भरतपुर आँखा अस्पतालमा बिरामीको भीड, जनशक्ति व्यवस्थापन र औषधि आपूर्तिमा समस्या

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आँखा पाक्ने सङ्क्रमण फैलिएपछि चितवनको भरतपुर आँखा अस्पताल र यसअन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको संख्या झन्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने देखिएको छ ।

चितवन र आसपासका जिल्लामा आँखा उपचार सेवा दिँदै आएको यस अस्पतालअन्तर्गतका अस्पताल र केन्द्रमा आइतबार २ हजार ३ सय ५७ जनाले सेवा लिएका थिए । अस्पतालका वरिष्ठ प्रशासक दयाशङ्कर चौधरीका अनुसार अन्य समयमा १ हजार २ सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गर्दथे ।

अस्पताल आएकामध्ये ६० प्रतिशतभन्दा बढी आँखा पाक्ने रोगका बिरामी रहेका छन् । आइतबार भरतपुरमा रहेको मुख्य अस्पतालमा नौ सय ७३, सेकेण्डरी आँखा अस्पताल ठोरीमा ६६ , कावासोतीमा १ सय ९३ र सिम्रनगढमा १ सय दुई जनाले उपचार लिएका छन् ।

अस्पतालमा आवद्ध १४ आँखा उपचार केन्द्र छन् । तीमध्ये चिकुमार–विष्णुकुमारी बहिरंग सेवा भरतपुर उकालोमा २ सय ३८, पर्सामा एक सय ६३, रत्ननगरमा एक सय २८, माडीमा ९६, चनौलीमा ६५, राप्तीमा ६१ र कुरिनटारमा २५ जनाले सेवा लिएका छन् ।

यसैगरी धादिङको बेनिघाटमा १६, सल्यानटारमा १३ , नवलपरासीको मध्यविन्दुमा ४४, हुप्सेकोटमाम ४०, सिन्धुलीको दूधौलीमा १७, तनहुँको आँबु खैरहनीमा ६३ र सर्लाहीमा ५५ जनाले सेवा लिएका वरिष्ठ प्रशासक चौधरीले जानकारी दिए ।   
 
बिरामी बढेसँगै औषधिसमेत अभाव हुन थालेको छ । उनले औषधि खरिद गर्ने ठाउँबाट मागअनुसारको औषधि आपूर्ति हुन नसकेको बताए । अस्पतालले आफ्नो स्रोतसाधन र जनशक्तिलाई अधिकतम उपयोग गरेर सेवा दिँदै आएको उनले जानकारी दिए । हालसम्म चिकित्सक र स्वास्थ्यकर्मीमा रोग फैलिन ठूलो समस्या नदेखिएको उनको भनाइ छ ।

अस्पतालका आँखा रोग विशेषज्ञ डा. कुमुदिनी सुवेदीले रोग लाग्नुभन्दा बच्नु नै उत्तम भएको भन्दै सरसफाइ र सामाजिक दूरीमा ध्यान दिन आग्रह गरिन् । उनले समय समयमा हात धुन, हातले आँखा नछुन, सङ्क्रमित बिरामीबाट टाढै रहन सुझाव दिइन् । उनले चिकित्सकको परामर्शपछि मात्रै औषधिको प्रयोग गर्नुपर्ने बताइन् । आफूखुसी औषधि किनेर प्रयोग नगर्न उनको सुझाव छ ।



नेपाल नेत्रज्योति संघ चितवनका सभापति जयराम श्रेष्ठले मुख्य अस्पताल, तीन वटा सेकेण्डरी आँखा अस्पताल र १४ आँखा उपचार केन्द्रमा बिरामीलाई सकेसम्म सहजरूपमा उपचारको व्यवस्था मिलाइएको बताए । सबै बिरामीलाई एकै पटकभन्दा फरकफरक समयमा आएमा उपचार सहज हुने उनको भनाइ छ । 

अस्पताल आसपासका बिरामी दिउँसो २ बजेपछिको समयमा अस्पताल आउँदा भीड कम हुने उनको भनाइ छ । सबैलाई सजगता अपनाउन उनले अपिल गरे ।



संघ सचिव केशव अधिकारीले औषधि आपूर्ति गर्न सम्झौता गरेका कम्पनीलाई आवश्यकताअनुसार औषधि उपलब्ध गराउन नसके सम्झौता खारेज गरिने जानकारी दिँदै आपूर्तिका लागि लाग्न आग्रह गरिएको बताए । चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अत्यावश्यकबाहेक बिदा दिन रोकिएको उनको भनाइ छ ।

अन्य बिरामी फरक ठाउँमा सजगताका साथ उपचार गराइएको उनले बताए । जिल्लाका पालिकाले रोग फैलिएपछि शिक्षण संस्था बन्दसमेत गर्न थालेका छन् । रासस 

  • प्रकाशित मिति : साउन २२, २०८० साेमबार १०:४०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया