महाधिवेशनतिर एमाले, तोक्यो सबै तहको अधिवेशन मिति (निर्देशनसहित)

सत्तारुढ नेकपा एमालेले आफूलाई १० औँ महाधिवेशनतर्फ अघि बढाएको छ। वैशाख ६, १० र १२ गते बालुवाटारमा भएको केन्द्रीय कमिटी बैठकको निर्णयानुसार एमालेले सबै तहको अधिवेशन मिति नै तय गरेको हो। 

केन्द्रीय कमिटी बैठकले महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको कार्यतालिकालाई परिमार्जनसहित पारित गर्दै अन्तरपार्टी निर्देशन जारी गरेको हो। उक्त निर्देशन अनुसार एमालेले आगामी असार मसान्तसम्ममा पार्टी सदस्यता नवीकरण पूरा गर्ने जनाएको छ। 

एमालेले सदस्यता नवीकरण पूरा गरेपछि सबैभन्दा पहिले स्थानीय र प्रदेश कमिटीका अधिवेशन सक्ने भएको छ। महाधिवेशनतर्फ केन्द्रित गराउने क्रममा एमालेले आगामी साउन २५  देखि २७ गतेसम्म विधान संशोधन केन्द्रित छलफल गर्ने भएको छ। त्यसका लागि एमालेले राष्ट्रिय प्रतिनिधि परिषदको बैठक उक्त मितिमा राख्ने भएको छ।

यस्तो छ अधिवेशन तालिका

एमालेले राष्ट्रिय प्रतिनिधि परिषदको बैठक सकेपछि सबैभन्दा पहिले भदौ ५ गते देशभरका वडा कमिटीको अधिवेशन गर्ने छ। त्यसपछि भदौ १५ मा पालिका कमिटीहरूको अधिवेशन हुने छ। 

एमालेले ७७ जिल्ला र विभागीय कमिटीको अधिवेशन भदौ ३० गते गर्ने योजना ल्याएको छ। एमालेले भदौ सकिएपछि असोज २३ गते प्रदेश कमिटीको अधिवेशन गर्ने योजना ल्याएको छ। 



सबै तहका अधिवेशन पूरा गरेपछि एमालेले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अद्यावधिक गर्ने योजना ल्याएको छ। एमालेले यसअघि नै आगामी मंसिरमा दशौँ महाधिवेशन गर्ने मिति तोकिसकेको छ।

एमालेले आगामी मंसिर २ देखि ६ गतेसम्म दशौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गत फागु २८ गते नै गरिसकेको छ। त्यसपछि महाधिवेशनसम्बन्धी थप निर्णय बालुवाटारमा चैत ७ गते एमाले केन्द्रीय कमिटी बैठकले लिएको थियो।



एमालेले असन्तुष्ट माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले देशभर समानान्तर कमिटी बनाइरहँदा पार्टीलाई महाधिवेशनतर्फ लगेको हो। यसबीचमा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पटक पटक भएको वार्ता फलदायी हुन सकेको छैन।

  • प्रकाशित मिति : वैशाख १७, २०७८ शुक्रबार १३:११:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया