फुलमायाका दुःख : सीप छ, मूल्य छैन

तनहुँको देवघाट गाउँपालिका–४ बासपानी डुडे बसेनीका ४० वर्षीया फुलमाया भुजेल जीविकोपार्जनका लागि डालो बुन्नमा व्यस्त छिन् । आयआर्जनका लागि अन्य आयस्रोत नभएपछि पुर्ख्यौली पेसाबाट नै आम्दानी गर्दै आएको फुलमायाले बताइन् । 

खेतीबाली लगाउनुका साथै फुलमायाले बाख्रा, कुखुरा पालेकी छन् । मुख्य आयस्रोत भने डालो बुनेर बिक्री गर्नु रहेको भन्दै उनले घरधन्दासँगै दैनिक १० वटासम्म डालो बुन्ने गरेको बताइन् । डालो बुनेर नै यहाँका भुजेलको जीविकोपार्जन हुने गरेको उनले सुनाइन् । 

फुलमायाले भनिन्, ‘हामीले पुर्खाबाट सिकेको सीपले नै घर धानेका छौँ । महिलाले डालो, सोली बुन्छौँ । पुरुषले ठूलो भकारी बुन्छन् । हामीले बुन्ने बाँसका सामग्रीचाहिँ छोरा मान्छेले बुन्दैनन् ।’ यहाँ उत्पादित बाँसका सामग्री बिक्रीका लागि चितवनसम्म पुर्याउने गरिएको उनले बताइन् । 

दुई सय घनामा बाँस किनेर सामग्री बनाउँदै आएको फुलमायाले जानकारी दिइन् । ‘ठूलो घनाको बाँसबाट करिब १० वटा डालो बनाउन सकिन्छ । बाँसको घनाअनुसार सामान बनाउने हो,’ उनले भनिन् । 

फुलमायाका अनुसार एक सय २० मा यहाँबाट लगिएका सामग्री बजारमा बिक्री गर्ने गरिएको छ । ‘पहिले धेरै बनाउँदा बिक्री पनि हुन्थ्यो । अचेल पहिलाको जस्तो किन्दैनन्,’ उनले भनिन्, ‘यी बाँसका सामान बिक्री गरी दैनिकी चलाउनका लागि चितवनबाट चामल किनेर ल्याउने गरेका छौँ ।’

यही बाँसको सामान बेचेर छोराछोरी हुर्काएको फुलमायाले अनुभव सुनाइन् । ‘अहिले छोराहरुले रोजगारी गर्छन् । आफूले जानेको सीप बेचेर अहिलेसम्म जीवन धानेका छौँ । सीप त छ, तर बजार र मूल्यको समस्या हुने गरेको छ,’ उनले भनिन् ।



यहाँका भुजेल समुदायले बाँसको सामान उत्पादन तथा बिक्री वितरण गरी जीविकोपार्जन गरिरहेका सोही ठाउँका सञ्जय भुजेलले बताइन् । ‘पुरुषले भन्दा छिटो महिलाले बाँसका सामान बुन्न सक्छन् । तुलनात्मक रुपमा महिलाले बुनेका सामान बढी बजारमा माग हुन्छ,’ उनले भनिन्, ‘हामीले ठूला सामान बनाउछौँ । महिलाले साना सामान बनाउने र उत्पादन पनि धेरै हुँदा कमाइ पनि धेरै हुन्छ ।’ 

बजारमा पहिलेको जस्तो ठूला सामानको माग घट्दा बजार अभाव हुन थालेको सञ्जयको गुनासो छ । उनका अनुसार ग्रामीण क्षेत्रमा पनि भनेजस्तो बाँस पाउन छोडेपछि किनेर सामग्री बुन्ने गरिएको छ । ‘किनेर बनाउनु पर्ने भएकाले महँगोमा बेच्दा बिक्री हुँदैन । कम मूल्यमा बेच्दा सीप र मिहिनेतअनुसारको लागत उठ्दैन,’ उनले भनिन् ।



सामान कम मूल्यमा बेच्दा सीपको मूल्य नपाएको फुलमायाको गुनासो थियो । उनले भनिन्, ‘बाँसको मूल्य तिर्छौं । हामीले सीपको मूल्य पाएका छैनौंँ ।’ यहाँका साना बच्चाबच्चीले पनि बाँसका सामग्री बुन्न जानेका छन् । यहाँका बालबालिकालाई परम्परागत सीप सिक्न प्रोत्साहन गरिँदै आइएको उनको भनाइ थियो ।

‘पछि काम नै नपाएर खानलाउन समस्या हुँदा यही सीपको सदुपयोग गर्न सकिन्छ भनेर बच्चादेखि नै सीप सिकाउछौँ । सीप जानेपछि नयाँ प्रविधिको प्रयोग गरेर सामग्री बनाउन र आम्दानी गर्न सकिन्छ,’ फुलमायाले भन्न् ि। उनका अनुसार यहाँका करिब ५०÷६० घरपरिवारले बाँसको सामग्री बनाउने गरेका छन् ।

सं३, प्रदेश र स्थानीय सरकारले ग्रामीण क्षेत्रमा सीप विकास कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । परम्परागत तथा पुर्ख्यौली पेसा र सीपको विकास भने गर्न सकेको पाइँदैन । पुर्ख्यौली पेसाबाट बनेका सामग्रीले बजार पाउन नसक्दा पेसा नै संकटमा पर्ने अवस्था आएको छ । बजारमा परम्परागत तवरबाट बनेका सामग्रीको माग भए पनि सीपको प्रवर्द्धन गर्न नसक्दा स्थानीयवासी मारमा पर्ने गरेका छन् । 

बजारमा पाँच–सात सयमा बिक्री हुने सामग्री स्थानीयवासीले बढी समय र मिहिनेत लगाएर बनाए पनि सीपको उचित मूल्य पाउन नसकेको गुनासो छ । किन्न नपर्ने गरी बाँस रोप्न, बढाउन र सामग्री उत्पादनमा प्रोत्साहन गर्न सकिएमा पुर्ख्यौली पेसाबाट आयआर्जन वृद्धि हुनुका साथै स्वरोजगार बन्न सक्ने उनीहरुको भनाइ छ ।

  • प्रकाशित मिति : पुस ५, २०८० बिहीबार २१:२९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया