निजी क्षेत्र र उदारवादलाई निषेध गरेर देश समृद्ध हुँदैन : सिके राउत

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले निजी क्षेत्र र उदारवादलाई निषेध गरेर देशको समृद्धि नहुने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा बोल्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् । 

उनले निजी क्षेत्र र उदारवादलाई निषेध गरेर अगाडि बढ्न नसकिने बताए । उनले नेपालमा समाजवाद भनेको जनतालाई पैसा बाँड्नु हो भन्ने भाष्य रहेको र सबै दलहरूले त्यसैमा प्रतिस्पर्धा गर्न लागिरहेका भन्दै ऋण लिएर पैसा बाँड्दैमा देशको समृद्धि नहुने बताए । उनले देशको समृद्धिका लागि निजी क्षेत्रको लगानीलाई निषेध गर्नु नहुने बताए । 

राउतले नेताहरूले देशलाई सिंगापुर, जापान, दुबई र कतार बनाउने भाषण गर्ने गरेका भन्दै ती देशहरू समाजवादी मुलुकमा विकास नभएको बताए । सोभियत संघ र चीनमा पनि उदारवाद अङ्गालेपछि मात्रै विकास भएको उल्लेख गर्दै उहाँले नेपालमा भने शास्त्रीय मार्क्सवाद पढाएर जनतालाई भुलभुलैयामा राखिएको बताए । 

उनले भने, ‘ऋण लिएर पैसा बाँड्दैमा यो देशको समृद्धि हुँदैन । त्यो हामीले देखिराखेका छौँ । दुई खर्बबाट २४ खर्ब ऋण पुगेको हामीले देखिराखेका छौँ । त्यसैले यो आयाममा हामीले छलफल चलाउनै पर्ने हुन्छ कि हाम्रो मुलुकले अहिले नै समाजवाद धान्न सक्छ कि सक्दैन ? सक्दैन भने हामी निजी क्षेत्रलाई यसरी किन निषेध गरिराखेका छौँ ? किन लगानीलाई निषेध गरिराखेका छौँ ? किन निजी क्षेत्रमाथि आक्रमण गर्दै छौँ ? त्यस्तो खालको नीति, नियमहरू किन ल्याइराखेका छौँ ? त्यो हामीले जवाफ दिनुपर्ने हुन्छ ? हाम्रो शीर्ष नेताहरूले जहिल्यै पनि भाषण दिनुभयो जनताको बीचमा गएर, हामी नेपाललाई सिंगापुर बनाइदिन्छौँ । जापान बनाइदिन्छौँ । दुबई, कतार बनाइदिन्छौँ । उहाँहरूले हेक्का राख्न सक्नुभएन, सिंगापुर भनेको समाजवादी मोडेलमा विकास भएको होइन । जापान पनि समाजवादी मोडेलमा विकास भएको होइन । दुबई, कतार पनि समाजवादी मोडेलमा विकास भएको होइन । उहाँहरूले जहाँबाट राजनीतिक प्रेरणा लिनुहुन्छ, शोभियत संघ र चीन त्यो पनि समाजवादी मोडेलमा रहँदासम्म त्यहाँको अर्थतन्त्र विकास भएको होइन । उनीहरूले पनि उदारवाद अङ्गालेपछि बल्ल विकास भएको हो । तर हामीले चाहिँ पुरानो शास्त्रीय मार्क्सवाद पढाएर भुलभुलैयामा राख्न खोजिन्छ । त्यही भएर उदाहरण तपाईँहरू आफ्नै प्रेरणाको स्रोतबाट लिनुहुन्छ भने त्यहाँ निजी क्षेत्रलाई, उदारवादलाई निषेध गरेर हामी अगाडी बढ्न सक्दैनौँ । त्यो कुरामा हेक्का राख्नुपर्छ ।’

उनले नेपालमा समाजवादी मोडेलमा उत्प्रेरणा नभएका कारण असफल भइरहेको बताए । सरकारी स्वामित्वका सबै संस्थानहरू घाटामा जाने गरेको र निजीको सबै नाफामा जाने गरेको अवस्था रहेको भन्दै उनले यसले पनि समाजवादी मोडेलमाथि प्रश्न उठाएको बताए ।  





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार १७:४०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया