ललितपुर महानगरले साढे ४ करोडमा लिफ्टसहितको पुल निर्माण गर्ने, मेयर महर्जनले गरे शिलान्यास

ललितपुर महानगरपालिकाको चक्रपथ सडकमा लिफ्टसहितको अपाङ्गतामैत्री आकासे पुल निर्माण हुने भएको छ । महानगर प्रमुख चिरिबाबु महर्जनले एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी उक्त अपाङ्गमैत्री आकासे पुल निर्माण कार्यको सोमबार शिलान्यास गरे ।  

सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो । आठ मिटरभन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभएपनि चक्रपथको यो क्षेत्रमा अत्यधिक दुर्घटना भएकाले सडक सुरक्षालाई ध्यानमा राखेर महानगरको जोडबलमा पुल निर्माणका लागि अनुमति लिएको प्रमुख महर्जनले बताए । 

‘यो ठाउँमा सडक दुर्घटना हुँदा धेरैजनाको अकालमा ज्यान गएको छ, त्यसैले महानगरले यो ठाउँमा आकासेपुल बनाउने निधो गरेका हौँ,’ मेयर महर्जनले भने, ‘शारीरिकरूपमा अशक्त बालबालिका,ज्येष्ठ नागरिकलगायत सम्पूर्णलाई यो पुल सहज हुनेछ ।’  

संविधानले व्यवस्था गरे बमोजिम समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त अनुसार सडक विभागसँग पुल निर्माणका लागि महानगरले अनुमति मागेको भन्दै उनले तोकिएकै समय (१२ महिना) भित्र निर्माण कार्य पूरा गर्न सम्बद्ध निर्माण कम्पनीलाई निर्देशन दिए । उनले पुल निर्माणमा काम गर्ने कर्मचारीको सुरक्षालाई पहिलो प्राथमिकता दिएर काम लगाउनुपर्नेमा जोड दिँदै पुल निर्माणको कार्य समयमै सक्नुपर्ने र गुणस्तरीय हुनुपर्ने बताए । 

‘पुलको क्यालिटिमा कुनै हालतमा कम्प्रोमाइज गर्नु हुँदैन । गुणस्तरमा कम्प्रोमाइज गर्दा काम राम्रो हुँदैन । पुल राम्रो नबने सबैभन्दा पहिला बनाउने ठेकेदारको नाम आउँछ र ठेकेदार बेइज्जत हुन्छ । त्यसपछि परामर्शदाताको नाम आउँछ उसको पनि बेइज्जत हुन्छ,’ मेयर महर्जनले भने, ‘त्यसपछि खत्तमको ठेकेदार र कन्सल्टेण्ट नियुक्त गरेर काम लगाउने को रहेछ भनेर जनताले सोध्छन् मेरो नाम आउँछ, त्यसपछि मै पनि खत्तम ! यी सबै कुरालाई ध्यानमा राखेर काम गर्नुहोला ।’    



उक्त पुल ललितपुर महानगर–१३ मा एक वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको हो । वडा नं.१३ का वडा अध्यक्ष गणेश केसीले सडक विभागबाट पुल निर्माणका लागि अनुमति लिनै ४ वर्ष भन्दा धेरै समय गुनासो गर्दै भने, ‘पुल बनेपछि यहाँ अब सडक दुर्घटना कम हुन्छ । यो हाम्रो लागि खुसीको कुरा हो ।’  

महानगरले ठेकेदार कम्पनी लामा प्रगति–मनि बुद्ध जेभि, काभ्रेपलाञ्चोकसँग ४ करोड ६८ लाख ९ हजार ५ सय ६१ रुपैयाँको लागतमा १२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको आयोजना प्रमुख इन्जिनियर प्रदीप पौडेलले बताए ।



इन्जिनियर पौडेलका अनुसार यो आकासे पुल नेपालकै पहिलो लिफ्ट जडान सहितको अपाङ्गमैत्री पुल हुनेछ ।  

  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार १४:२७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया