कोरोना महामारीकाे चपेटामा ‘रियालिटी शो’

विश्व कोरोना माहामारीको दोस्रो लहरले ग्रस्त छ । नेपाल पनि यो महामारीका कारण आक्रान्त छ । देशका धेरैजसो स्थानमा निषेधाज्ञा जारी गरिएको छ । सबै क्षेत्र ठप्पप्राय छन् । चलायमान क्षेत्र पनि बिस्तारै बन्द हुँदै गएका छन् ।

निषेधाज्ञाकै बीचमा पनि केही रियालिटी शोहरु भने विभिन्न टेलिभिजनबाट सञ्चालन भइरहेका थिए । निषेधाज्ञाको मिति बढेसँगै सञ्चालनमा रहेका रियालिटी शोहरु पनि अन्योलमा परेका छन् । केही रियालिटी शो भने अनिश्चितकालका लागि स्थगित भइसकेका छन् ।

गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपालको तेस्रो सिजन निषेधाज्ञाको समयमा गएको सातासम्म प्रसारण भयो । ब्याटल राउण्डका भागहरु निषेधाज्ञा अघि नै छायांकन भएका थिए । शनिबारबाट शोको ब्याटल राउण्ड सकिएर नकआउट राउण्डमा प्रवेश गरेको छ ।

यसपछिका श्रृंखलाहरु भने छायांकन भएका छैनन् । दर्शकबिनै केही भाग छायांकन गर्दै गरेको भएपनि पूरा नभएको शोका निर्देशक लक्ष्मण पौडेल बताए । यो साता नयाँ एपिसोड देखाउने कोसिस भइरहेपनि छायांकनमा समस्या भएको उनको भनाइ छ ।

‘कमेडी च्याम्पियन’ को दोस्रो सिजन भने यस अघिनै अनिश्चित कालका लागि स्थगित भइसकेको छ । निषेधाज्ञाका कारण नयाँ भागहरु छायांकन गर्न नसकेपछि शो नै बन्द गरिएको हो । अघिल्लो सातासम्म प्रसारण भएको कमेडी च्याम्पियनको दोस्रो सिजनको १६ भाग प्रसारण भइसकेको छ ।  

लोक दोहोरी गीतमाथि चलिरहेको अर्को रियालिटी शो ‘दोहोरी च्याम्पियन’ भने अर्को सातासम्मका लागि छायांकन भएको छ । त्यसपछिको भाग के गर्ने भन्ने बारेमा सल्लाह भइरहेको कार्यक्रम सञ्चालन गर्दै आएका बद्री पंगेनीले बताएका छन् । 





  • प्रकाशित मिति : जेठ ३, २०७८ साेमबार १२:११:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया