तल्लो तहका जनताको उत्थान नै वर्तमान व्यवस्थाको उद्देश्य हो : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत तल्लो तहका जनताको उत्थान नै वर्तमान व्यवस्थाको उद्देश्य भएकाले त्यसलाई प्राथमिकतामा राखेर काम गर्नु सरकारको कर्तव्य भएको बताएका छन् । 

आज मटिहानीमा सहिद केशव कोइरालाको प्रतिमाको अनावरण गरेपछि सहिद केशव कोइराला स्मृति प्रतिष्ठान र मटिहानी नगरपालिकाद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले निमुखा र विपन्न वर्गको उत्थानसहित लोकतन्त्र, गणतन्त्र र समानतासहितको राज्य व्यवस्था कायम गर्ने सहिदको त्यो सपनालाई रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताए । ‘हामीले जनताका अधिकार स्थापित गरेको संविधान पाएका छौँ । यसअनुसार दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत तल्लो तहका जनताको उत्थान गर्नु छ । यही नै हो लोकतन्त्र, यही नै हो गणतन्त्र, यही नै हो समानता, उनले भने । 

मधेसलाई प्रजातन्त्रको भूमिका रुपमा चित्रण गर्दै राष्ट्रपति पौडेलले नागरिक अधिकार स्थापनाका लागि संघर्ष गर्ने क्रान्तिको केन्द्रमा मटिहानी रहेको स्मरण गरे । नेपालको संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयआर्जनका अवसरबाट वञ्चित नगरिने लक्ष्य लिएको उनले बताए । 

राष्ट्रपतिले राजनीतिक रुपमा जनताको सर्वोत्तम उपलब्धि ‘गणतन्त्र’ प्राप्त भएको, तर त्यसको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छजस्तो आफूलाई लागेको बताए । ‘गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र होइन यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो । यो संस्कार, संस्कृति, आनीबानी र व्यवहार मात्रै होइन आचरणमा परिवर्तन पनि हो भनेर हामीले बुझ्न बाँकी छ,’ उनले भने । 

नेपाली जनताको ठूलो संघर्षबाट आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथा अहिले हामीले लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण चरण पार गरेका छौँ भन्दै राष्ट्रपति पौडेलले वर्तमान संविधानले निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेको मात्र नभई वास्तविक अर्थमा नेपाली जनतालाई राजकीय शक्तिको मालिक बनाएको उल्लेख गरे । 

राष्ट्रपतिले प्रशासनिक रूपमा राज्यको पुनः संरचनासँगै तल्लो तहका जनताको पहुँचमा राज्यसत्ता पुगेको र अब राज्यको चरित्रको पुनः संरचना हुन र केन्द्रीकृत अधिकार तल्लो तहमा प्रत्यायोजन गर्न अझै बाँंकी रहेको बताए । 



‘अब यसका लागि हामीले विलम्ब गर्न हुँदैन भन्ने मलाई लाग्छ । संविधानबमोजिम प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउने कानुन चाँडो निर्माण गर्न संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई आग्रह गरेको म यहाँंहरूसमक्ष स्मरण गर्न चाहन्छु,’ उनले भने । 

एकदलीय शासन व्यवस्थालाई जरैसँंग उखेल्ने  कठिन र दुरुह संघर्ष अनि त्याग र बलिदानका कैयौँ कष्टकर दिनहरूमा आफ्नो प्राणको आहूति दिएर प्रजातान्त्रिक सिद्धान्त, मूल्य, मान्यता र संगठनलाई नेपाली भूमिमा सुदृढ र व्यवस्थित बनाउन जीवनपर्यन्त अविराम खटेको एक योद्धाको नाम केशव कोइराला भएको उनले उल्लेख गरे । ‘ओखलढुंगाको पूर्वी गाउँ छहरे कोइराला गाउँमा जन्मिभएका सहिद कोइराला आफ्नो धन–सम्पत्ति, नाता–कुटुम्ब सबैलाई त्यागेर प्रजातान्त्रिक आन्दोलनको मूलधारामा सहभागी हुनुभएका कुशल संगठनकर्ता तथा लोकप्रिय नेता भएको बताए । 



त्यसअघि प्रजातान्त्रिक योद्धा गणेश नेपालीको सालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले सुशासन, विकास, उत्पादन र रोजगारी बढाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई साकार पार्ने अभियानमा सबै एकजुट भएर लाग्न आह्वान गरे । उनले जनता आफैँले बनाएको नेपालको संविधान कार्यान्वयन गरेर नेपाली जनताले चाहेको सुशासन, विकास, उत्पादन र रोजागरीका माध्यमबाट समृद्धिको यात्रामा अघि बढ्न जरुरी भएको बताए । 

लोकतन्त्रलाई राज्यसञ्चालनको एउटा माध्यममात्र होइन जीवन दर्शन र संस्कार बनाए मात्रै आज केशव कोइरालाजस्ता सहिदहरू र गणेश नेपालीजस्ता प्रजातन्त्रका योद्धाप्रति सच्चा श्रद्धाञ्जलि हुने राष्ट्रपतिले बताए । केशव कोइराला र गणेश नेपालीका सालिक देशमा लोकतन्त्र स्थापना र पुनः स्थापनाका लागिभएका संघर्षबारे बुझ्ने चाहनेहरुका लागि एउटा जीवन्त इतिहास भएर रहने उनले विश्वास व्यक्त गरे । 

  • प्रकाशित मिति : चैत ३, २०८० शनिबार १५:५१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया