कोभिड–१९ महामारीको असहज परिस्थितिमा निःशुल्क गरिएको अन्तरबैंक एटिएम कारोबार सुविधा माघ १ देखि हटेको छ ।
राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७७ मा संशोधन गर्दै माघदेखि कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले परिपत्र जारी गरी नयाँ व्यवस्था गरेसँगै अब अन्तरबैंक एटिएम प्रयोगमा शुल्क लाग्ने भएको हो । माघ १ गतेदेखि लागु हुने गरी नयाँ शुल्कसमेत निर्धारण गरिएको छ ।
राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले हालै जारी गरेको परिपत्रअनुसार एटिएम प्रयोगकर्ताले जुनसुकै बैंकबाट मासिक २ पटकसम्म नगद झिक्दा कुनै शुल्क लाग्ने छैन । यसपछि भने प्रतिकारोबार अधिकतम २० रुपैयाँसम्म शुल्क लिन निर्देशन दिएको छ ।
राष्ट्र बैंकले उक्त शुल्क बैंक तथा वित्तीय संस्थाहरूले यसअघि निर्धारण गरेको आधारमा छलफल गरेर औसतभन्दा कम हुने गरी अहिलेको शुल्क निर्धारण गरेको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले बताए । बैंकहरूलाई मर्का नपरोस् भनेर सबैलाई एकरूपता हुने गरी शुल्कको सीमा तोकिएको उनको दाबी छ ।
यसअघि आर्थिक वर्ष (आव) २०७७÷७८ को मौद्रिक नीतिले कोभिड–१९ को असर रहेसम्म अन्तरबैंक एटिएम कारोबारमा शुल्क नलाग्ने व्यवस्था गरेको थियो ।
बैंक तथा वित्तीय संस्थाका छाता संगठनले भने बन्दाबन्दी खुकुलो भएको, आवतजावत सहज हुँदै गएको भन्दै यसअघि नै शुल्क लिन पाउनुपर्ने माग गर्दै आएका थिए ।
निःशुल्क गर्दा बैंकको लागत बढ्ने भएकाले यो व्यवस्था सच्याउन बैंकरहरूले बारम्बार केन्द्रीय बैंकको ध्यानाकर्षण गराउँदै आएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।