मैले 'सरप्राइज' दिन्छु सोचेथेँ, उहाँले पो दिनुभयो

शनिबार रातको आठ बज्नै लागेको थियो। अमेरिकाबाट केही दिनअघि मात्र नेपाल आएका एक जना आफ्ना मित्रलाई भेटेर भर्खरै घर फर्किएका थिए, गायक तथा संगीतकार दीप श्रेष्ठ। साथीमार्फत एउटा खबर सुने, जसले उनको मुटु चिरिएन मात्रै, रातभर निदाउँन पनि सकेनन्। 

खबर थियो– गीतकार भैरवनाथ रिमाल यो संसारमा रहेनन्। 

यसै खबरभित्र उनको घाउमा थप पीडा दिने अर्को खबर थियो– रिमालको अन्त्येष्टि भइसक्यो। 
‘म काठमाडौंमा भएकै बेला उहाँको देहान्त भयो, तर बिदाइमा जान पाइनँ ।’ आइतबार फरकधारसँग कुरा गर्दा दीप शोकमग्न साथै विक्षिप्त थिए। 

‘एक महिनाअघि उहाँकै निवासमा भेट्दा मसँग राम्रैसँग बोल्नुभएको थियो’ दीपले सुनाए। 
त्यो अन्तिम भेटमा रिमालले दीपसँग बाचा गरेका थिए–दीपजी तपाईंलाई एउटा कुरा भन्नु छ।’ अब दीपले त्यो कुरा कहिल्यै थाहा पाउने छैनन्। रिमालसँगै त्यो कुरा पनि बिलाएर खरानी भयो। 

तर, कलाकार कहिल्यै मर्दैन। ऊ आफ्ना सिर्जनासँगै आम व्यक्तिहरुको मनमुटुमा बसिरहन्छ, युगयुगसम्म।  

रिमाल पनि नेपाली गीत–संगीत र साहित्यमा छाइरहनेछन्। बाँचिरहनेछन् दर्जन कविता संग्रह र पाँच सय भन्दा धेरै गीतहरुमा। ‘म उहाँलाई सधैँ सम्झिइरहनेछु ।’ दीपको आवाज मिलन सुनियो। 

दीप श्रेष्ठ र भैरवनाथ रिमालको मित्रता निकै पुरानो हो। दीपले रिमाललाई पहिलो पटक २०२६ सालमा भेटेका थिए, गीत–संगीतकै सिलसिलामा। पहिलो पटकको भेटमै रिमाल दीपको मुटुमा बसे। 



त्यसो त बारेमा दीपले रिमाललाई पहिल्यै चिनिसकेका थिए, उनका सुन्दर सिर्जनामार्फत। ‘व्यवहारमा त्यति सरल र मृदुभाषी हुनुहुन्छ भन्ने चाहिँ थाहा थिएन ।’ दीप ५१ वर्षअघि फर्किए ।

भेटमा रिमालले दीपको हातमा गीत थमाउँदै भने– दीपजी मेरो यो गीत गाइदिनुस् है। यो प्रस्तावले दीप खुसीमात्र भएनन्, आफूलाई सौभाग्यशाली ठाने। 



आफूलाई जसको गीत गाउने तीब्र अभिलाषा थियो, उही आएर गाइदेऊ भन्ने प्रस्ताव गर्दा कस्तो अनुभूति हुन्छ होला ? दीप त्यो खुसीको क्षण सम्झँदा निकै आनन्द मान्छन्। 

दीपले रिमाललाई भेट्नुअघि पनि उनका गीत गाइसकेका थिए, 

त्यो कुन गीत थियो ?

‘गीतको नाम त अहिले ठ्याक्कै सम्झिनँ सक्दिनँ’ कहीबेर गमेर दीपले भने, ‘मीठो हाँसो जिन्दगीमा अथवा आफ्नो कथा जिन्दगीको ।’

गीत सार्वजनिक हुन डेढवर्ष लाग्यो। गीतले चर्चा भने राम्रै बटुल्यो, स्रोतहरुलाई गीत मन पराए। 

यही गीतसँगै दीप र रिमालको मित्रता, सहकार्य झ्याङ्गिदै गयो, मलिलो ठाउँको दुबो सरी। 

रिमाल चावहिलमा रहेको आफ्नै घरमा बस्थे। दीपको भोटेबहालमा डेरा थियो। रिमाल धेरैहदसम्म स्थापित भइसकेका थिए भने दीप संघर्षको चरणमा थिए। 

सम्बन्ध सुमधुर हुँदै गएपछि एकअर्काका घरमा आउजाउ हुन थाल्यो। दीपको डेरामा आएका बेला उनलाई सजिलो होस् भनेर कहिलेकाहीँ पाँच सय–हजार छाडेर जान्थे। 

‘उहाँसँग हरेक पटकको भेटमा म केही न केही नयाँ कुरा सिक्थेँ। अद्भूत हुनुहुन्थ्यो,’ दीपले सम्झिए, ‘उहाँलाई एक असल मित्रसँगै अभिभावकको रुपमा लिन्थेँ ।’

२०५० सालतिर अनामनगरमा दीपले आफ्नै घर बनाए। त्यसपछि सम्बन्ध उनीहरुबीच मात्र सीमित रहेन। परिवारसम्म बिस्तार भयो ।

भनिन्छ, प्रेम र कलाको कुनै भाषा हुँदैन। प्रेम र कलाले मौनता र संकेतको भाषा पनि बुझ्छ। त्यसैले उनीहरु पनि मौनता र इसाराको भाषा बुझ्थे। 

एक दुर्घटनामा परेपछि रिमाल कान कम सुन्थे। केही भन्नु पर्‍यो भने लेखेर वा इसारा गरेर भन्नुपर्थ्यो। ‘अधिकांश समय म उहाँसँग इसारामा कुरा गर्थे। मेरो इसारा बुझेर मलाई मुखले जवाफ दिनुहुन्थ्यो ।’ दीपले सुनाए। 

कला, प्रेम र सहअस्तित्व कसिलो डोरीले बाँधिएको यो सम्बन्ध कहिल्यै चुँडिएन। बरु झन मजबुत हुँदै गयो। ‘एउटै मान्छेलाई साथी र अभिभावकका रुपमा पाएर नतमस्तक थिएँ म’ भन्छन् म। 

जीवनभर साथ र माया दिने मित्रलाई जीवनको अन्तिम घडीमा भेट्न नपाउँदा दीपको मन साह्रै कुँडिएको छ। 
‘उहाँको पार्थिव शरीरमा एक गुच्छा फूल चढाउन पाइनँ,’ दीपको गला अवरुद्ध भयो, ‘उहाँलाई धित मर्ने गरी एकपल्ट हेर्न पाइनँ ।’ 

दीपको एउटा अर्को चाहना पनि पूरा भएन, जुन कुराले असह्य पीडाबोध भइरहेको छ। उनको चाहना थियो– रिमालका तीन–चारवटा गीत रिरेकर्ड गरेर सुनाउने। त्यो योजना दीपले रिमाललाई सुनाएका थिएनन्।

रिरेकर्डका लागि संगीत एरेन्ज गर्न पनि दिइसकेका थिए। पुनःरेकर्डिङ गरिएका गीतहरु रिमाललाई मन पर्ला कि नपर्ला, सुनेर के भन्लान् ? जस्ता प्रश्न दीपको मनमा खेलिरहेको थियो।  

‘तर अब सुन्नका लागि उहाँ नै रहनुभएन’ उनले भने, ‘उहाँलाई सरप्राइज दिन्छु सोचेथेँ, उहाँले नै सरप्राइज दिएर जानुभयो ।’ रिमाललाई नै सुनाउन नसके पनि रिरकेर्ड गरिएका गीतहरू श्राेतालाई सुनाउने योजनामा छन् दीप। 

उनले रिमालका करिब दुई दर्जन गीतमा संगीत भरे। जसमध्ये १६ वटा आफ्नै स्वरमा रेकर्ड गराएका छन्। ‘हुँ यात्री’, ‘झस्केछ मन मेरो’ लगायत दीपले गाएका रिमालका चर्चित गीत हुन्। 

यसबाहेक पनि उनीसँग रिमालका गीतहरु छन्, जुन संगीत भरिन र गाउन बाँकी नै छन्। यी गीतहरूमा पनि  काम गर्ने योजना दीपको छ ।

दीपको मात्रै होइन लाखौँ संगीत पारखीको मनमा रहिरहनेछन्, भैरवनाथ रिमाल ‘कदम’। नेपाली संगीतिक क्षेत्रमा रिमालको योगदन अतुलनीय छ। 

प्रिय रिमाल, हामी तिमीलाई सम्झिरहनेछौँ, तिम्रो एक दर्जन कविता संग्रह र ८ सयभन्दा धेरै गीतमार्फत। 
अलविदा, भैरवनाथ रिमाल ‘कदम’ !

गीतकार भैरवनाथ रिमाल ‘कदम’को शनिबार ८६ वर्षको उमेरमा मृत्यु भयो। ३ माघ वि.सं. १९९२ मा जन्मिएका रिमाल लामो समयदेखि अल्जाइमर र कानको बिरामी थिए। उनको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो।

  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार १७:१४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया