उच्च तहका सबै नेताको सम्पत्ति छानबिन हुन्छ : कानुनमन्त्री गुरुङ
‘सुन तस्करीमा ठूलै मान्छेको संलग्नता छ’

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताएका छन् । शुक्रबार नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा कानुनमन्त्री गुरुङले सरकारले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्ने बताएका हुन् ।

‘मुलुकलाई सुशासन स्थापित गरेर अघि बढाउन प्रतिवद्ध छौँ । सरकारको मिसन सुशासन कायम गर्ने हो । यो मुलुकमा सुशासन स्थापना गर्न र भ्रष्टाचारमुक्त बनाउनका लागि टिप्पणी उठाउनेहरूको हातमा मात्रै हतकडी लगाएर सुशासन स्थापना गर्न सकिँदैन भन्नेकुरामा हामी प्रष्ट हुनु आवश्यक छ । जसले टिप्पणी उठाउँछ,’ उनले भने, ‘तीनका हातहरूमा हतकडी लगाउने र फेरी टिप्पणी उठाउन आदेश दिनेहरूलाई तिनै टिप्पणी उठाउनेहरूको हातमा हतकडी लगाउनेहरूलाई हतकडी लगाउने हातले फेरि आदेश दिनेहरूलाई सलाम ठोक्ने प्रवृत्तिको अन्त्य खोज्नुपर्छ ।’

मन्त्री गुरुङले सरकारको नीति तथा कार्यक्रममा उच्च तहका नेताहरू सबैको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उल्लेख रहेको भन्दै त्यसको कार्यान्वयन हुने बताए । गुरुङले सरकार मुलुकलाई सुशासन स्थापित गरेर अघि बढाउन प्रतिवद्ध रहेको बताए । 

बजारमा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणसँगै अहिले सुन काण्ड आएको भन्दै सरकारले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने उनको दाबी छ । मन्त्री गुरुङले भ्रष्टाचारको लिङ्ग, जात, धर्म हुँदैन भन्ने मान्यताका साथ सरकार अगाडि बढ्ने बताए । 

‘सरकारको नीति तथा कार्यक्रममा पनि प्रष्ट लेख्यौँ, उच्च तहका नेताहरू सबैको सम्पति छानबिन गर्नुपर्छ भनेर त्यसै लेखेको होइन । देखाउनका लागि लेखेको होइन । यो कुनै हात्तीको दाँत होइन । यो कार्यान्वयन नै गर्ने हो । त्यसकारण उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ अब सरकार अघि बढ्छ,’ मन्त्री गुरुङले भने । 

उनले सुन तस्करीलाई सामान्य हेलचेक्रयाइँका रूपमा हेर्न नहुने बताए । सामान्य हेलचेक्रयाइँले सुन तस्करी भएको हो भन्ने प्रतिवेदन बाहिर ल्याइएको भन्दै सुन तस्करी सामान्य व्यक्तिबाट हुनै नसक्ने जिकिर गरे । ‘आज मात्रै पढ्दै थिएँ मैले सुन तस्करी प्रकरण साधारण हेलचेक्रयाइँले गर्दा भएको हो रे । त्यति ठूलो पहेँलो हात्ती गेटबाट छिर्दाखेरी साधारण हेलचेक्रयाइँ हो भन्ने प्रतिवेदन आयो भन्ने पढ्दै थिएँ । तर, त्यस्तो होइन । हामीले धेरै कुरा सुधार्नुपर्ने रहेछ,’ मन्त्री गुरुङले भने ।



उनले सरकारले कानुनको चाङ लगाएर मात्रै केही नहुने भन्दै सबै दोषी कानुनको कठघरामा उभिनुपर्ने पनि बताए । 



  • प्रकाशित मिति : भदौ १, २०८० शुक्रबार १९:३१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया