पिपराका पूर्वप्रमुख प्रशासकीय अधिकृतहित पाँच जनाविरुद्ध आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रञ्जिता झासहित पाँचजना उपर विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।  

आयोगले प्रमुख प्रशासकीय अधिकृत झा, तत्कालिन सब–इन्जिनियर श्याम किसोर मण्डल, निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यक्ष रतन साहविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको  सम्बन्धमा आज आरोपपत्र दायर गरेको हो । 

उनीहरूले आर्थिक वर्ष २०७४/७५ पिपरा गाउँपालिका–१ को एकरहिया कृषि सडक ओलारदेखि खैरबा सडकको पीसीसी ढलान कार्यलाई बढी मूल्याङ्कन गरी झुट्टा नापी किताब, भुक्तानी बिल र कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी उपभोक्ता समितिलाई १ लाख ४८ हजार ९ सय १० रुपैयाँ भुक्तानी दिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।  

आयोगले गाउँकार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा र तत्कालीन सव–इन्जिनियर मण्डल उपर भ्रष्टाचार कसुरमा र १ लाख ४८ हजार ९ सय १० रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको माग दाबी गरेको छ । 

यस्तै, निर्माण उपभोक्ता समितिका अध्यक्ष मिश्र, सचिव खातुन र कोषाध्यक्ष साहलाई १ लाख ४८ हजार ९ सय १० रुपैयाँ बिगोसहित सजायको माग दाबी गरेको छ । उनीहरूविरुद्ध वडा–१ खैरबामा बाटो ढलानकार्य गर्दा कमसल सामग्री प्रयोग गरी गाउँपालिकाबाट प्राप्त रकम हिनामिना गरेको भन्ने आयोगमा उजुरी निवेदन परेको थियो ।   





  • प्रकाशित मिति : साउन १२, २०८० शुक्रबार १९:३९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया