भारतविरुद्ध नेपाल आक्रामक : हिर्कायो १४ छक्का
फाइल तस्बिर

एसियाली क्रिकेटअन्तर्गत चीनको हाङझाउमा आज सम्पन्न टी–२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

भारतले प्रस्तुत गरेको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १ सय ७९ रन मात्र बनाउन सक्यो । यद्यपि भारतविरुद्ध नेपालको खेल प्रदर्शन निकै प्रशंसायोग्य रह्यो ।  

नेपालले आफ्नो इनिङमा कुल १४ छक्का हिर्कायो । पहिले ब्याटिङ गरेको भारतले भने आफ्नो इनिङमा १२ छक्का मात्र हिर्काएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्काको मद्दतमा सर्वाधिक ३२ रन बनाए ।

उनले शिवम दुबेको ओभरमा लगातार तीन छक्का हिर्काउँदै खेल रोचक बनाएका थिए । यस्तै, सन्दीप जोराले १२ बलमा तीन छक्का र एक चौकाको सहयोगमा २९ रनको इनिङ खेले । 

यस्तै, कुशल मल्लले पनि २२ बलमा २९ रन नै बनाए । उनले आफ्नो इनिङमा २ छक्का र २ चौका प्रहार गरे । कुशल भुर्तेलले ३२ बलमा चार चौका र एक छक्कासहित २८ रन जोडे । अविजित रहेका करण केसीले १३ बलमा दुई छक्काको मद्दतमा अविजित १८ रन बनाए । आसिफ शेख १०, सोमपाल कामी ७, गुलसन झा ६, सन्दीप लामिछाने ५ र कप्तान रोहित पौडेल ३ रनमा आउट भए । 

भारतका लागि रवि बिस्नोई र आवेश खानले तीन/तीन विकेट लिए । अर्शदीप सिंहले दुई र साई किशोरले एक विकेट हात पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनायो । उसका लागि यशस्वी जैसवालले १ सय रन बनाए । 



उनले ४९ बलमा शतक बनाएर नेपालमाथि दबाब बनाएका थिए । यस्तै, अविजित रहेका रिंकु सिंहले ३७ तथा शिवम दुबेले २५ रन जोडे । कप्तान ऋतुराज गायकवाडले २५ रनमा आउट भए । 

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ३१ रन दिएर सर्वाधिक दुई विकेट लिए । यस्तै, सन्दीप लामिछाने र सोमपाल कामीले एक/एक विकेट हात पारे । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । भारत भने सेमिफाइनल प्रवेश गरेको छ ।   




  • प्रकाशित मिति : असोज १६, २०८० मंगलबार १२:१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया