सरकारसँग अभिनेत्री प्रियंका कार्कीका प्रश्नै प्रश्न

अभिनेत्री प्रियंका कार्की यतिबेला गर्भमा रहेको सन्तानको ढुकढुकी छामिरहेकी छन् । उनी आफ्नो गर्भावस्थालाई उत्सवका रुपमा मनाउँनै व्यस्त छिन् । उनै अभिनेत्री कार्कीले समय निकालेर देशप्रतिको चिन्ता व्यक्त गरेकी छन् । उनले नेपाल सरकारलाई सम्बोधन गरेर पहिले जनताको समस्या बुझ्न आग्रह गरेकी छन् ।

उनले यो समय देश र जनतालाई चुनावको नभएर स्वास्थ्यको खाँचो रहेको औंल्याएकी छन् । उनले लेखेकी छन्, ‘आँखा खोलेर एक पटक नियालेर देशको स्थिति हेर्नुहोस् । अहिलेको समयमा देश र जनतालाई चुनाव चाहिँदैन । यो अहिले प्राथमिकतामा पर्दैन । यति सामान्य कुरा पनि देख्न र बुझ्न नसक्ने ? देश हाँक्ने शक्ति, देशलाई प्रगति र उन्नतिको मार्गमा लाने र इमानदारी र जिम्मेवारीका साथ देश र जनताको सेवा र सुरक्षा गर्ने यो सरकारको दायित्व होइन र ?’

उनले सरकारको आलोचना गर्दै कोरोना संक्रमित बढिरहेको, उनीहरुको अवस्था जटिल भइरहेको, अस्पतालमा बेड, भेन्टिलेटर र अक्सिजन अभावको खबर सुन्दा सुन्दै ४० अर्ब खर्च गरेर चुनाव गर्ने भनेर प्रश्न गरेकी छन् ।

उनले आफ्नो स्टाटसमा कमेडियन आदर्श मिश्रालाई पनि जोडेकी छन् । भनेकी छन्, ‘निषेधाज्ञा चलिरहँदा जनताले दुई छाक खान पाएका छैनन् । हामी नेपाल जस्तो संस्था र आदर्श मिश्रा जस्ता नागरिकले देशको हालत र परिस्थितिमा सुधार ल्याउन दिन रात खटिरहेका छन् । जुन काम खासमा यो सरकारको हो ।’

उनले चुनावमा लाग्ने खर्च जनताको स्वास्थ्यका लागि खर्च गर्न आग्रह गरेकी छन् । उनले यस्तो अवस्थामा चुनाव घोषणा गरेर बस्दा निद्रा लागेको छ ? भनेर सरकारलाई प्रश्न गरेकी छन् । उनले अगाडि भनेकी छन्, ‘अझै पनि आफूले आफूसँग नजर मिलाउन सक्छौ ए सरकार ? राति निन्द्रा राम्रोसँग त लाग्छ ? अहिलेको परिस्थिति बुझ्नुहोस् ।’

उनले जनता रहे मात्रै देश रहने भन्दै चुनाव समय राम्रो भएपछि गर्न आग्रह गरेकी छन् ।





  • प्रकाशित मिति : जेठ १६, २०७८ आइतबार १२:३७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया