प्रचण्डको निष्कर्ष : केपी ओली रक्षात्मक भइसके, केही महिनामै हामी सत्तामा हुन्छौँ
माघ २८ पछि आन्दोलन चर्किने दाबी

नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक अवस्थामा पुगेको बताएका छन्। गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएसँगै बढेको राजनीतिक ध्रुवीकरणले विस्तारै आफ्नो पक्षमा माहोल बनाउँदै गएको दाबी प्रचण्डले सोमबार गरेका हुन्। 

आफू पक्षीय एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा सोमबार बोल्दै  अध्यक्ष प्रचण्ड अहिलेको लडाइँ प्रतिगमन र प्रतिक्रान्तिविरुद्ध रहेको जिकिर गरे। 'अहिले हामी प्रतिगमन र प्रतिक्रान्तिविरुद्ध लडिरहेका छौँ', उनले शिक्षकहरुलाई फकाउँदै भने, 'यो एक थान कुर्सीको लडाइँ होइन, सत्ताको लडाइँ होइन, तपाईंहरुले बुझिदिनुहोला।'

दाहालले शिक्षकहरुका समस्या समाधानका लागि आफ्नै सरकार हुँदा शिक्षा मन्त्रालयले अघि बढाएका फाइललाई ओलीले अड्काएर राखिदिएको जिकिर गरे। 'हामीले हाम्रै नेतृत्वको सरकार भएका बेलामा शिक्षा मन्त्रालयबाट गरिएका सिफारिस र सुझाव केपी ओलीले क्याबिनेटमा थन्क्याएर, रोकेका छन्', उनले भने, 'अबको केही महिनामै हामी यो लडाइँ सरकारमा जितेर गएपछि तिनलाई फुकाउने छौँ।'

ओलीले नै सबैभन्दा धेरै शिक्षकहरुलाई विचार र राजनीतिबाट अलग राख्नुपर्छ भनेको दाबी प्रचण्डले गरे। 'ओलीले सबैभन्दा धेरै विवाद शिक्षकहरुलाई विचार र राजनीतिबाट अलग राख्नुपर्छ भनेर गरे। उनले शिक्षकहरुलाई पार्टीको कुनै पदमा राख्नु हुँदैन भन्थे', दाहालले भने, 'उनैले शिक्षकहरुलाई पार्टीमा राख्नु हुँदैन भन्थे। तर उनकै गुटको केन्द्रीय समितिमा उनैले थुप्रै शिक्षक लगेर राखेका छन्।'

उनले अहिलेको लडाइँ विचार र राजनीतिकै भएको जिकिर गरे। 'अहिलेको लडाइँ विचार र राजनीतिमै हो। केपीसँगको झगडा प्रधानमन्त्रीका लागि कुर्सीका लागि मात्रै हो भन्छन्', उनले भने, 'यो प्रचार केपी गुटकाले नै गर्छन्। सिस्टम र प्रणालीका लागि हाम्रो लडाइँ हो।'

दाहालले पार्टी र आन्दोलन विचारद्वारा निर्देशित हुने तर्क गरे। 'केपीले राजनीतिक कार्यदिशामाथि निरन्तर प्रहार गरेपछि विवाद भएको हो', उनले भने, 'राजनीतिक प्रतिवेदन र विधानमा भएको व्यवस्थालाई बचाउन मैले पद छाड्दै हिँडेको हो।
मैले पाँचै वर्ष ओलीलाई प्रधानमन्त्री छाडेको हो। मलाई पार्टी चलाउन छाडिदिनु भनेको हो। पदको निम्ति झगडा भनेको त हाम्रो आन्दोलनलाई बदनाम गर्ने योजना मात्रै हो।'



दाहालले क्रान्तिको नेतृत्वलाई बदनाम गर्दै गएपछि प्रतिक्रान्तिको वातावरण बन्ने जिकिर गरे। 'यो पदको लडाइँ र पदको छिनाझपटी पनि होइन। यो अग्रगमन र प्रतिगमनको लडाइँ हो', दाहालले भने, 'हामी जनताको पक्षमा गयौँ, सडकमा जानुमा हामीलाई गर्व छ। केपी ओली जनता लोकतन्त्र र संघीयताबाट टाढा गएका छन्। अहिलेको लडाइँ यही नै हो।'

उनले प्रतिनिधिसभा विघटनविरुद्ध पुस ५ बाटै लडाइँ सुरु भएको बताए। 'प्रतिगमन र प्रतिक्रान्तिविरुद्ध पुस ५ गतेबाटै लडाइँ सुरु गरेका हौँ। अरु साथीहरुलाई सडकमा कुरेर बसेनौँ, हामी एक्लै निस्कियौँ', उनले भने, 'अब आन्दोलनको वातावरण विस्तारै सकारात्मक बन्दैछ। अब नेपाली जनताले जित्नेतिर जाँदै छ, प्रतिक्रान्तिकारीहरु हार्दैछन्', उनले भने, 'माघ २८ गतेको कार्यक्रमलाई सफल बनाऊँ, अहिले नै केपी ओली रक्षात्मक भइसकेका छन्। माघ २३ को सभामा छिरोलेर राख्दा पनि उनकै सेक्युरिटीले ३० हजार मात्रै मान्छे आएका भनेका छन्। हामी लडाइँ जितेर आउँछौँ आउँछौं।'



भिडियो

  • प्रकाशित मिति : माघ २६, २०७७ साेमबार १६:२३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया