‘आँधीको मनोरम नृत्य’ टिनएजरको प्रस्पेक्टिभबाट लेखिएको एउटा भिन्न नाटक हो : घिमिरे युवराज, निर्देशक

काठमाडौं – घिमिरे युवराज रंगमञ्चमा स्थापित नाम हो । जो मनैदेखि रंगकर्ममा लागेका छन् । रंगमञ्चको दुनियाँमा यो नाम कहिल्यै नमेटिने गरी टाँसिनुको कारण हो रंगमञ्च प्रतिको उनको ‘प्यासन’  र ‘मिहिनेत’ ।  जुन प्यासन र मिहिनेतका कारण उनी रंगमञ्चमा मज्जाले जमेका छन् । 

घिमिरे विद्यार्थी जीवनदेखि नै नाटक मन पराउँथे । उनी विद्यालयमा हुने नाटक र विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी हुन्थे । नाटकप्रतिको यही प्यासनले उनलाई यहाँसम्म पुर्याएको हो । 

नाटकप्रतिको यो रुचीले उनलाई कहाँ–कहाँ मात्रै पुर्याएन । काठमाडौं आएर उनले राष्ट्रिय नाचघरमा अभिनय प्रशिक्षण लिए । प्रशिक्षणपश्चात् उनमा मोह अझै बढ्यो । त्यसपछि यसै क्षेत्रमा काम गर्ने अठोट लिए । सन् २०११ मा उनी कम्बोडिया इन्टरनेसनल थिएटर स्कुल, डेनमार्कमा थिएटर पढ्न गए, र त्यहाँबाट स्नातक गरे । सानैदेखि यो क्षेत्रतिर आकर्षित भएका युवराज अन्ततः यसलाई आफ्नो पेसा नै बनाए र आजसम्म रंगमञ्चमै काम गरिरहेका छन् । 

विद्यार्थीका यी कुराले उनको मनमा हलचल मच्चायो । उनी घोरिएर सोच्न थाले । अन्ततः किशोर मनोविज्ञानलाई आधार बनाएर नाटक बनाउने जमर्को गरे । र, लेखे नाटक– ‘आँधीको मनोरम नृत्य’ ।

उनले केही समय पत्रकारिता पनि गरे । अझै पनि कलम चलाइरहन्छन् । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरको नेतृत्व उनले नै गरिरहेका छन् । उनी शिल्पीका आर्टिस्टिक डिरेक्टर हुन् । अभिनयबाट सुरु भएको उनको रंगमञ्चीय यात्रा अहिले लेखक र निर्देशकसम्म आइपुग्यो ।

तुलनात्मक रूपमा उनले निर्देशन र लेखन गरेकाभन्दा अभिनय गरेका नाटक बढी छन् । यद्यपि, निर्देशनमा पनि आफ्नो अद्भूत क्षमता देखाएका छन् । घिमिरेले निर्देशन गरेका नाटक नेपाली रंगमञ्च क्षेत्रमा एकदमै चर्चित र सफल भएका छन् । यसपालि उनी आफ्नै लेखन र निर्देशनमा नाटक लिएर आएका छन् । नाटकको नाम हो – ‘आँधीको मनोरम नृत्य’ ।



नेपाली रंगमञ्चमा अहिले प्रायः कथा, उपन्यासलाई नाट्य रूपान्तरण गरेर तथा विदेशी नाटकलाई अनुवाद गरेर मञ्चन गर्ने प्रवृत्ति देखिन्छ । यसको कारण हो, नेपाली नाटक कम लेखिनु । नेपाली नाटक लेखन परम्पराको अभाव महसुस गरेर आफूले नाटक लेखेको बताउँछन्, युवराज । उनी भन्छन् ‘नेपाली नाटकको कमी छ भन्ने कुरा छ । कतिपय विदेशी नाटक अनुवाद गरेर नाटक मञ्चन गरिरहेका छौँ, यसलाई सकेसम्म कम गर्नुपर्छ र आफ्नै नाटक ल्याउनुपर्छ ।’ 

त्यसैले उनी वेलावेलामा नेपाली लेखकलाई घचघच्याएर नाटक लेख्न लगाउँछन् र निर्देशन गर्छन् । यसपटक भने उनी आफैलेँ नाटक लेखेका छन् । थप प्रस्ट्याउँदै उनले भने, ‘मैले गर्ने नाटक प्रायः नेपाली राइटरलाई लेखाएर गर्छु । एउटा नाटक आफैँलाई लेख्ने इच्छा पनि थियो । लेखौँ न त भनेर लेखेँ ।’ 



केही महिनाअघि उनले ‘बाथटब’ नाटक निर्देशन गरेका थिए । जुन कुमार नगरकोटीको लेखनमा थियो । त्यो नाटक एकदमै सफल भयो । लेख्न सकियो भने त नेपाली नाटक पनि कमजोर हुँदैनन् भन्ने लागेर नाटक लेख्ने सोच बनाएको उनले बताए । आफ्नै विद्यार्थीले पनि यसका लागि घच्घच्याएको उनले सुनाए । उनी भन्छन्, ‘विद्यार्थीले मलाई किन विदेशी नाटक, पुराना इतिहासका कथा मात्र नाटकमा उतारिन्छन् ? अब हाम्रो कथालाई ल्याउनुपर्छ भनेपछि म मानसिक रूपमा तयार भएको हुँ ।’

विद्यार्थीका यी कुराले उनको मनमा हलचल मच्चायो । उनी घोरिए र सोच्न थाले । अन्ततः युवाहरूको अर्थात् किशोर मनोविज्ञानलाई आधार बनाएर नाटक बनाउने जमर्को गरे । र, लेखे नाटक– ‘आँधीको मनोरम नृत्य’ । विद्यार्थीले यी कुरा नभनेको भए सायद यो नाटक नै जन्मिने थिएन । उनी भन्छन् ‘जुनसुकै कुरालाई मैले हेर्ने दृष्टिकोण, मैले छान्ने, रोज्ने, खोज्ने कथा र युथले खोज्ने कथा वा कुरा फरक हुने रहेछ ।’ थप्छन्, ‘युथहरूसँग कुरा गरेर मेरा ‘बायस्ड थटहरू’बाट बाहिर निस्केर काम गर्न खोजेको हो ।’ त्यसपछि उनी टिनएजरको कथामा काम गर्नेमा निश्चित भए । 

विद्यालय, घरपरिवार, समाज कसैले पनि टिनएजरको कुरा नसुनेको अर्थात् उनीहरूको प्रस्पेक्टिभ बुझ्न नखोजिएको देखियो । यही विषयलाई नाटक बनाउने कोसिस गरेँ ।

‘यसमा एउटा मनोरम नृत्य छ,’ उनले नाटकबारे भने, ‘युथ टाइम ब्युटिफुल टाइम हो, तर यो आँधी पनि हो, ‘अलिकति पनि ख्याल गरिएन भने गडबडी हुन सक्छ ।’ यसलाई सांकेतिक रूपमा देखाइएको उनी बताउँछन् ।

नाटक लेखन र निर्देशन आफैँमा एकदमै गाह्रो कुरा हुन् । अभिनयको त कुरै छोडौँ । यी तीनवटै आ–आफ्नो ठाउँमा गाह्रो भए पनि आफैँले लेखेको नाटक निर्देशन गर्न झनै गाह्रो हुने उनको अनुभव छ । भन्छन् ‘नाटक निर्देशन गर्नभन्दा लेख्न एकदमै गाह्रो लाग्छ, मलाई । त्यसमाथि आफ्नै नाटक झनै गाह्रो ।’ त्यसैले हुन सक्छ, यो नाटक अमजद प्रवेजसँग मिलेर निर्देशन गर्दै छन् । सघाउँदै छन् अवतार पाठकले ।

‘डाइरेक्टरले स्क्रिप्टमा नयाँ कुरा खोज्नुपर्ने हुन्छ । आफूले लेखेको नाटक अलरेडी बायस्ड हुन्छ । त्योभन्दा परको कुरा खोज्न मन नलाग्ने च्यालेन्ज हुन्छ । सायद यो नाटकलाई पनि अरूले लेखेको भए मेरा लागि नयाँ आइडिया हुने थियो । नयाँ आइडियामा काम गर्न सजिलो हुन्छ,’ घिमिरे भन्छन्, ‘यसमा मैले अलरेडी मेरो दिमागमा भएको आइडिया लगाइरहेको छु । अनि माइन्ड नै ब्लक भइदिन्छ ।’ त्यसकारण आफ्नो नाटक निर्देशन गर्न गाह्रो हुने उनी बताउँछन् । 

नाटक वा जुनसकै कुरा लेख्नु सामान्यजस्तो लागे पनि यो एकदमै गाह्रो कुरा भएको युवराजको भोगाइ छ । बल्ल–बल्ल उनले तीन महिना लगाएर यो नाटक लेखेका हुन् । उनी भन्छन्, ‘म ४० वर्षको भइसकेँ, तर कथामा भर्खर १४–१६ वर्षका केटाकेटीको साइकोलोजी लिन एकदमै गाह्रो भयो, त्यसैले तीन महिना लाग्यो ।’ भन्छन्, ‘यसमा मैले हिजोआजका विद्यार्थीले प्रयोग गर्ने भाषाको प्रयोग गरेको छु ।’

घिमिरे युवराजले लेखेको यो दोस्रो नाटक हो । यसभन्दा अघि उनले लेखेको नाटक हो ‘नयाँ नेपाल’ । जसको निर्देशन राजन खतिवडाले गरेका थिए । जुन विसं २०६३ सालमा शिल्पी थिएटरमा नै मञ्चन भएको थियो । आफूले नै लेखेर आफूले नै निर्देशन गरेको युवराजको पहिलो नाटक हो । यद्यपि, उनी अरूले लेखेका थुप्रै नाटक अनुवाद र निर्देशन गरेर खारिएका छन् । 

यस नाटकमार्फत खासगरी कुनै जागिर गरेर आफ्नो गुजारा चलाउन सक्ने मध्यमवर्गीय सहरिया किशोर मनोविज्ञानलाई देखाउन खोजिरहेको बताउँछन् । नाटक लेखनको क्रममा विषयवस्तुमाथि अध्ययन गर्दा उनलाई सहरिया टिनएजरको साइकोलोजी इग्नोर गरिएजस्तो लाग्यो, जुन कुराले उनलाई छोयो । उनले भने, ‘विद्यालय, घरपरिवार, समाज कसैले पनि टिनएजरको कुरा नसुनेको अर्थात् उनीहरूको प्रस्पेक्टिभ बुझ्न नखोजिएको देखियो । यही विषयलाई नाटक बनाउने कोसिस गरेँ ।’ 

उनलाई यो नाटक फेरि पनि आमाबाबु वा वयस्क दृष्टिकोणबाट त बन्दैन भन्ने चुनौती थियो । भन्छन्, ‘यो नाटकको सन्देश फेरि आमाबाबुको तर्फबाट नजाओस् भन्ने मुख्य च्यालेन्ज थियो ।’ यी सबै रियल लाइफमा भइरहेकै घटना हुन् नाटकबाट मोरल लेसन सिकाउन थालियो भने त्यति राम्रो हुँदैन भन्ने उनको दृष्टिकोण छ । 

त्यसैले उनले यो नाटकले किशोर–किशोरीको आवाजलाई उनीहरूको परिवार, विद्यालय, समाजसमक्ष पुर्याउँछ र  उनीहरूको इच्छा, आकांक्षा बुझ्नका लागि प्रेरित गर्नेछ भन्ने आशा लिएका छन् । उनी भन्छन् ‘नाटक हेरिसकेपछि कुनै पनि परिवारले वा विद्यालयले वा समाजले उनीहरूसँग खुलेर कुरा गर्न खोजून् र उनीहरूलाई बुझ्ने प्रयत्न गरून् भन्ने अभिप्रायः छ ।’

  • प्रकाशित मिति : वैशाख २२, २०७६ आइतबार १५:६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया