प्रधानमन्त्रीलाई जितेन्द्र देवको प्रश्‍न : पार्टीमा विवाद हुँदा संसद् नै भंग गरिदिने?
सम्झाए 'सुम्रिमेसी अफ द पार्लियामेन्ट' को व्यवस्था

काठमाडौं : नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले नेकपाभित्र झगडा पर्दैमा संसद् विघटन गर्नु गैर-संवैधानिक कदम भएको बताएका छन्। राष्ट्रियसभाको सातौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'विधिको शासनलाई कांग्रेसले विश्वास गर्छ। सरकारविरुद्ध प्रश्‍न उठेमा वैकल्पिक सरकार बनाउन सकिन्छ। सरकारले मत गुमाएमा संसदले परीक्षण गर्छ। पाँच पटकसम्म पनि संसद फेल भएमा प्रतिनिधिसभा विघटनको निर्णय लिएर जाने हो', उनले भने, 'हामीले बारम्बार राजनीतिक स्थिरताको अनेक विकल्प खोजेर मात्रै विघटनमा जानुपर्छ भनेका छौं। जनताको प्रतिनिधि बस्‍ने ठाउँ मर्नु, मारिनु हुँदैन। यो जनताको सार्वभौम निकाय हो। यसलाई प्रधानमन्त्रीले मार्न सक्दैनन्।' 

देवले एउटा तानाशाहको पुरानो कथा सुनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली जनतामाझ नाङ्गिसकेको दाबी गरे। 'विरोध सहन नसक्ने एकजना शासक जहिले प्रशंसा चाहन्थे। उनी नाङ्गै सडकमा निस्किँदा उनका आसेपासेले कति राम्रो भनेर प्रशंसा गर्थे', उनले भने, 'नेपालमा त्यस्तै भएको छ। ती शासक नाङ्गै रहेको चेत एकजना बालकले खुलाइदिएका थिए। नेपालमा पनि प्रधानमन्त्रीलाई त्यसैगरी चेत खुलाइदिन जरुरी छ।' 

नेता देवले नेपालको लोकतन्त्र सुप्रिमेसी अफ द पार्लियामेन्ट भएको व्याख्या गरे। यो कुरा भुलेर प्रधामन्त्री ओलीले संसद विघटन गरेर देशलाई दुर्घटनाको विन्दुमा पुर्‍याएको दाबी देवले गरे।

'हाम्रो लोकतन्त्र सुप्रिमेसी अफ पार्लियामेन्ट हो कि सुप्रिमेसी अफ द प्राइमिनिस्टर हो? नेपालको संविधानले सुम्रिमेसी अफ द पार्लियामेन्टको व्यवस्था गरेको छ', उनले भने, 'यस्तो अवस्थामा प्रधानमन्त्रीले कसरी संसदलाई मनोमानी ढंगले विघटन गर्न सक्छन्? जनताको मतको यसरी अपमान गर्न कसरी सम्भव हुन्छ?'

नेकपाभित्रको समस्याले संसद विघटन हुनु विल्कुल गलत भएको उनले तर्क गरे। 'संसद विघटनमाथि देशमा अग्रगमन चाहने व्यक्तिहरुको प्रश्‍न हो। पार्टीभित्र कसैले काम गर्न नदिएको कुरा देशको या संसदको समस्या होइन। प्रधानमन्त्रीले पार्टीभित्र बहुमत कायम गर्न सक्नुपर्थ्यो कि त अल्पमतमा परेको अवस्थामा अर्को नेता छान्‍नुपर्थ्यो', उनले भने, 'कम्युनिष्ट भन्‍नेले त झन् यस्तो गर्दैनन्। नेपालको मजबुतीका लागि हामीले सोच्‍नुपर्छ। सत्ताधारी पार्टीले देशका लागि नसोचेको  कुराले दु:खी बनाएको छ।'



नेता देवले संसद विघटनले 'बुढी मरिन् भन्दा पनि काल पल्क्यो' भन्‍ने चिन्ता बढाएको बताए। 'संसद विघटनले 'बुढी मरी भन्‍ने चिन्ता होइन काल पल्क्यो' भन्‍ने चिन्ता बढाएको छ। प्रधानमन्त्रीले शक्ति केन्द्रित गर्दै नेपाली कांग्रेसले अधिनायकवादको चिन्ता गरेको थियो', उनले भने, 'उनले हाम्रो चिन्तालाई प्रतिनिधिसभा विघटन गरिदिएर पुष्टि गरेका छन्। एउटा पार्टीको विवादमा देशलाई नै संकटमा पारेर उनी अधिनायकवादी यात्रामा अघि बढेका छन्।'

देशको आर्थिक अवस्था ऋणात्मक भएको अवस्थामा अर्बौँ खर्च गरेर निर्वाचनमा जान नसकिने उनले बताए। 'देशको आर्थिक अवस्था ऋणात्मक हुँदै गर्दा हामी अर्बौँ खर्च गरेर मध्यावधि निर्वाचनमा किन जाने?', उनले भने, 'देशमा भ्रष्टाचार बढेको छ। सात प्रतिशत आर्थिक वृद्ध हुन्छ भनिएकोमा अहिले ठ्याक्कै उल्टो ऋणात्मक भएको बेला अर्बौँ सकेर निर्वाचनमा जानु बेठीक हो।' 



उनले नेकपाको विवादमा विदेशी शक्ति बोलाएर राष्ट्रियता बलियो नहुने तर्क गरे। 'अहिले एउटा पार्टीको नाममा भइरहेको विदेशी शक्तिको चलखेलले राष्ट्रियता धरायासी बनाउँछ। तराई-पहाड जोडेर मात्रै नेपालको एकता बलियो हुन्छ', उनले थपे, ' 'यो तरिकाले राष्ट्रियता जोगाउन सक्दैन। यो सरकारका पालमा भ्रष्टाचार चुलिएको छ। सरकार नै यती होल्डिङको पासोमा परेको छ। ओम्नी ग्रुपको क्रियाकलापले सरकार बदनाम भएको छ।'

उनले ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टले नेपालको अनुहारलाई बदनाम गरेको बताए। 'भ्रष्टाचारको अगुवाइ नेपाल सरकारले गरेको छ। ट्रान्सपरेन्सीको रिपोर्टले त नेपालको मुखमै कालो पोतेको छ', उनले भने, 'समृद्ध नेपाल सुखी  नेपाली नारा बहुत राम्रो छ तर सरकारको काम कारवाहीले देशलाई दरिद्र नेपाल दुखी नेपाली बनाउँदैछ।'

  • प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार १७:२६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया