नब्बे प्रतिशत विद्यार्थीमा पढाइप्रति रुचि घट्यो, शिक्षा प्रणालीमै समस्या

गत वैशाख २६ देखि जेठ ५ सम्म देशभर सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६ सय ३७ जना विद्यार्थी सहभागी थिए । तीमध्ये १ लाख ८९ हजार ७ सय ११ विद्यार्थीलाई उच्च शिक्षामा भर्ना हुने बाटो खुलेको छ । 

त्यसैगरी, १ लाख ८२ हजार ९ सय २६ जना अर्थात् ४९.०९ प्रतिशत ननग्रेडिङ (एनजी)मा परेर तत्काल उच्च शिक्षामा भर्ना हुन रोकिने भएका छन् । तर, ननग्रेडिङमा परेकामध्ये पनि १ लाख २३ हजार ३ सय विद्यार्थीले भने असोज ६ र ७ गते हुने ग्रेड वृद्धि (पूरक वा मौका) परीक्षामा सहभागी हुन पाउने राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । ती विद्यार्थीले न्यूनतम ग्रेड प्राप्त गरे उच्च शिक्षामा भर्ना हुने बाटो उनीहरूलाई यसपालि नै ढिला गरी खुल्नेछ । असोजमा ग्रेड वृद्धि दिन पाउनेमध्ये ७९ हजारजना एउटा मात्रै विषयमा एनजीमा परेका छन् ।

बोर्डले नियमितसहित ग्रेड वृद्धि र आंशिक परीक्षाको समेत नतिजा सार्वजनिक गरेको हो । आंशिकतर्फ करिब ६२ हजार र ग्रेड वृद्धितर्फ १४ हजार परीक्षार्थी थिए । आंशिकतर्फको विद्यार्थी उत्तीर्ण प्रतिशत साढे २९ मात्रै रहेको बोर्डले जनाएको छ । त्यस्तै, गत वर्ष तीनभन्दा बढी विषयमा एनजी आएकाहरूको ग्रेडवृद्धितर्फ उत्तीर्ण प्रतिशत ४३ प्रतिशत मात्रै रहेको छ । यी तीनवटै समूहका गरी ५६ जनाको परीक्षा रद्द गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जनाए । यसपालि दुई विषयसम्म ननग्रेडमा परेर असोजमा ग्रेड वृद्धि परीक्षा दिन पाउने विद्यार्थीलाई बोर्डले भदौ २२ गतेभित्र आवेदन दिन सूचित गरिसकेको छ । नतिजामा चित्त नबुझेका विद्यार्थीले १५ दिनभित्र पुनर्योगका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

लेटर ग्रेडिङ निर्देशिकाअनुसार प्रत्येक विषयको सैद्धान्तिक (लिखित)तर्फ कम्तीमा ३५ प्रतिशत प्राप्तांक प्राप्त गरे मात्र विद्यार्थी स्नातक तहमा भर्ना हुनयोग्य मानिन्छन् । ३५ प्रतिशत प्राप्तांक ल्याउन नसकेर दुई विषयसम्म एनजीमा परेका विद्यार्थीले भने ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ । 

तीनभन्दा बढी विषयमा नन् एनजीमा सूचीकृत विद्यार्थीले भने अर्को वर्ष सम्बन्धित विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था छ । पुनः अर्को वर्ष ग्रेड वृद्धि परीक्षा दिनुपर्ने गरी उच्च शिक्षामा भर्ना हुन बाटो अवरुद्ध भएका विद्यार्थीको संख्या ५९ हजार ६ सय २६ जना छ । गत वर्ष यस्ता विद्यार्थी ५७ हजार मात्रै थिए । तीमध्ये यसपालि १४ हजारले मात्र ग्रेड वृद्धि परीक्षा दिए । आगामी असोजमा ग्रेड वृद्धि परीक्षामा सहभागी विद्यार्थीले पनि न्यूनतम ३५ प्रतिशत ग्रेड प्राप्त गर्न नसके उनीहरूको पनि स्नातकमा भर्ना हुने बाटो यसपालिलाई बन्द हुनेछ ।

यस वर्षको कक्षा १२ को नतिजा हेर्दा सबैभन्दा बढी अंग्रेजी, सामाजिक अध्ययन, नेपाली, लेखा, अर्थशास्त्र, बिजनेस स्टडिजलगायत विषयमा परीक्षार्थी कमजोर रहेको देखिन्छ । अनिवार्य अंग्रेजीमा मात्र १ लाख ९ हजार विद्यार्थी एनजीमा परेका छन् । गत वर्षको यो संख्या १ लाख १ हजार थियो । कक्षा १० को एसईई परीक्षामा सबैभन्दा बढी विद्यार्थी गणितमा एनजीमा पर्दै आएका छन् । कक्षा १२ मा गणित वा सामाजिक अध्ययनमध्ये एक विषय रोजेर अध्ययन गर्न पाइने व्यवस्था छ । त्यसले गर्दा पनि कक्षा १२ मा कमजोरी अंग्रेजीतर्फ देखिएको बोर्डका सदस्यहरूले जनाए । 



सामाजिकमा ५१ हजार विद्यार्थी एनजीमा परेका छन् । गणित रोजेर पढ्न पाइने विषय भए पनि करिब आठ हजार विद्यार्थीको नतिजा एनजी छ । अनिवार्य नेपालीमा ३८ हजार विद्यार्थी ननग्रेडिङमा परेका छन् । लेखा विषयमा ५२ हजार, अर्थशास्त्रमा ३४ हजार, बिजनेस स्टडिजमा २४ हजार विद्यार्थी एनजीमा परेका हुन् ।

कक्षा १२ मा आधाजति विद्यार्थीहरू नन ग्रेडिङमा पर्ने समस्या अहिलेको नभएर तीन दशकअगाडिदेखिको रहेको शिक्षाविद् बालचन्द्र लुइँटेल बताउँछन् । उनी भन्छन्, ‘कक्षा ११ र १२ मा शिक्षकको दरबन्दी कम छ । कति दिन पढाइ हुन्छ, त्यसले पनि विद्यार्थीको सिकाइमा बाधा पुर्याउँछ ।’



उनका अनुसार कोभिड–१९ महामारी पछि विद्यार्थीको सिकाइ तथा पाठ्यक्रममा परिमार्जन गर्नुपर्छ भनेर आवाज उठेका थिए । तर, व्यवहारमा भने लागू गरिएन । पुरानो सिकाइ मान्यता वरिपरि नै सिकाइ प्रक्रियालाई अघि बढाउँदा विद्यार्थी नन ग्रेडिङमा पर्ने गरेको शिक्षाविद् लुइँटेलको भनाइ छ । 

‘पछिल्लो समय ९० प्रतिशत विद्यार्थीमा पढाइप्रति रुचि घटेको छ । विद्यार्थीको रुचि पढाइप्रति किन घट्दै गइरहेको छ ? विद्यार्थीलाई शिक्षामा कसरी सहभागी गराउन सकिन्छ, त्यतातिर नेपालको शिक्षा प्रणालीलाई जोड्नु अहिलेको आवश्यकता हो,’ लुइँटेलले भने । विद्यार्थीमा पढाइप्रति रुचि घटिरहेको छ भन्ने थाहा पाइसकेपछि शिक्षा प्रणाली, पुरानो डिजाइनलाई परिवर्तन गर्नुपर्छ भन्ने बुझाइ सरकोरवाला निकायलाई हुन जरुरी रहेको उनको भनाइ छ । 

लुइँटेलका अनुसार नेपाल सरकारले कक्षा ११–१२ मा शिक्षक दरबन्दीलाई व्यवस्थित गर्न सक्नुपर्छ । परम्परागत सिकाइको डिजाइन परिवर्तन गरेर विद्यार्थीलाई पढाइमा जोड्नुपर्छ । मूल्यांकनको पद्धतिमा पनि शिक्षकहरुलाई जिम्मेवार र उत्तरदायी बनाउनुपर्छ । ‘सुधार धेरै ठाउँमा गर्नुपर्ने देखिन्छ । परीक्षाको समयमा मात्र शिक्षा सुधारको कुरा गरेर नेपालको शिक्षण सिकाइ प्रक्रिया सुधार हुँदैन । यसलाई कक्षाकोठाबाटै सुधार गर्ने प्रयत्न गर्नुपर्छ,’ उनले भने । 
 
विद्यार्थीहरूले नतिजामा नन गे्रेड प्राप्त गर्दैमा आफू अयोग्य रहेको ठान्न नहुने शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन् । उनका अनुसार नन ग्रेड प्राप्त गर्दैमा विद्यार्थी सफल र असफल भन्ने हुँदैन । विद्यार्थीको रुचिअनुसार विद्यार्थीलाई शिक्षा सिकाइतर्फ ध्यान पुर्याउन आवश्यक छ । 

‘कक्षा ११–१२ मा शिक्षकको दरबन्दी कम छ । शिक्षक छैनन्, दरबन्दी छैन भने त्यस ठाउँमा प्रविधिको प्रयोग गर्न सकिन्छ,’ शिक्षाविद् कोइराला भन्छन्, ‘प्रविधिलाई शिक्षाको विकल्पको रूपमा प्रयोग गर्नुपर्छ । नन ग्रेडेड विद्यार्थीलाई प्रविधियुक्त शिक्षातिर जोड दिनुपर्छ ।’ उनका अनुसार विद्यार्थीको रुचिअनुसार सिकाइ प्रवृत्तिलाई अगाडि बढाउने वातावरण सिर्जना गरिनुपर्छ । नेपालको शिक्षा प्रणालीमा काम गर्दै पढ्ने वातावरण निर्माण गर्न सकियो भने शिक्षामा सुधार हुने उनी बताउँछन् । 

‘भाषागत विषय सिक्न गाह्रो हुँदैन भन्ने दृष्टिकोण पनि निर्माण गर्नुपर्छ । किताबसँगै नेटमा खोज्ने र समूहमा पढ्ने बानीको विकास विद्यार्थीले गर्न आवश्यक छ । यसले पढ्ने संस्कृति बस्नुका साथै विद्यार्थी नन ग्रेडिङमा पर्ने प्रतिशतमा पनि कमी आउँछ,’ शिक्षाविद् कोइरालाले भने ।  

यो वर्षको नतिजाअनुसार ३.६१ देखि ४ जिपिए ल्याउने ६ हजार ९ सय ७६ जना (१.८७ प्रतिशत रहेका छन् । ३.२१ देखि ३.६० ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९ सय ९९ जना (१०.४७ प्रतिशत) छ । गत वर्षको तुलनामा यो २.१७ प्रतिशतले बढी हो । 

जिपिए २.८१ देखि ३.२० ल्याउने ६९ हजार १ सय ७४ जना रहेका छन् । त्यस्तै २.४१ देखि २.८० जिपिए प्राप्त गर्ने ६३ हजार ७७ जना रहेको नतिजामा उल्लेख छ । २.०१ देखि २.४० जिपिए ११ हजार ४ सय ३८ जनाले ल्याएका छन् । सबैभन्दा तल्लो १.६१ देखि २.० जिपिए प्राप्त गर्ने ४७ जना विद्यार्थी रहेका छन् ।

  • प्रकाशित मिति : साउन ३१, २०८० बुधबार २०:३०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया