भिजिट भिसामा विदेश गएर नफर्किने बढेपछि सरकारले गर्‍यो कडाइ

सरकारले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकका लागि थप कडाइ गरेको छ । भिजिट भिसामा विदेश जाने र नफर्किनेको संख्या बढेपछि सरकारले कडाइ गरेको हो । 

अध्यागमन विभागले बुधबारदेखि लागू हुने गरी भिजिट तथा पर्यटक भिसा प्राप्त गर्न आवश्यक पर्ने कागजातमा नयाँ व्यवस्था गरेको हो । विभागले वेभसाइटमा ११ बुँदे यात्रा परामर्शपत्र जारी गर्दै बुधबारदेखि भिजिट भिसामा विदेश जानका लागि आवश्यक पर्ने कागजातबारे जानकारी गराएको हो । भिजिट भिसामा गएकाहरू ठगिने, नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश जाने क्रम बढेपछि अध्यागमनले यसलाई थप कडाइ गरेको छ । 

भिजिट भिसामा जानेहरूले अब दुईतर्फी हवाई टिकट बुझाउनेपर्नेछ भने सम्बन्धित देशको भिसा वा अनअराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा चाहिनेछ । भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभइ आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र पेस गर्नुपर्ने विभागले जनाएको छ । त्यस्तै, कसैको निमन्त्रणामा भएमा त्यसको पत्र वा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण चाहिने व्यवस्था गरिएको छ । 

यूएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वःघोषणा गर्नुपर्ने र त्यसमा भएको विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमै रहने विभागले जनाएको छ । अध्यागमनले भिजिट भिसामा जानेले समयमै स्वदेश फर्किन्छु भनेर स्वघोषणा गर्नुपर्ने जनाएको छ । 

त्यस्तै, विदेश जानुअघि उक्त देशको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राखेर मात्र भ्रमण गर्न विभागले आग्रह गरेको छ । भिजिट भिसामा नक्कली कागजात, झुट्टा विवरण समेत तयार पारी द्वन्द्वग्रस्त मुलुकहरूसम्म पुगेर अलपत्र पर्ने गरेको भन्दै अध्यागमन विभागले सचेत रहन सूचित गरेको हो ।  





  • प्रकाशित मिति : माघ १०, २०८० बुधबार ९:१९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया