भदौ २२ देखि विराटनगर विद्यालय नाटक महोत्सव

विराटनगर विद्यालय नाटक महोत्सवको तेस्रो संस्करण घोषणा गरिएको छ । आरोहण गुरुकुल विराटनगरले आगामी भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव गर्ने घोषणा गर्दै विद्यालयको सहभागिताका लागि आह्वान गरेको हो । 

विराटनगर र आसपासका विद्यालयले आगामी साउन ३१ गतेभित्रमा आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि आयोजक गुरुकुलसँग सम्पर्क गर्न वा गुरुकुलको सामाजिक सञ्जालमा उपलब्ध लिङ्क प्रयोग गर्न सकिनेछ । आवेदन दिएका मध्ये ९ वटा विद्यालय छनोट हुनेछन् । 

छनोटपछि ती विद्यालयलाई गुरुकुलले नै निःशुल्क प्रशिक्षण र प्राविधिक सहयोग दिएर हाटखोलास्थित सुशीला कोइराला नाटक घरमा हुने महोत्सवमा नाटक मञ्चनको अवसर दिनेछ । पाठ्यक्रममा भएको वा शिक्षक वा विद्यार्थीले लेखेको एक घण्टा अवधि हाराहारीको नाटक विद्यार्थीहरूले नै अभिनय गरी मञ्चन गर्नुपर्ने हुन्छ । 

९ विद्यालय र आयोजकको एउटा समेत १० नाटक मञ्चन हुने यो महोत्सव विद्यार्थीलाई रङ्गमञ्च तर्फ आकर्षित गर्ने उत्सव भएको आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए । ‘विद्यालयले आवेदन दिएमा त्यसपछिको सम्पूर्ण प्रक्रियामा हाम्रो निःशुल्क सहयोग हुनेछ’, क्षेत्रीले भने, ‘यो विद्यालय र विद्यार्थी कै लागि रङ्गमञ्च पुग्ने सुनौलो अवसर हो ।’ 

विगतका २ संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको नाटक महोत्सवमा यस पटकदेखि अवार्डको पनि व्यवस्था गरिएको अध्यक्ष क्षेत्रीले बताए । ९ विद्यालय मध्येबाट उत्कृष्ट नाटक र उत्कृष्ट अभिनेता/अभिनेत्रीलाई अवार्ड समेत प्रदान गरिने आयोजकले जनाएको छ । 





  • प्रकाशित मिति : साउन १५, २०८० साेमबार १८:४९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया