राजेन्द्र लिङ्देनको दाबी- राप्रपा बाहेक सबै राजनीतिक दल जनताको अग्नि परीक्षामा असफल भए
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा बाहेक अन्य सबै राजनीतिक दलहरू जनताको अग्नि परीक्षामा असफल भएको दाबी गरेका छन् । सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले यस्तो दाबी गरेका हुन् । 

उनले नेपालमा जनताको भरोसा कुनै पनि राजनीतिक शक्तिमा नभएको भन्दै अन्य सबै राजनीतिक शक्तिहरू जनताको अग्नि परीक्षामा असफल भइसकेको बताए । अध्यक्ष लिङ्देनले मधेसको नेतृत्व गर्ने पार्टीहरूले गएको १५ वर्षमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लागू भएपछि मात्रै मधेसको नाममा मधेस केन्द्रित राजनीतिक दलहरूबाट ५० जना नेताहरू मन्त्री हुने मौका पाएको तर मधेसका जनताको लागि काम गर्न नसकेको आरोप लगाए । 

उनले भने,‘अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक नेपाली जनताको भरोसा अरू कुनै राजनीतिक शक्ति छैन । अन्य सबै राजनीतिक शक्तिहरू जनताको अग्नि परीक्षामा असफल भइसकेका छन् । गलत साबित भइसकेका छन् ।’

उनले मधेसले प्रधानमन्त्री बाहेक सबै मन्त्रालय प्राप्त गरे पनि जनताको पक्षमा केही नभएको उल्लेख गरे । उनले अब क्षेत्र र जातको कुरा गरेर जनताले विश्वास गर्ने अवस्था नभएको भन्दै  जनताको आशा राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फ रहेको दाबी गरे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको विचार ठिक भएको भन्दै राप्रपाले जनतालाई विश्वास दिलाउन मेहनत आवश्यक रहेको बताए । उनले मधेस प्रदेश कमिटी र जिल्ला नेतृत्वलाई जनताको बीचमा जान आग्रह गरे । 

उनले जिल्ला तहको नेतृत्वले कार्य योजना बनाएर काम गर्न निर्देशन पनि दिए । उनले आगामी २७ गते काठमाडौं केन्द्रित जनप्रदर्शनको घोषणा गरेकाले मधेसबाट व्यापक सहभागिता र सहयोग आवश्यक रहेको बताए ।  





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार १५:५८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया