त्रिवि उपकुलपति नियुक्ति प्रक्रिया : आजबाट अन्तर्वार्ता सुरु

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि सर्टलिष्ट (छोटो सूची) मा परेका विवादित व्यक्तिबारे पुनर्विचार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र उपकुलपति सिफारिस समितिको ध्यानाकर्षण गराएको छ ।
  
समितिको आज सिंहदरबारमा बसेको बैठकले उपकुलपतिका लागि सर्टलिष्टमा परेका व्यक्तिबारे छलफल गर्दै बौद्धिक चोरी, भ्रष्टाचार मुद्दा लागेका र सूचना लुकाएको अभियोगमा जरिवाना पाएका पनि सर्टलिष्टमा परेकाले नियुक्तिको प्रक्रिया तत्काल रोक्नुपर्ने भनेपछि समितिले विवादित व्यक्तिबारे पुनर्विचार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र उपकुलपति सिफारिस समितिलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो । 

समिति सभापति भानुभक्त जोशीले छलफलमा उठेका विषयबारे पुनर्विचार गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सिफारिस समितिलाई ध्यानाकर्षण गराइएको जानकारी दिए । 'अहिले उपकुलपति छनोट प्रक्रियामा परेकामध्ये केहीलाई बौद्धिक चोरी, भ्रष्टाचार, सूचना लुकाएकालगायत आरोप लागेकाले ती व्यक्तिका बारेमा विशेष ध्यान दिनका लागि मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय गरेका छौँ,' उनले भने । 
     
समितिले त्रिभुवन विश्वविद्यालयमा कार्यबाहक कुलपतिले विभिन्न निर्णय गरेको विषयबारे छानबिन गरी आवश्यक कारबाही गर्न पनि निर्देशन दिएको छ । सभापति जोशीले उपकुलपति नियुक्ति पारदर्शी बनाउन र नियुक्ति प्रक्रिया सामान्य जनताले अनुभूत गर्नेगरी गर्न उपकुलपति सिफारिस समितिलाई आग्रह गरे । उनले विश्वविद्यालय उपकुलपति नियुक्तिबारे फरक–फरक मापदण्ड रहेको पाइएको भन्दै विश्वविद्यालय शिक्षा सुधारका लागि सबै गम्भीर हुनुपर्ने खाँचो औँल्याए । 
     
बैठकमा शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालय ऐनबमोजिम उपकुलपति छनोटका लागि सिफारिस समिति बनेको भन्दै उक्त समितिले आवश्यक प्रक्रिया र ऐन कानुनबमोजिम योग्य र सक्षम व्यक्ति सिफारिस गर्ने विश्वास व्यक्त गरिन् । शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले उपकुलपति छनोटको प्रक्रिया रद्द गर्न नमिल्ने भए पनि सर्टलिष्टमा परेका बौद्धिक चोरीको आरोप लागेका व्यक्तिका बारेमा सिफारिस समितिले आवश्यक छानबिन गर्ने विश्वास दिलाइन् । 

यसैबीच बैठकमा बोल्ने सांसदहरुले उपकुलपति छनोट प्रक्रियाको सर्टलिष्टमा रहेका व्यक्तिहरु बौद्धिक चोरीको आरोप लागेका, सूचना लुकाएको आरोपमा सूचना आयोगबाट जरिवाना पाएका र भ्रष्टाचार मुद्दा लागेका व्यक्तिहरू परेको भन्दै मन्त्रालय र समितिको ध्यानाकर्षण गराएका छन् ।

सांसद बद्रीप्रसाद पाण्डेले उपकुलपति छनोटका लागि अधिकतम विवेक प्रयोग गरिनुपर्ने भन्दै छनोट प्रक्रियाको दीर्घकालीन समाधानका लागि नीतिगत सुधार जरुरी भएको बताए । 

सांसद डा. चन्द्रकान्त भण्डारीले विश्वविद्यालय सुधार गर्ने कार्ययोजना र सोचका आधारमा छनोट प्रक्रियालाई पारदर्शी बनाइनुपर्ने बताए । सांसद विद्या भट्टराईले विश्वविद्यालयका कार्यबाहक कुलपतिले गरेका कानुन विपरीतका निर्णय भए रद्द गर्नुपर्ने धारणा राखे । 

सांसद सुमना श्रेष्ठले कार्यबाहक उपकुलपतिले क्षेत्राधिकार मिचेर काम गर्न नमिल्ने जिकिर गरे । सांसद तोसिमा कार्कीले उपकुलपति छनोटका सर्टलिष्टमा परेकामध्ये केही बौद्धिक चोरीमा संलग्न रहेको पाइएको भन्दै उनीहरुलाई उक्त सूचीबाट हटाउन माग गरे । सांसद डा. कालुराम राईले विवादमा परेका व्यक्तिलाई सर्टलिष्टबाट हटाउन सिफारिस समितिलाई आग्रह गरे । 



सांसद रामप्रकाश चौधरीले उपकुलपति नियुक्ति मापदण्ड कडाइका साथ लागू गरिनुपर्नेमा जोड दिए । सांसद ईश्वरी घर्तीले उच्च शिक्षा सुधारका लागि उपकुलपति योग्य र सक्षम व्यक्ति चयन गरिनुपर्ने बताए । 

शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालय उपकुलपति नियुक्तिको प्रक्रिया कानुनसम्मत रहेको बताइन् । सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको बैठकमा उनले उपकुलपतिको पदको नियुक्तिको लागि शिक्षा मन्त्रालयमा एउटा सिफारिस समिति गठन भएको भन्दै उक्त समितिले नियुक्तिको प्रक्रिया कानुनभित्र रहेर गरिरहेको बताइन् । 



उनले भनिन्, त्रिभुवन विश्वविद्यालयको आफ्नै ऐन छ र त्यही ऐनलाई टेकेर शिक्षा मन्त्रालयमा एउटा सिफारिस समिति गठन भएको छ । त्यो तीन सदस्यीय सिफारिस समिति हो, जसमा मन्त्रीको संयोजक, शिक्षा सचिव र त्रिभुवन विश्वविद्यालयका विभाग प्रमुख चन्द्रकला घिमिरे सदस्य रहेका छन् । सिफारिस समितिले जुन प्रक्रिया अगाडि बढाएको छ, उपकुलपति नियुक्ति सम्बन्धमा त्यो प्रक्रिया एकदम कानुनसम्मत छ ।’

यस्तै, उनले लागि उपकुलपतिको पदको लागि जम्मा ४२ जना निवेदकमध्ये १४ जना सर्टलिस्टमा राखेकाले अब अन्तर्वार्ता सुरु गर्ने जानकारी दिइन् ।

उनले भनिन्, ‘सिफारिस समितिले २०८०, पुस २३ गते माघ ८ गतेसम्मको लागि एउटा विज्ञापन निकालेको थियो । त्यसमा जम्मा ४३ जना निवेदकहरुले निवेदन हालेको छ । त्यसमध्ये एउटा निवेदन स्वीकृत हुन सकेन । ४२ वटा स्वीकृत भएको छ । त्यसको छलफलपश्चात् १४ जना सर्टलिस्टमा आयो, त्यसमा आजदेखि अन्तर्वार्ता सुरु हुन लागेको छ ।’

  • प्रकाशित मिति : माघ २९, २०८० साेमबार १६:४७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया