पारस खड्कालाई प्रश्न- अब केन्द्रीय निर्वाचनमा पनि उठ्दै हो ?

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा निर्वाचित नेपाली राष्ट्रिय पूर्वकप्तान पारस खड्काले यसअघि क्रिकेटमा आफैंले उठाउँदै आएको परिवर्तनका प्रश्न अब आफैं​माथि आउने बताएका छन् ।    

ललितपुरस्थित धोबीघाटमा शुक्रबार भएको दोस्रो साधारण सभा तथा निर्वाचनबाट प्यानलसहित विजयी भएपछि उनले आगामी दिन बागमती प्रदेश क्रिकेटका लागि धेरै काम गर्ने लक्ष्य रहेको पनि बताए । निर्वाचनमा अध्यक्ष उम्मेदवारी घोषणा गर्नुभन्दा अगाडि अप्ठ्यारो अवस्थामा रहेको पनि पारसले खुलासा गरे ।

यद्यपि, चार वटा जिल्लाको साथले आत्मबल बढेर निर्वाचनमा भाग लिएको उनको भनाइ छ । केन्द्रीय निर्वाचनमा सचिव पदमा दाबेदारी दिने चर्चा चलिरहेको भन्ने प्रश्नमा उनले क्यानको प्रदेशका नयाँ निर्वाचित टोलीसँग छलफल गरेर अगाडि बढ्ने बताए ।  

बागमती प्रदेशका कुल ६ जिल्लामध्ये चार जिल्लाले यसअघि नै पत्रकार सम्मेलनमार्फत पारसको नेतृत्वमा प्रदेशको निर्वाचनमा होमिने जनाएको थियो । साथै अन्य पदमा भने चार जिल्लाले बाँडेर निर्वाचन लड्ने घोषणा गरेको थियो ।   

सोहीअनुरूप पारसको प्यानलले नै समान २३ मत पायो । १२ पदका लागि निर्वाचन हुँदा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्वकप्तान निरा राजोपाध्याय भने सदस्यमा निर्विरोध चयन भइन् । कुल ३७ जना प्रतिनिधिले नै मतदानमा भाग लिएका थिए । त्यसमध्ये पारसले २३ मत र चितवनका उमेशले १४ मत पाए ।

उनको प्यानलबाट उठेका अधिकांशले सोही अनुपातमा मत पाए । उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री २३ मत प्राप्त उनका प्रतिद्वन्द्वी रूपक रञ्जितले १४ मत पाए । सचिवमा प्रसन्न शाक्य २३ मतसहित निर्वाचित हुँदा प्रज्वल सापकोटाले १४ मत मात्र प्राप्त गरे ।



कोषाध्यक्ष पदमा सञ्जय बस्नेत २३ मतका साथ विजयी हुँदा विजय बोहोराले १४ मत प्राप्त गरे । सदस्य पदमा पारसकै प्यानलका अजयवीर पाण्डे, अनिल अधिकारी, सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ र वसन्तराज सत्यालले समान २३/२३ मत प्राप्त गरे ।  



  • प्रकाशित मिति : भदौ १६, २०८० शनिबार १२:३३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया