नवलपरासीपूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष आठ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । 

जिल्लामा सुन्तला जोन कार्यक्रमअन्तर्गत आठ सय १८ हेक्टरमा सुन्तलाखेती हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी रणबहादुर महतोले बताए । ‘यस वर्ष जिल्लामा एक हजार तीन सय ४६ मेट्रिकटन सुन्तला उत्पादन भएकामा सो बिक्रीबापत कृषकले रु आठ करोड ७४ लाख ९० हजार अम्दानी गरेका छन्’, उनले भने । गत वर्षभन्दा यस वर्ष सात दशमलव ८६ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको सूचना अधिकारी महतोले बताए । 

गत आर्थिक वर्ष २०७९/८० मा जिल्लामा एक हजार दुई सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यसबाट सात करोड ५० लाख रुपैयाँ बराबरको आम्दानी भएको महतोले जानकारी दिए । 

सुन्तलाखेती गरिएको जमिनमध्ये एक सय ३२ हेक्टरमा प्रतिहेक्टर १० हजार मेट्रिकटन उत्पादन हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नवलपुरका प्रमुख सुनिलकुमार सिंहले बताए । 

‘जिल्लाको बौदिकाली, बुलिङ्टार गाउँपालिका, गैँडाकोट नगरपालिका– १८, हुप्सेकोट वडा नं ५, देवचुली वडा नं ६, मध्यबिन्दु–८ र १५ वडा गरी कूल १७ वडामा सुन्तला जोन कार्यक्रम सञ्चालन गरिएको छ’, उनले भने, ‘पहिले सामान्यरुपमा सुन्तला लगाउने किसानले सुन्तला जोन कार्यक्रमपछि सरकारबाट विभिन्न खालका प्राविधिक सहयोग र अनुदान प्राप्त गरेर यसतर्फ आकर्षण बढ्दै गएको देखिन्छ ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आव २०७५/७६ देखि नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सञ्चालनमा आएको हो । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू नभएका केही स्थानमा पनि सुन्तलाखेती हुने गरेको कृषि ज्ञानकेन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताए ।  





  • प्रकाशित मिति : पुस २९, २०८० आइतबार १७:४९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया