निराहार व्रत आडिलो बनाउन दर खाने तयारी
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरूप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदै छ । विशेष गरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । 

विगत वर्षमा नेपालमा मात्र मनाइने तीज पर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतमा पनि यो पर्व मनाउन थालिएको छ । तीजका गीत भारतीय टेलिभिजन च्यानलमा समेत प्राथमिकताका साथ देखाउन थालेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा बताउँछन् ।

माइती पक्षले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रूपमा विशेष गरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । गहुँको रोटी र घिउ खाँदा व्रतालुका लागि अझ आडिलो हुने अनुभवीको भनाइ छ ।
 
निराहार व्रत आडिलो बनाउन दर
 
तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरूले शक्ति प्राप्तिका लागि मीठा एवं आडिलो परिकार दरका रूपमा खाइ मंगलबारको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउँछन् ।

महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्म घरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् । 
 
विकृतिमा परिणत हुँदै तीजको संस्कृति   
 
पछिल्ला वर्षमा तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रूपमा लैजान खोजेको  समाज शास्त्री कीर्तिकुमार राईको धारणा छ । 

यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाज शास्त्रीले जोड दिएका छन् । एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रूपमा दर खाने दिनका लागि तोकिएको छ । पछिल्लो समय सरकारी कार्यालयमा समेत एक महिनाअघिदेखि नै तीज कार्यक्रमको तामझाम हुने गरेको छ । 

दर खाएर सुरु गरिँदै चार दिने तीज
 
आइतबार दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृर्तीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्त ऋषिको पूजा गरी तीज समापन हुन्छ ।
 
यस वर्ष असोज २ गते मंगलबार भगवान् गणेश उत्पत्ति भएको विश्वास गरिने गणेश चौँथी र ऋषिपञ्चमी पर्व मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । गणेश चौँथी प्रातः कालमा तिथि परेका दिन मनाइन्छ । 



ऋषिपञ्चमी भने मध्याह्नकालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ । असोज २ गते मंगलबार बिहान चौँथी तिथि र त्यसै दिन मध्याह्नकालमा पञ्चमी तिथि परेकाले दुवै पर्व एकै दिन मनाउनुपर्ने गरी निर्णय गरिएको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए । 
      
हरितालिकाको पौराणिकता

तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरी घाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।



यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्म शास्त्रीय मत रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई बताउँछन् ।

हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गर्छ । तीज सुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि तीजसम्बन्धी गीत प्रसारणलाई प्राथमिकता दिने गरेका छन् । तीजसँगै समग्र माहौल नै पर्वमय बन्न पुगेको छ । 

  • प्रकाशित मिति : भदौ ३१, २०८० आइतबार १२:१४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया