचित्रमा उल्लेख गरेको छ । मन्त्रालयका अनुसार सो जनशक्ति स्थानीय तहको सबै वडामा रहने आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आकस्मिक उपचार तथा ल्याब सेवासहितको एकीकृत उपचार सेवा प्रवाह गर्न आवश्यक पर्ने जनशक्ति हो ।

‘अध्ययन र काम गर्न विदेश जानु नर्सहरूको आफ्नो स्वतन्त्रताको विषय हो । तर, सरकार आफैँले अन्य देशसँग सम्झौता गरेर नर्सहरूलाई विदेश पठाउने सम्बन्धमा भने सोच्नुपर्ने अवस्था आएको छ,’ अध्यक्ष राईले भनिन् । आफ्नै देशमा गुणस्तरीय नर्सिङ सेवा दिनेतर्फ सरकारले ध्यान दिनुपर्ने र यसका लागि सरकारले बिरामीको अनुपातमा आवश्यक पर्ने नर्स पूर्तिका लागि नयाँ दरबन्दी सिर्जना गर्नुपर्ने अध्यक्ष राईको भनाइ छ । ‘नेपालमा उत्पादित नर्सलाई आकर्षक सेवा सुविधासहित स्वदेशमै नटिकाउने हो भने नर्सहरू विदेश जानु स्वाभाविक हो । यसमा राज्यले ध्यान दिन आवश्यक छ,’ अध्यक्ष राईले भनिन् ।

हाल सरकारी सेवामा स्थायी, अस्थायी करार गरेर करिब १६ हजार नर्सिङ जनशक्ति आबद्ध रहेको अनुमान नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी प्रमुख हिरा निरौलाले जानकारी दिइन् । हाल सरकारी सेवामा मिडवाइफ, अनमी, स्टाफ नर्सदेखि वरिष्ठ नर्सिङ प्रशासक गरी १८ हजार ६६२ दरबन्दी रहेको मन्त्रालयको तथ्याङ्कमा छ ।

कति जनशक्ति चाहिन्छ ?

हजारौँको संख्यामा नेपाली नर्सहरू विदेश जाँदा नेपालमा भने नर्सिङ क्षेत्रमा खडेरी पर्ने देखिएको छ । नेपालमा वर्षेनी ७ हजार नर्स उत्पादन हुन्छन् । नर्सहरू विदेशिने हालसम्मको आँकडा हेर्दा बर्षेनी ५–६ हजार छ । सरसर्ती हेर्दा वर्षेनी उत्पादन भएका नर्सहरू विदेशिने हुन् भने नेपालको स्वास्थ्य क्षेत्र प्रभावित हुने स्वास्थयविज्ञहरूको भनाइ छ । 

चिकित्सा शिक्षा आयोगको एक अध्ययन अनुसार स्नातकोत्तर गरेका ३७५ नर्स आवश्यक पर्नेमा १३३ जना मात्रै कार्यरत छन् अर्थात् २४२ जना नर्स अपुग छन् । आर्थिक वर्ष २०८७/८८ सम्ममा नर्सिङ स्नातकोत्तरतर्फ ४११ जनशक्ति आवश्यक पर्ने देखिन्छ । जसलाई पूर्ति गर्न वार्षिक ११.९५ प्रतिशतले उत्पादन गर्नुपर्ने अध्ययनको निष्कर्ष छ ।

ब्याचलर इन नर्सिङ (स्नातक) तर्फ २ हजार १५० आवश्यक पर्नेमा १ हजार ४५२ मात्रै कार्यरत छन् । आ.व  २०८७/८८ मा भने स्नातक गरेका नर्स २ हजार ३५९ आवश्यक पर्ने अध्ययनले देखाएको छ । नर्सिङ स्नातकतर्फ ४.९७ प्रतिशत वार्षिक रूपले उत्पादन गर्नुपर्ने अध्ययनको निष्कर्ष छ । यस्तै, अध्ययनअनुसार नर्सिङ अधिकृत १ हजार ८९८ आवश्यक पर्नेमा हाल १ हजार ४२२ मात्रै छन् ।

वरिष्ठ अस्पताल नर्सिङ प्रशासक ६५ जना कार्यरत छन् भने ९१ जना अपुग छन् । आ.व २०८७/८८ मा १७१ आवश्यक पर्ने अध्ययनले देखाएको छ । यस्तै वरिष्ठ कम्युनिटी नर्सिङ प्रशासक ५० जना हुनुपर्नेमा ३ जना मात्र कार्यरत छन् ।

यता प्रमुख कम्युनिटी नर्सिङ प्रशासकतर्फ २ जना मात्रै कार्यरत छन् । ३८ जना प्रमुख कम्युनिटी नर्सिङ प्रशासक अपुग छन् । प्रसूति विज्ञानतर्फ ४५ जना नर्स आवश्यक रहेकामा हालसम्म एक जना नर्स पनि उत्पादन नभएको अध्ययनले देखाएको छ ।

लामो समयदेखि नर्सको तह बढुवा नहुँदा नर्सिङ प्रशासक, कम्युनिटी नर्सिङ प्रशासकलगायतको अभाव भएको अध्यक्ष राईको भनाइ छ । नेपाली नर्सहरूलाई समयमै स्वदेशमै योग्यता,दक्षताअनुसार सेवा सुविधा दिइने र सुरक्षाको प्रत्याभूति गराउनु राज्यको दायित्व भएको स्वास्थ्य विज्ञको भनाइ छ । यदि राज्यले यस्तै बेवास्ता गर्दै जाने हो भने स्वाभाविक छ–नेपाली नर्सहरूलाई विदेशले बोलाइरहने छ । 

  • प्रकाशित मिति : साउन १०, २०८० बुधबार १६:२९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया