डेंगुको हटस्पट बन्दै सुनसरी, तीनजनाको मृत्यु

पछिल्लो समय डेंगुु ६९ जिल्लामा फैलिएको छ भने सुनसरी डेंगुको हटस्पट बन्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले जनाएअनुसार मंगलबारसम्म ४ हजार २८९ जनामा डेंगुु संक्रमण पुष्टि भएको छ । त्यसैगरी इडिसिडीले डेंगुबाट हाल तीनजनाको मृत्यु भएको र मृतक तीनैजना सुनसरीको रहेको जनाएको छ ।

प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । कोशीमा मात्र २ हजार ७५४ जनामा डेंगु पुष्टि भएको छ । यसैगरी बागमती प्रदेशमा ६६७, गण्डकी प्रदेशमा ३४४, सुदूरपश्चिममा ३१६, लुम्बिनीमा १६६, मधेशमा २२ र कर्णाली प्रदेशमा २० जनामा डेंगुु पुष्टि इडिसिडीले जनाएको छ ।

यससँगै जिल्लाअनुसार सबैभन्दा बढी डेंगु संक्रमित सुनसरीमा रहेका छन् । सुनसरीमा मात्रै २ हजार ५४२ जनालाई डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै, धादिङमा ३०४, कास्कीमा ४०५, दार्चुलामा ७०३, काठमाडौंमा ३०६, संखुवासभामा १०२, म्याग्दी ४०४, कन्चनपुरमा ७०९, रुपन्देशीमा ५०८ र मोरङमा ११२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । 

नेपालमा जुनदेखि अगस्टसम्म डेंगुुले महामारीको रूप लिन सक्ने समय (पिक सिजन) मानिन्छ । मनसुनपछिको समयमा डेंगु संक्रमण बढ्न सुरु हुने इडिसिडीले जनाएको छ । गत वर्ष नेपालमा हालसम्मकै बढी ५४ हजार ७ सय ८४ जनामा डेंगुको संक्रमण पुष्टि भएको थियो । संक्रमणबाट ८८ जनाको मृत्यु भएको भयो । संक्रमितमध्ये ५३ प्रतिशत पुरुष थिए भने ४७ प्रतिशत महिला थिए । 

गतवर्ष सबैभन्दा धेरै वाग्मती प्रदेशमा ७७ प्रतिशत संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये पनि ५६ प्रतिशत केस काठमाडौं उपत्यकामा भेटिएका थिए ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन गतवर्ष काठमाडौंमा देखिएको कडा खालको डेंगु सुनसरीमा पनि देखिएको बताउँछन् । ‘सुनसरीमा डेंगु संक्रमण बढ्नमा लामखुट्टेको वृद्धि, विकासका लागि उपयुक्त मौसम हो । २०१९ मा पनि धरानमा संक्रमण बढी देखिएको थियो । सुनसरीमा देखिएको डेंगुले गतवर्षको काठमाडौंको झझल्को दिइरहेको छ,’ डा. पुनले भने ।



डा. पुनका अनुसार धरानबाट आएका बिरामीका अनुभव सुन्दा सुनसरीमा डेंगुु संक्रमण तीव्र गतिमा भइरहेको छ । सन् २०२२ मा काठमाडौंमा देखिएका डेंगु महामारी सुनसरीमा दोहोरिने सम्भावना रहेको उनको भनाइ छ । 

‘डेंगु संक्रमणको ग्राफ बढिरहेको छ । यससँगै संक्रमण दोहोरिँदै जाँदा सेरोटाइप (प्रकार) परिवर्तन भएको छ भने झन् कडा खालको डेंगु देखिन सक्ने धेरै सम्भावना छ । यस वर्ष काडमाडौंमा भने गत वर्षको अवस्था आउने सम्भावना कम छ,’ डा. पुनले भने । 



सरकारले डेंगु नियन्त्रणमा नीति, नियम बनाएको भए पनि कडा रुपमा डेंगु नियन्त्रणमा एक्सन नलिँदा बर्सेनि डेंगुले महामारीको रुप लिइरहेको स्वास्थ्यविज्ञको भनाइ छ । 

केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी संक्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ । इडिसिडीका अनुसार यही २७ असारमा १ हजार ३ सय ३७ संक्रमण भएकामा १ साउनसम्म आइपुग्दा संख्या बढेर २ हजार ९ सय ३० पुगेको छ ।

इडिसिडीका निर्देशक डा. रुद्र मरासिनीले यो वर्ष पनि महामारी हुन सक्ने सोचेर अलर्ट भएर बस्न सुझाएका छन् । ‘उपचार गरेर साध्य हुँदैन रोकथाममै जानुपर्छ । रोकथामका लागि लामखुट्टेको लार्भा ‘खोज र नष्ट’ अभियानमा लाग्नुपर्छ,’ डा. मरासिनी भन्छन्, ‘घर तथा अफिस वरिपरि पानी जम्न दिनुहुँदैन । कम्तीमा हप्ताको एकपटक समुदाय र कार्यालयले नष्ट गर्नमा चासो देखाए नियन्त्रण गर्न सकिन्छ नभए भयावह रुप लिन सक्छ ।’ सबै कुरा सरकारमा मात्र भर नपरेर नागरिक स्वयंले पनि आफ्नो वरिपरिको वातावरण सफा र स्वच्छ राखे डेंगु संक्रमणबाट बच्न सकिने उनको भनाइ छ । 

नेपालमा सन् २००४ मा पहिलोपटक डेंगु पुष्टि भएको थियो । सन् २००६, २०१०, २०१३, २०१६, २०१७ र २०१९ मा डेंगुका सबैभन्दा धेरै केस पुष्टि भएका थिए । सन् २०२२ मा प्रकोप देखिनुअघि सन् २०१९ मा ६८ जिल्लामा फैलिएको डेंगु प्रकोपले १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६ जनाको मृत्यु भएको थियो ।

  • प्रकाशित मिति : साउन १०, २०८० बुधबार २१:३०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया