‘शिक्षित महिलाले नै गराउँदैनन् स्तनपान’

नेपालमा सहरी तथा शिक्षित महिलाले नै स्तनपान नगराउने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको पोषण शाखाअनुसार पछिल्ला वर्षमा नेपालमा नेपालमा सहरी क्षेत्रमा बसोबास गर्ने र शिक्षित महिलाले नै बच्चा जन्मिसकेको एक घण्टादेखि दुई वर्षसम्म स्तनपान नगराउने पाइएको हो । 

पोषण शाखाले उपलब्ध गराएको तथ्याङ्कअनुसार पछिल्लो नेपालमा कुनै पनि औपचारिक शिक्षा हासिल नगरेका ५९ प्रतिशत आमाहरूले पूर्ण स्तनपान गराउँदा आधारभूत तहसम्म मात्रै शिक्षा लिएका ६१ प्रतिशत आमाले स्तनपान गराउने गरेका छन् । तर, माध्यमिक तहको शिक्षा लिएका आमामध्ये जम्मा ५३ प्रतिशतले मात्रै पूर्ण स्तनपान गराउने गरेको तथ्याङ्कमा उल्लेख छ । 

‘स्वास्थ्यको अन्य सूचकमा अशिक्षित भन्दा शिक्षितहरूको चेतना राम्रो भएको पाइन्छ,’ शाखा प्रमुख लिलाविक्रम थापाले भने, ‘तर, नवजात शिशुदेखि २ वर्षसम्मका बालबालिकाहरूलाई स्तनपान गराउने मामिलामा भने शिक्षितभन्दा कम अशिक्षित आमाले बालबालिकालाई पूर्ण स्तनपान गराएको पाइएको छ । 

उनका अनुसार पूर्ण स्तनपान नगराउनेमा धेरैजसो रोजगारी महिला छन् ।  न्यून आय भएका भन्दा मध्यम तथा उच्च आय भएका आमाले स्तनपान नगराउने पाइएको छ । तथ्याङ्कअनुसार न्यून आय भएका आमाले ६४ प्रतिशत स्तनपान गराउँछन् भने मध्यम आय भएकाले ५८ प्रतिशत पूर्ण स्तनपान गराउने गरेको पाइएको छ । त्यस्तै उच्च आय भएका ४४ प्रतिशत आमाले पूर्ण स्तनपान नगराउने गरेको पाइएको छ ।

शैक्षिक दृष्टिकोणबाट हेर्दा सुदूरपश्चिम र कर्णालीमा धेरै महिला साक्षरताबाट वञ्चित छन् । तर, यहाँका महिला आफ्नो बच्चा स्वास्थ्यप्रति भने पूर्ण रूपमा सजक रहेको पाइएको छ । बच्चा जन्मेको १ घण्टाभित्र पूर्णस्तनपान गराउने महिला भने कर्णाली र सुदूरपश्चिमकै बढी रहेको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार पूर्णस्तनपान गराउने सबैभन्दा धेरै सुदूरपश्चिम र कर्णाली प्रदेशमा ७४ प्रतिशत छ भने मधेस प्रदेशमा ६५ प्रतिशत, गण्डकीमा ६४ प्रतिशत, कोशीमा ५३ प्रतिशत बागमतीमा ४३ प्रतिशत छ । यसै गरी पूर्ण स्तनपान गराउने कार्यमा लुम्बिनीमा सबैभन्दा कम ३६ प्रतिशत रहेको छ ।



परोपकार प्रसूती गृह तथा स्त्री रोग अस्पतालमा कार्यरत चिकित्सक डा.  शैलेन्द्रवीक्रम कर्माचार्य आर्थिक अवस्था राम्रो र पढेलेखेका परिवारकै महिला स्तनपान नगराउने स्थिति दुःखद भएको बताउँछन् । उनी भन्छन्, ‘स्तनपानसम्बन्धी थाहा नभएका महिलाहरूको हकमा भए उहाँहरूलाई बुझाउन सकिन्थ्यो तर, बुझेकाहरूलाई बुझाउन गाह्रो हुँदो रहेछ । यस्तै, अवस्था रहने हो भने अब बच्चाको खान पाउने, स्वस्थ हुन पाउने अधिकार नै हनन हुने भयो ।’

उनका अनुसार स्तनपान गराउँदा शरीर बिग्रिन्छ भन्ने भ्रमका कारण पनि धेरैजसो आमाले आफ्ना बच्चालाई स्तनपान गराउँदैनन् । शिक्षित र सहरी क्षेत्रका आमाले नै स्तपान गराउने दर घट्दै जाँदा बालबालिकामा पोषण कम हुन्छ । जस कारण उनीहरूको वृद्धि विकास नै कम हुने मात्रै नभएर स्वयं आमाको स्वास्थ्यमा समेत असर गर्ने डा. कर्माचार्य बताउँछन् । 



स्तनपानको गराउनेको जुन अहिलेको डर लाग्दो अवस्था छ त्यसलाई सुधार गर्न सकियो भने प्रत्येक वर्ष ८ लाख २० हजार बच्चाको ज्यान जोगाउन सकिन्छ । आमाले बच्चालाई दूध नचुसाउँदा एकातिर बच्चा र आमा दुवैको स्वास्थ्य जोखिममा परिरहेको छ भने अर्कोतिर आर्थिक रूपमा परिवारमा भार पनि परिरहेको छ । 

‘आमाले बच्चालाई दूध दिँदैनन्, बच्चालाई दूध नदिँदा उसको लागि खुवाउनका लागि बजारमा पाइने ल्याक्टोजिन किन्नुपर्‍यो,’ डा. कर्माचार्य भन्छन्, ‘एकातिर बजारमा पाइने ल्याक्टोजिन बच्चालाई खुवाउँदा आर्थिक समस्या आउँछ भने अर्कोतिर आमाको आफ्नै दूध भरिन थाल्छ । त्यो दूध बच्चालाई नचुसाउँदा भित्रै गानिएर स्वास्थ्यमा प्रतिकुल असर पर्न जान्छ ।’ 

नेपालमा स्तनपानको दर बढाउन प्रत्येक अस्पतालमा स्तनपानसम्बन्धी परामर्शदाता राख्न आवश्यक रहेको उनको भनाइ छ । 

  • प्रकाशित मिति : पुस १६, २०८० साेमबार १७:७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया