अर्थमन्त्री पुनको दाबी- सन्तुलित बजेट ल्याउँछौँ

अर्थमन्त्री वर्षमान पुनले सन्तुलित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याइने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकमा उनले स्रोतसाधन र सीमामा रहेर बजेटमा सन्तुलन कायम गरिने विश्वास व्यक्त गरे ।

‘निर्वाचन क्षेत्र र प्रादेशिक सन्तुलन बजेटमा हुनुपर्छ भन्ने विषय संसद्मा पनि उठेको छ । यो विषयमा समितिमा पनि आएको छ’, अर्थमन्त्री पुनले भने, ‘निर्वाचन क्षेत्रमा न्यूनतम सन्तुलन कायम गर्ने गरी स्रोतसाधन र सीमाभित्र रहेर बजेटलाई सन्तुलन कायम गर्ने प्रयास गर्नेछौँ ।’ उनले आगामी बजेटमा कृषिको आधुनिकीकरण, बजारीकरण, आन्तरिक राजस्व, भन्सारलाई दक्ष जनशक्ति व्यवस्थापन र पारदर्शी बनाउनेलगायत विषयलाई प्राथमिकता दिइने बताए ।

अर्थमन्त्री पुनले अघिल्लो सरकारले गरेका कामलाई पनि समेटेर अहिलेको आवश्यकता र सान्दर्भिकताअनुरूप बजेट ल्याइने उल्लेख गरे । बजेटमा राष्ट्रिय प्राथमिकता तथा राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिइने उनको भनाइ छ ।

संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने प्रतिबद्धतालाई आत्मसात् गर्दै उत्पादनमूलक क्षेत्र, कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधिलगायत विषयलाई आगामी बजेटले समेट्ने अर्थमन्त्री पुनले जानकारी दिए ।

कृषिको आधुनिकीकरण गर्दै निर्वाहमुखीबाट व्यावसायिक बनाउँदै कृषिमा ठूलो जनशक्तिलाई सहभागी गराउने नीति पनि बजेटको प्राथमिकतामा पर्ने उनले बताए । उनका अनुसार जलविद्युत्को विकास र व्यापारलाई तीव्रता दिने गरी बजेटमा सम्बोधन गर्नेछ । 





  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार १६:२८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया