कांग्रेसको निष्कर्ष : प्रचण्डले राजनीतिक बेइमानी गरे, देशलाई अस्थिरतातिर लगे

नेपाली कांग्रेसले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बिहीबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । 

बैठकले कांग्रेस सदैव गठबन्धनकाप्रति इमानदार रहेको दाबीसमेत गरेको छ । बैठकका निर्णय सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले गठबन्धनका मूल्य, मान्यता, गठबन्धनमा रहँदा भएका सहमतिलाई अक्षरश पालना गर्नेगरी आफूहरू प्रस्तुत हुँदासमेत प्रधानमन्त्री दाहालले विश्वासघात गरी गठबन्धनमाथि बेइमानी गरेको कांग्रेसले ठहर गरेको बताए । उनले प्रधानमन्त्रीले गठबन्धन भत्काउनुपरेको कारण काल्पनिक, कपोलकल्पित र तथाकथित रहेको पनि बताए । 

प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्योल र अनिश्चिततातिर लैजाने काम गरेको जिकिर कांग्रेसको छ ।

‘नेपाली कांग्रेस सदैव गठबन्धनकाप्रति इमानदार रह्यो । हामीले गठबन्धनका मूल्यमान्यता, गठबन्धनमा रहँदा हाम्रोबीचमा भएका सहमतिलाई अक्षरश पालना गर्नेगरी हामी प्रतिवद्ध रह्याैँ । र, तदनुरूप काम गरेका थियौँ । तर, पछिल्लो समयमा गठबन्धनका तर्फबाट प्रधानमन्त्री बन्नुभएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनलाई, हामीलाई विश्वासघात गरेर गठबन्धन भत्काउनुभयो । उहाँले जुन कारणहरू विभिन्न ढंगले भनिरहनुभएको छ, ती अत्यन्त काल्पनिक, कपोलकल्पित र तथाकथित कारणहरू देखाएर गठबन्धन भत्काउनुभयो । यसलाई हामीले राजनीतिक बेइमानीका रूपमा ठहर गरेका छाैँ,’ लेखकले भने ।



उनले कांग्रेसले अब संघीय संसदमा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि बताए । कांग्रेसले संघीय संसदमा रहेका आफ्ना सांसदलाई संसदमा देश र जनताका हितमा प्रभावकारी रूपले प्रस्तुत हुन र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नसमेत निर्देशन दिएको छ । बैठकमा पछिल्लो समयमा विकसित र परिवर्तित राजनीतिक घटनाका बारेमा पनि छलफल भएको बताए ।  



‘अब नेपाली कांग्रेस संघीय संसदमा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्दछ र आजको बैठकले संघीय संसदमा रहेका नेपाली कांग्रेसका सम्पूर्ण माननीय सदस्यहरूलाई संसदमा देश र जनताका हितमा प्रभावकारीरूपले प्रस्तुत हुन र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न निर्देशन गरेको छ,’ लेखकले भने । 


  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार १२:०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया