यस्तो छ नेपालमा पक्षाघातको अवस्था र रोकथामका प्रयास

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आज अक्टोबर २९ । आज देशभर ‘विश्व पक्षाघात दिवस’ देशभर विभिन्न कार्यक्रम आयोजना गरेर मनाइँदै छ । यस वर्षको पक्षाघात दिवस ‘हामी सबै मिलेर काम गर्यौं भने पक्षाघातमाथि विजय पाउन सकिन्छ’ भन्ने नाराका साथ मनाइँदै छ । 

नेपालमा पहिलोपटक सन् २००८ मा विश्व पक्षाघात दिवस मनाइएको थियो । त्यसयता निरन्तर रूपमा हरेक वर्ष अक्टोबर २९ मा विश्व पक्षाघात दिवस मनाउँदै आइएको छ । 

के हो पक्षाघात ?

पक्षाघात भनेको शरीरको एकातिरको भाग प्यारालाइसिस हुने अवस्थालाई भनिन्छ । एक जटिल शारीरिक अवस्थाको रूपमा रहेको पक्षाघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार हुन नसकेको खण्डमा हुने नेपाल पक्षाघात संघका अध्यक्ष तथा वरिष्ठ न्युरोलोजिष्ट डा. राजु पौडेलले जानकारी दिए । 

उनका अनुसार साधारण भाषामा भन्नुपर्दा मस्तिष्कको रगतको नसा सुक्ने वा नसा फुटेर हुने स्वास्थ्य समस्यालाई पक्षाघात भनिन्छ । अचानक केही अंगभंग भयो भने त्यो नै पक्षाघात हो भनेर बुझनुपर्ने डा. पौडेल बताउँछन् । 

पक्षघात कति प्रकारका हुन्छन् ? 



सामान्यतया पक्षाघात दुई प्रकारमा विभाजन गरिएको चिकित्सक बताउँछन् । पहिलो, रक्तनली थुनिएर हुने, जुन सबै मस्तिष्क पक्षाघातको ८५ प्रतिशतभन्दा बढी केसमा हुन्छ र यसलाई इस्केमिक स्ट्रोक भनिन्छ । दोस्रो, रक्तनली फुटेर (रक्तश्राव भएर) हुने स्ट्रोक जसलाई हेमोरेजिक स्ट्रोक भनिन्छ ।

‘विश्वमा हरेक चारजनामा एकजनालाई र छ सेकेण्डमा एकजनालाई पक्षाघातको सम्भावना रहेको हुन्छ, यसबाट सजग हुनुपर्छ’, उनी भन्छन् । नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षाघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको डा. पौडेल जनाउँछन् । 



पक्षाघात कसलाई हुने सम्भावना हुन्छ ?

नेपालमा अहिले पक्षाघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्यांक छ । डा. पौडेलका अनुसार उच्च रक्तचाप, मधुमेह, मोटोपन, धूमपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गडबडी हुँदा पक्षाघातको सम्भावना हुने भएकाले सतर्कता अपनाउनुपर्छ । 

विश्वभर बर्सेनि एक करोड ३० लाखभन्दा बढी व्यक्तिमा पक्षाघात हुने गरेको डा. पौडेल बताउँछन् । उनका अनुसार हरेक ६ सेकेण्डमा एकजना र चारजनामा एकजनालाई पक्षाघात हुने गरेको छ । 

पक्षाघातका लक्षण 

सन्तुलन गुम्नु, अनुहार बांगो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लर्बराउनु, हातखुट्टा लुलो हुनु पक्षाघातका लक्षण हुन् । यस्ता लक्षण देखिए जतिसक्दो चाँडो अस्पताल पुग्न सके मात्र उपचार सम्भव हुने वीर अस्पतालका वरिष्ठ न्युरोलोजिष्ट डा. अविनाश चन्द्र बताउँछन् । 

‘लक्षण देखिनेबित्तिकै जतिसक्दो चाँडो अस्पताल जानुपर्छ । हामीकहाँ लक्षण देखिएको चार घण्टाभित्र अस्पताल पुग्नुपर्छ भन्ने गरिन्छ,’ डा. चन्द्र भन्छन्, ‘तर, त्यस्तो होइन । हामीलाई लक्षण देखिनेबित्तिकै अस्पताल गइहाल्नुपर्छ । जतिसक्दो चाँडो उपचार पाउँछौँ, त्यति चाँडो नै निको हुने प्रबल सम्भावना हुन्छ ।’ त्यसैले यतिउति समयभित्र अस्पताल जानुपर्छ भन्नुभन्दा पनि लक्षण देखिएको समयमै अस्पताल जानुपर्ने उनी बताउँछन् ।  

समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनुका साथै व्यक्तिको मृत्युसमेत हुनसक्ने चिकित्सक बताउँछन् । 

पक्षाघातको उपचार कसरी गरिन्छ ?

चिकित्सकका अनुसार सिटी स्क्यान वा एमआरआई गरेर कुन प्रकारको मस्तिष्काघात हो, छुट्याइन्छ । यदि मस्तिष्काघात इस्केमिक हो भने रगतको ढिक्का फुटाउने औषधि दिएर बन्द भएको नसालाई खोल्ने प्रयास गरिन्छ । यदि ठूलो नसा बन्द छ भने औषधिको साथै बिरामीलाई क्याथल्याब रगतको ढिकालाई विशेष प्रकारको पाइप वा जाली प्रयोग गरेर नसा खुलाउने प्रयास गरिन्छ । 

यसैगरी, बिरामीको अवस्थालाई मध्यनजर गरेर बिरामीको अवस्थाअनुसार उपचार गरिने डा. पौडेल बताउँछन् । नेपालमा भौगोलिक विकटता, सीमित स्रोत साधन र दक्ष जनशक्तिको अभावका कारण पक्षाघातको उपचारमा चुनौतीपूर्ण रहेको डा. पौडेलको भनाइ छ । 

नेपालमा पक्षाघातको अवस्था 

नेपालमा करिब तीन प्रतिशत मानिसलाई पक्षाघात हुने गरेको पाइएको छ । अर्थात्, एक लाख मानिसमा तीन हजार मानिस पक्षाघातबाट पीडित छन् ।

धूमपान, मध्यपान नगर्ने उच्च रक्तचाप नियन्त्रणमा राख्ने तथा अव्यवस्थित खानपान र जीवनशैलीमा परिवर्तन गरे मात्र पनि ९० प्रतिशतसम्म पक्षाघातको जोखिमलाई घटाउन सकिने डा. चन्द्र बताउँछन् । 

उनी भन्छन्, ‘पक्षाघातका विभिन्न कारक तत्त्व छन् । विशेषगरी उच्च रक्तचाप, मधुमेह, मध्यपान, धुमपान गर्ने, अव्यवस्थित जीवनशैलीका कारणले मिश्रित रूपमा पक्षाघात हुने गरेको पाइएको छ । यी सबै कारक तत्त्वले मस्तिष्कमा रगत जम्मा गराउने र मस्तिष्कको नसा फुटेर पक्षाघात हुने गर्दछ ।’

उनका अनुसार समयमै व्यवस्थित जीवनशैली अपनाउने र उच्च रक्तचाप, मधुमेहलाई नियन्त्रणमा राख्ने हो भने पनि ८० देखि ९० प्रतिशत पक्षाघातको समस्या घटाउन सकिन्छ । 

पक्षाघातको उपचारका लागि नेपाल पक्षाघात संघले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नुका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको छ ।

सन् २०१७ मा स्थापना भएको संघले नेपालको पक्षाघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्दै आएको डा. पौडेलले बताए ।

  • प्रकाशित मिति : कात्तिक १२, २०८० आइतबार १७:४३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया