सुशील कोइरालाको आँसुमा गणतन्त्रको मुहार [विचार]

नेपाल पत्रकार महासंघको एउटा महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले भनेका थिए, 'अब पत्रकारहरु पनि गाडी चढ्न सक्ने हुुनुपर्दछ ।' उनको त्यो सम्बोधन हुँदै गर्दा प्रज्ञा–प्रतिष्ठानको हल हाँसो र तालीले गुञ्जायमान भयो । पत्रकारले पारिश्रमिक पाउने र गाडी किन्ने अवस्थाको निर्माण असम्भव जस्तै लाग्थ्यो त्यो बेला । त्यसैले हल हाँसोसहित गुञ्जायमान भएको थियो । तर, कोइरालाको त्यो भनाइको अन्तर्य निकै गहन थियो । 

श्रम गर्ने पत्रकारले श्रमको उचित सम्मान नपाउने कुरा एउटा लोकतान्त्रिक नेतृत्वका लागि स्वीकार्य थिएन । उनले पत्रकारको यो पीडा राम्रोसँग महसुस 
गरेका थिए । कोइरालाले भने झैँ यतिबेला सबै श्रमजीवी पत्रकार गाडी चढ्न नसके पनि सम्पादक गाडी चढ्न थालेका छन् । पत्रकार सम्मेलन गर्नका लागि आयोजकहरुले सहज गाडी पार्किङ भएको स्थान खोज्न थालेका छन् । 

सुशील कोइराला नेपाली राजनीतिमा एउटा आदर्श, सादगी अनि सहज नेताका रुपमा चिनिन्छन् । उनले आफूलाई जीवनपर्यन्त बिपी कोइरालाको एउटा असल अनुयायीका रुपमा प्रस्तुत गर्ने प्रयत्न गरे । २०१७ सालको ‘कु’ नभएको भए सुशील कोइराला फिल्मको हिरो बन्थे । हिरो हुनु भनेको सृजनशील हुनु हो । 

राजनीतिमा सृजनशीलता सधैँ अपेक्षित हुन्छ । त्यसैले दार्शनिकहरुले भन्ने गरेका छन्, राजनीति कला पनि हो, विज्ञान पनि हो । विज्ञानले परिणाम निकाल्छ, कलाले त्यो परिणाम निकाल्नका लागि भूमिका खेल्छ । त्यसकारण कला अर्थात् सृजनशील पक्षको अभाव भएको नेतृत्वले राजनीतिमा कुनै परिणाम दिन सक्दैन । सृजनशील सुशील कोइरालाले आफ्नो जीवनमा परिणाम मात्र दिए । उनी प्रधानमन्त्री हुँदा असम्भवझैँ लाग्ने संविधान नै जारी गरे । 

उनी बाँकेबाट चुनाव लड्दै गर्दा उनीसँग स्थानीयले खानेपानीको धाराको अपेक्षा गरे । चुनावको बेलाको अपेक्षालाई उम्मेदवारले ‘हुन्छ’ भन्छन् र भन्नुपर्छ भन्ने आम अपेक्षा थियो । तर, कोइरालाले खरो जवाफ दिए, 'धारा देनेका काम म्युनिसिपालिटीवाले करेंगे, मै तो कानुननिर्माण के लिए पार्लियामेन्टके मेम्बरके लिए इलेक्सनमे आया हुँँ, पानीके नल आप लोगोको मुझसे नहीँ माग्नी चाहिए ।' उनको यो जवाफ उनका लागि प्रत्युत्पादक भयो ।

संविधानका पिताको विशेषण आफ्ना नामका अगाडि थपेर उनको निधन भयो । उनी हिरो हुने सपनामा रमाउँदै गर्दा उनलाई कसैले पनि राजनीतिमा जम्ला भनेर सोचेका थिएनन्, तर तानाशाही व्यवस्था प्रारम्भ भएपछि उनले आफ्नो व्यक्तिगत चाहनाको क्षेत्र छाडेर लोकतान्त्रिक आन्दोलनको सिपाही हुने निधो गरे । कोइराला परिवारको व्यवस्थापनका नाममा लोकतान्त्रिक आन्दोलनसँग जोडिए । उनी सबै निजी स्वार्थभन्दा टाढा थिए । यतिसम्म कि उनले विवाहका प्रशस्त सम्भावनालाई नकार्दै एउटा आन्दोलनमा प्रतिबद्ध सिपाहीका रुपमा आफूलाई समर्पित गरे । 



लोकतन्त्रका पक्षमा यसरी समर्पित कोइरालाले नागरिक अधिकारभन्दा ठूलो केही कुरालाई पनि मानेनन् । लोकतन्त्रलाई उनले संसारको उत्तम शासन व्यवस्था ठाने । लोकतान्त्रिक पद्धतिको पक्षमा उनले आफूलाई सधैँ उभ्याइरहे । 

एउटा रोचक सन्दर्भ छ उनको । उनी बाँकेबाट चुनाव लड्दै गर्दा उनीसँग स्थानीयले खानेपानीको धाराको अपेक्षा गरे । चुनावको बेलाको अपेक्षालाई उम्मेदवारले ‘हुन्छ’ भन्छन् र भन्नुपर्छ भन्ने आम अपेक्षा थियो । तर, कोइरालाले खरो जवाफ दिए, 'धारा देनेका काम म्युनिसिपालिटीवाले करेंगे, मै तो कानुननिर्माण के लिए पार्लियामेन्टके मेम्बरके लिए इलेक्सनमे आया हुँँ, पानीके नल आप लोगोको मुझसे नहीँ माग्नी चाहिए ।' 



उनको यो जवाफ उनका लागि प्रत्युत्पादक भयो । उनले २०५१ सालको चुनाव हारे । ०६४ सालको चुनाव पनि हारे । तर, उनले आफ्नो अभिव्यक्तिलाई कहिल्यै गलत ठानेनन् । उनी भन्थे, 'लोकतन्त्र गतिशील भयो भने आवश्यकताअनुसारको विकास अनिवार्य हुन्छ ।' उनको यो आदर्श नेपालको सन्दर्भमा कहिले कार्यान्वयन हुने हो वा हुने हैन ? यो कुराको जवाफ समयले देला । तर, उनको यो पवित्र सोच नेपालका सबै राजनीतिक नेतृत्वमा देखियो भने अवस्था परिवर्तन हुन कुनै समय लाग्ने छैन । 

राजाको प्रत्यक्ष शासन प्रारम्भ भएपछि कोइराला नेपालगञ्जको प्रहरी कार्यालयमा कैदी भए । संयोगले भेट्ने अवसर भयो । लामो कुराकानी पछि उनले भने, 'गणतन्त्रको पक्षमा तपाईंहरु (पत्रकारहरु)ले जनमत बनाइदिनुस्, अनि कुरा गरम्ला ।' उनको यो अभिव्यक्तिसँगै कोइराला बसेको कोठाको माथि टाँगिएका राजारानीको फोटो देखाउँदै मैले भनेँ, ‘सुशील‘दा त्यो फोटोको ठाउँमा म राष्ट्रपति सुशील कोइरालाको फोटो हेर्न चाहन्छु ।' 

मैले यसो भन्दा उनका आँखाबाट आँसु झरेका थिए । पत्रकार महासंघका तत्कालीन सभापति तारानाथ दाहाल, सदस्य विनोद ढुंगेल, पोषण केसी र नेपालगञ्जका पत्रकार कृष्ण अधिकारी यो संवादका साक्षी थिए । 

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा बिपी कोइराला अनि गिरिजाप्रसाद कोइरालाको जस्तै प्रस्ट दृष्टिकोण थियो, सुशील कोइरालाको । लोकतन्त्रको निरन्तर अभ्यासको कडा पक्षपाति कोइरालाले मिडियालाई लोकतन्त्रको निरन्तर अभ्यासका लागि ‘मोबिल’को संज्ञा दिन्थे । 

कोइरालाको आँसुमा मैले गणतन्त्रको मुहार देखेँ । जनमत निर्माणमा लागियो । अनि उनकै नेतृत्वमा गणतान्त्रिक संविधान बन्यो । मिडियासँगको यो ढंगको अपेक्षा र विश्वास कमै राजनीतिक नेतृत्वले गरेका हुन्छन् । सुशील कोइरालामा त्यो तहको विश्वास थियो । 

उनी प्रधानमन्त्री हुँदा संविधानका विषयमा छलफल हुँदा पत्रकारिताका सन्दर्भमा छलफल हुँदा उनले सधैँ ‘पत्रकार महासंघले के भन्छ यो विषयमा ?’ भनेर सोध्ने गर्थे । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा बिपी कोइराला अनि गिरिजाप्रसाद कोइरालाको जस्तै प्रस्ट दृष्टिकोण थियो, सुशील कोइरालाको । लोकतन्त्रको निरन्तर अभ्यासको कडा पक्षपाति कोइरालाले मिडियालाई लोकतन्त्रको निरन्तर अभ्यासका लागि ‘मोबिल’को संज्ञा दिन्थे । 

मिडियाको महत्वलाई यसरी बुझ्न सक्ने राजनीति नेतृत्व हुने हो भने नेपाली मिडियाका धेरै समस्याको समाधानका लागि राज्य सहयोगी हुन्थ्यो होला । उनी पत्रकारिताका पक्षपाती मात्र नभएर नेपाली राजनीतिका असल पात्र हुन् । त्यही असल बाटो हो, जुन यात्राले उनलाई नेपाली जनतामाझ लोकप्रिय बनायो र राजनीतिमा सफल पनि गरायो । 

उनी राजनीतिलाई असल मार्ग हिँडाउन खोज्दथे । कम बोल्ने, तर मीठो बोल्ने उनको प्रवृत्ति, व्यवहार र सरलताको प्रत्यक्ष साक्षी भएका कारण पनि यो अनुभव भएको हो ।

दोस्रो निर्वाचित संविधानसभाले संविधान बनायो । प्रधानमन्त्री कोइरालाले सबैको योगदानलाई समेटेर संविधान जारी गर्ने सफल वातावरणलाई नेतृत्व दिन सके आन्तरिक तनाव र बाह्य दबाबका कारण बनेर संविधान आउने, नआउने वा कहिले आउने अनिश्चयका बीच सहमति, सहकार्य, एकता र मेलमिलाप सूत्र पढाएर उनले त्यो सफलता नेपाली राजनीतिलाई दिन सकेका हुन् । 

राजनीतिलाई स्वच्छ नैतिक दायित्व मान्ने उनले आफ्नो जीवनको अन्तिम ध्येय संविधान बनाउन निश्चित गरेका थिए । नेपाली राजनीतिका ती मूर्धन्य असल पात्र एवं राष्ट्रिय ध्येयमा समर्पित राजनीतिज्ञ सुशील कोइराला बितेकाे नवौँ वर्ष प्रवेश गरेको छ । नवौँ स्मृति दिवसमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि । 

(लेखक नेपाल पत्रकार महासंघका सभापति हुन् ।)

  • प्रकाशित मिति : माघ २७, २०८० शनिबार १५:५७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया