चुनावी मैदानमा उत्रदै पारस खड्का, जित्ने सम्भावना कति ?

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली क्रिकेटको सर्वोच्च निकाय क्रिकेट एसोसियसन अफ नेपाल अर्थात् क्यानको नयाँ नेतृत्वका लागि आउँदो असोज पहिलो साता निर्वाचन हुँदैछ । आसन्न क्यान निर्वाचनमा धेरै समर्थकको नजर राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्कामाथि छ । 

समर्थकको चाहना पूरा गर्न र नेपाली क्रिकेटको विकासको एजेन्डाका साथ उनी पनि क्यान निर्वाचनमा होमिसकेका छन् । केही दिनअघि मात्र पारस काठमाडौं जिल्ला क्रिकेट संघमा सर्वसम्मतरूपमा सदस्यमा चयन भए । योसँगै उनी क्यानको नेतृत्वमा पुग्ने बाटो खुला भएको छ । 

जिल्ला सदस्यमा चयनसँगै पारसको ध्यान अब प्रदेशको चुनावमा केन्द्रित छ । उनी बागमती प्रदेशको अध्यक्षका लागि चुनावी मैदानमा उत्रिने तयारीमा छन् । जसका लागि पारसले आन्तरिक तयारी पनि थालिसकेका बुझिएको छ ।

पारस जित्ने सम्भावना कति ?
  
बागमती प्रदेशमा कुल ३७ मतभार हुनेछ । यस प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र नुवाकोटले क्यानको मान्यता प्राप्त गरेका छन् । र यी ६ वटै जिल्लाको निर्वाचन पनि भइसकेको छ ।   

प्रदेश निर्वाचनमा प्रत्येक जिल्लाबाट चार जना प्रतिनिधिले मत दिन पाउँछन् । यस्तै, अहिलेका १३ कार्यसमिति सदस्यले पनि भोट हाल्न पाउनेछन् । 



योसँगै जिल्लाबाट २४ र वर्तमान प्रदेश कार्य समितिको १३ गरी जम्मा ३७ भोट हुनेछ । अध्यक्षमा विजयी हुनका लागि १९ भोट ल्याए पुग्छ ।  बागमती अध्यक्षका लागि पारससँग चितवनका सुदिप पियाले प्रतिस्पर्धा गर्ने सम्भावना छ । 



सुदिपलाई नुवाकोटका अध्यक्ष तथा वर्तमान क्यानका कार्यवहाक सचिव दुर्गाराज पाठकको साथ छ । यस्तो अवस्थामा चितवन र नुवाकोटबाट पारसले भोट नपाउन सक्छन् । यद्यपि भक्तपुर, मकवानपुर, ललितपुर र काठमाडौं जिल्ला क्रिकेट संघ भने पारसको पक्षमा उभिएका छन् । 

प्रदेशको नतिजा हेरेर पारसले केन्द्रको चुनावमा उम्मेदवारी दिने/नदिने टुंगो लाग्ने देखिन्छ । एक महिना अघिदेखिको तयारी हेर्ने हो भने यसपल्ट उनको लक्ष्य केन्द्रीय निर्वाचनमा प्रतिस्पर्धा गर्नेछ । 

पारसले यही चुनावमै क्यानमा आउने लक्ष्यका साथ दुई वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए । नेपाली क्रिकेटको उचाइ बढाएर संन्यास लिएका पारसको क्यान राजनीतिले भने उचाइ लिन्छ वा लिँदैन त्यो हेर्नलायक हुनेछ । 

  • प्रकाशित मिति : साउन ३२, २०८० बिहीबार १२:३४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया