गबारो र फौजी कीराले धानबाली सखाप, किसान चिन्तित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

झापाको अर्जुनधारा नगरपालिकाका तीनवटा वडामा धानबालीमा गबारो र फौजी कीराको समस्या देखा परेको छ । रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् ।

रोगका कारण वडा नं ३, ४ र ७ को ४० बिघा क्षेत्रफलमा लगाइएको धानबाली सखाप भएको र अन्यतिर पनि फैलिइरहेको अर्जुनधारा नगरपालिकाको कृषि शाखा प्रमुख एन्जिला बिडारीले जानकारी दिइन् ।  

‘गबारो, ढुसी र फौजी कीराको समस्या देखा परेको छ’, उनले भनिन्, ‘केही किसानका खेतमा धानबाली सखाप भएको अनुगमनबाट देखिएको छ भने तत्काल नियन्त्रण गरिएन भने अन्यतिर फैलिने सम्भावना छ ।’ 

रोग नियन्त्रण गर्न किसानलाई कीटनाशक विषादी दिएर पठाउने र रोग नियन्त्रण गर्ने उपाय सिकाउने गरिएको उनले बताए । हुर्किन लागेको धानबालीमा रोग फैलिएपछि चिन्तित बनेका किसान मर्न थालेको धानको बोटै बोकेर नगरपालिकाको कृषि शाखामा जाने गरेका छन् । रोगको समस्या सबैभन्दा बढी वडा नं ७ मा रहेको शाखा प्रमुख बिडारीले बताइन् ।  

‘परम्परागत तरिकाले खेती गर्दा यस्तो समस्या देखापर्ने धेरै सम्भावना हुन्छ’, उनले भनिन्, ‘धान रोपेपछि गोडमेल गर्ने र पानी पटाइरहने बानी हाम्रा किसानको छैन । खेतीमा रोगले आक्रमण गरिरहेको छ भने बेलैमा त्यसको नियन्त्रणको उपाय गर्नुपर्छ ।’ किसान समस्या भएपछि ढिलो सम्पर्कमा आउने गरेको कृषि शाखाको गुनासो छ ।

किसान रोगाएको धानको बोटै बोकेर कार्यालयमा आउन थालेपछि कृषि शाखाका प्राविधिक टोलीले सङ्क्रमित क्षेत्रको अनुगमन गरेको छ । फिल्डमै गएर किसानसँग बुझ्ने, समस्याको अवस्था हेर्ने र कीटनाशक विषादी प्रयोगको तरिका सिकाउने गरिएको शाखा प्रमुख बिडारीले बताइन् । 



नगरपालिकाको कृषि शाखाले किसानलाई औषधि निःशुल्क वितरण गरिरहेको जनाएको छ  । अर्जुनधारा–३ का युवराज इङ्नामले किसानले पाँच कठ्ठादेखि एक बिघासम्मको जमिनमा लगाएको धानबालीमा रोग देखा परेको बताए ।  

‘केही किसान नगरपालिकाको कृषि शाखामा जानुभयो र औषधि लिएर आउनुभयो’, उनले भने, ‘धेरैजसो किसान खेतमा डुलिरहनुभएको छ । के औषधि कहाँबाट ल्याउने हो भन्ने उहाँहरूलाई जानकारी नै छैन ।’ 



वडा नं ३ का वडासचिव खगेन्द्र लिङ्देनले किसानहरू रोग लागेर पहेँलो भइसकेको धानको बोट लिएरै आउने गरेको बताए । आफ्नो वडाको लगभग २० बिघामा रोग देखिएको जानकारी दिए । नगरको कृषि शाखाले किसानलाई क्लोरोफाइलिन प्लस, एमामेक्टिन बेन्जाएटलगायतका कीटनाशक विषादी निःशुल्क उपलब्ध गराइरहेको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतनाथ भण्डारीले जिल्लाको धानबालीमा फाट्टफुट्ट मात्र रोगको समस्या देखा परेको जानकारी आएता पनि प्रकोपकै रूपमा नफैलिइएको बताए । उनले गबारो, ढुसी र फौजी कीराको सङ्क्रमण फैलिएको भए सम्पर्कमा आउन किसानलाई आह्वान गरेका छन् । रासस 

  • प्रकाशित मिति : भदौ १९, २०८० मंगलबार ७:५२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया