उज्ज्वल थापाबारे रञ्जु दर्शना: उहाँ आफू पछि हटेर अरुलाई अघि बढाउने मान्छे हो

विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको मंगलबार निधन भएको छ । कोरोना संक्रमणसँग जुधिरहेका थापाको आज दिउँसो मेडिसिटी अस्पतालमा निधन भएको हो ।  

उनको निधनपछि यतिबेला उनका शुभचिन्तक स्तब्ध बनेका छन् । उनको निधनमा श्रद्धाञ्जली अर्पण भइरहेको छ । 

विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले थापासँगै एक वर्ष नजिक रहेर काम गरिन् । आफूले एक वर्षको अवधिमा थापाको नजिक रहेर काम गर्दा थापाबाट इमानदारी पाठ सिकेको रञ्जु बताउँछिन् ।  

उज्ज्वल थापाबारे रञ्जुको थप भनाइ 

उहाँ एकदमै इमानदार, शालीन, जहिले पनि आफू पछाडि बसेर अरुलाई अगाडि बढाउन खोज्ने, एकदमै ‘इन्करेज’ गर्ने मान्छे हुनुहुन्थ्यो । मैले एक वर्षजति सबैभन्दा नजिक भएर काम गरेको थिएँ । 

उहाँमा कहिल्यै पनि केही कुराको लोभ–लालच भन्ने थिएन । केही शुभकामना दियो भने पनि ‘मेरो पनि तँलाई नै लागोस्’ भन्ने गर्नुहुन्थ्यो । उहाँसँगको बसाइबाट सधैँ नै स्मरणीय तथा केही नयाँ कुरा सिकिन्थ्यो । उहाँ धेरै कुराका लागि मार्गदर्शक नै बन्नुभयो । 



एकपटकको घटना हो । विराटनगर र झापामा पार्टीको कार्यक्रम थियो । हामीले चारजना नेताहरूको टिकट काटेका थियौँ । अरुले पार्टीको खर्चबाट जाने कि के गर्ने भन्दै हुनुहुन्थ्यो । उहाँले चाहिँ म त पार्टीको खर्चमा जान्नँ भनेर पैसा निकालेर अगाडि नै दिनुभयो । पार्टीको बैठकमै पैसा दिएर मेरो टिकटचाहिँ मेरै व्यक्तिगत पैसाबाट काट्नुपर्छ भन्नुभयो । जुन कुरा मैले कहिल्यै बिर्सिन सकेको छैन । त्यही दिनदेखि मैले उहाँको इमानदारी बुझ्दै आएको हुँ । 

उहाँलाई जहिले पनि देशको बारेमा चिन्ता हुन्थ्यो । देश त पहिलेदेखि नै बिगारिएको हो । यसले बिगार्यो, उसले बिगार्यो भन्दा पनि बिगार्नेले बिगारिहाल्यो, अब हामीले स्वच्छ तरिकाले कसैको केही नबिगारीकन देश बनाउने हो भन्ने गर्नुहुन्थ्यो । 



बिग्रेका कुराहरूलाई आफ्नै कर्मले सुधार्ने हो । कुरा गरेर, गफ गरेर, भाषण गरेर यो कुराहरू सुध्रिँदैन भन्नुहुन्थ्यो । जहिले पनि कर्म गर्नुपर्छ भन्ने उहाँको थेगोजस्तै थियो । बाँचुन्जेल त्यही आदर्शमा बाँच्नुभयो । उहाँको जीवन मेरा लागि अत्यन्तै प्रेरणादायी छ ।

  • प्रकाशित मिति : जेठ १८, २०७८ मंगलबार १८:४४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया