नयाँ निर्णय लिनु नै सुरक्षित उपाय ठानेर सत्ता समीकरण बदल्यौँ : प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको वाग्मती प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर नयाँ गठबन्धन बनाइएको स्पष्ट पारे । हालको सत्तागठबन्धनलाई लामो समयसम्म लैजाने सोच र लक्ष्यका साथ पार्टीले निर्णय गरेकाले त्यसलाई अक्षरशः लागू गरिने उनले स्पष्ट पारे । 

गठबन्धन परिवर्तन गर्ने निर्णय एकाएक नभएको उल्लेख गर्दै उनले वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने लक्ष्य राखिएको बताए । पछिल्लो एक वर्षको अनुभवका आधारमा नयाँ निर्णय लिनु नै सुरक्षित उपाय भएको प्रधानमन्त्रीको भनाइ रहेको नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य डिपी ढकालले जानकारी दिए । 

प्रदेश सरकारको विषयमा केही समयभित्रै आवश्यक निर्णय लिइने उनको भनाइ छ । संघीय सरकारमा परिवर्तन भएलगत्तै प्रदेश सरकारको बारेमा पनि निर्णय लिनुपर्ने अवस्था आएको भन्दै उनले गठबन्धनमा आवश्यक छलफल गरेर उपयुक्त निर्णय लिइने प्रधानमन्त्रीको कथन छ । 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले काठमाडौं उपत्यकामा कमजोर रहेको पार्टीलाई नयाँपन दिएर अगाडि बढाउन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उपत्यकाको आवश्यकता र चाहनालाई ख्याल गरेर जनतासँग जोडिन, संगठन सुदृढ गर्न रचनात्मक उपाय अवलम्बन गर्नुपर्नेमा उनको जोड थियो । सरकारले गरेका जनपक्षीय काम कारवाहीको बारेमा जनतालाई बुझाउनसमेत प्रधानमन्त्रीले आग्रह गरे । 

बैठकमा बागमती प्रदेशका इञ्चार्ज अग्निप्रसाद सापकोटा, अध्यक्ष सरल सहयात्री पौडेललगायतको उपस्थिति थियो । 





  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार २०:५०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया