सार्वजनिक प्रशासन शैलीका कारण जनतामा निराशा छाएको छ : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक प्रशासनको कार्यशैलीका कारण जनतामा निराशा छाएको बताएका छन् । उनले जनतामा छाएको निराशालाई आशामा परिवर्तन गर्न सबैको साझा प्रयास आवश्यक हुने बताए । 

आइतबार नागरिक लगानी कोषको ३४ औँ वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्री पुनले आमजनतामा सार्वजनिक प्रशासन, राजनीति, अर्थतन्त्रका क्षेत्र, बैंक तथा वित्तीय संस्था चारैतिर निराशा मात्रै देखिएकाले त्यसलाई चिर्नु अहिलेको चुनौती भएको बताए । 

‘राजनीतिक नेतृत्वमा समस्या छन्, शुद्धीकरणको आवश्यकता हामी आफैँले महसुस गर्दै आएका छौँ । यही कार्यशैली रहिरहने हो भने आजको आवश्यकता पूरा गर्न सक्ने अवस्था छैन, राजनीतिक र प्रशासनिक शुद्धीकरण जरुरी छ,’ मन्त्री पुनले अघि भने, ‘३४ वर्ष अगाडि स्थापना भएको यही संस्थाको आज औचित्य सान्दर्भिक छ कि छैन ? राज्यले जम्मा गरेका लगानीकर्ता, प्रवर्तक र सञ्चालकहरू जम्मा भएर आजको बजार माग अनुसार हामी प्रतिस्पर्धा गर्न सक्छौँ कि सक्दैनौँ ? समीक्षा गर्नुपर्ने अवस्था देखिएको छ ।’

मन्त्री पुनले देशका केही क्षेत्रमा सुधार र निकै राम्रो प्रगति भए पनि नकारात्मक पक्ष मात्रै बाहिर आएको बताए । उनले राजनीतिक नेतृत्वदेखि सार्वजनिक प्रशासन र व्युरोकेसीसम्मको संयन्त्रमा देखिएका समस्यामाथि समाजले नै प्रश्न उठाइरहेकाले जनअपेक्षा अनुसार काम गर्न कार्यशैलीमा परिवर्तनको खाँचो औँल्याए ।  उनले नागरिक लगानी कोषले पनि आफ्नो औचित्य पुष्टि गर्नुपर्ने समय आएको उल्लेख गरे । 

व्यक्ति, संस्था, प्रशासन, नेतृत्व, राज्य संयन्त्रमाथि प्रश्न उठेपछि जबाफदेही बन्नुपर्ने उल्लेख गरेका उनले प्रश्न उठ्दैमा डराउन नहुने तर सकारात्मक रूपमा अगाडि बढ्न प्रश्नबाटै प्रेरित हुनुपर्नेमा उनको जोड छ । 

‘राजनीतिमाथि प्रश्न, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, लघुवित्तमाथि प्रश्न, व्यवसायी, मिडिया, सहकारी, सबै सार्वजनिक संस्था, न्यायालयमाथि प्रश्न उठेको छ । यहाँहरू जो जहाँ जुन जिम्मेवारीमा हुनुहुन्छ सबैले कानुन भन्दा माथि म छु भन्ने सोच्नु हुँदैन, यो कुरा हामी सबैले ख्याल गर्नुपर्छ,’ पुनले भने । 





  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार ११:२५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया