इलाममा अलैँची उत्पादन बढ्यो
फाइल तस्बिर

इलाममा अलैँचीको उत्पादन बढेको छ । अलैँची खेती गरिएको जमिन घटे पनि उत्पादन भने बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष सात दशमलव ९६ प्रतिशतले अलैँची उत्पादन बढेको उक्त केन्द्रका प्रमुख टोनी बर्देवाले जानकारी दिए ।

चालू आवमा १ हजार ७ सय ५३ हेक्टर जमिनमा अलैँची १ हजार ३ सय २० दशमलव पाँच मेट्रिकटन अलैँची उत्पादन भएको छ । अलैँचीको बगान घटे पनि कृषकले करेसाबारीमै रोप्न थालेपछि उत्पादन र उत्पादकत्व पनि वृद्धि भएको हो । 

गत आवमा उत्पादकत्व प्रतिहेक्टर शून्य दशमलव ६९ रहेकामा चालू आवमा बढेर प्रतिहेक्टर शून्य दशमलव ७५ पुगेको उनले जानकारी गराए ।

यसअघि ओसिलो पाखाभित्ता र खोलाखोल्सीमा मात्र अलैँची खेती गरिएकामा पछिल्लो समय कृषकले अन्न बाली छाडेर करेसाबारीमा पनि अलैँची रोप्न रोप्दै आएका थिए । विभिन्न रोगको प्रकोपसँगै अलैँची बगान सखाप भएको र नयाँ बगानले उत्पादन दिन थालेकाले क्रमिकरूपमा उत्पादनमा सुधार हुँदै गएको छ । 

दानाबाट उत्पादन गरिएको निरोगी बिरुवाले उत्पादन पनि धेरै दिने र रोगको प्रकोपको सम्भावना पनि कम हुने भएकाले कृषकले विजु बिरुवा रोप्ने गरेका छन् ।

अलैँची विशेष गरी मसला, जडीबुटी तथा औषधिका रूपमा प्रयोग हुने गरेको पाइएको छ । अलैँची खेती जिल्लाका १० वटै स्थानीय तहमा आंशिकरूपमा हुने गरेको छ । त्यसमध्ये माइजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकामा बढी मात्रामा अलैँची खेती हुने गरेको छ ।
 
भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैँची खेती समुद्र सतहबाट सात सयदेखि दुई हजार एक सय मिटर उचाइसम्म हुने गरेको छ । 



यसैगरी एभोकाडोको पनि उत्पादन बढेको छ । गत वर्ष ५५ हेक्टर जमिनमा चार सय १९ दशमलव २२ मेट्रिक टन एभोकाडो उत्पादन भएकामा यस वर्ष ६० दशमलव पाँच हेक्टर जमिनमा चार सय २२ दशमलव पाँच मेट्रिकटन एभोकाडो उत्पादन भएको छ । उत्पादकत्व भने घटेको छ । गत वर्ष प्रतिहेक्टर सात दशमलव ६३ मेट्रिकटन एभोकाडोको उत्पादकत्व रहेकोमा यस वर्ष प्रतिहेक्टर सात दशमलव तीन मेट्रिक टन मात्र रहेको छ । 

त्यस्तै यस वर्षदेखि इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ । गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा ड्रागन फ्रुट लगाइएकामा यसवर्ष दश हेक्टरमा जमिनमा लगाइएको केन्द्रले जनाएको छ । रासस



  • प्रकाशित मिति : पुस ६, २०८० शुक्रबार १६:२६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया