पछिल्ला चार महिनामा व्यापार घाटा झण्डै दोब्बरले वृद्धि : तरकारी मात्रै ३१ अर्बको आयात

चालु आर्थिक वर्षका पछिल्ला चार महिनामा व्यापार घाटा दोब्बरले बढेको छ । चालु आर्थिक वर्ष ०७७/७८ का सुरुवाती ६ महिनामा भएको व्यापार घाटाभन्दा माघदेखि वैशाख मसान्तसम्ममा व्यापारघाटा झण्डै दोब्बरले बढेको हो । आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको तथ्यांकअनुसार नेपालले ६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाख ९४ हजारको मालवस्तु आयात गर्दा ६० अर्ब ७९ करोड ९२ लाख १४ हजार बराबरको मालवस्तु मात्रै निर्यात गरेको थियो । यसअनुसार उक्त अवधिमा नेपालले व्यहोरेको कुल व्यापार घाटा ६ खर्ब ४४ करोड ६१ लाख ८१ हजार भएको थियो ।

चालु आर्थिक वर्षको १० महिना नाघ्दा भने नेपालको व्यापार घाटा झण्डै दोब्बरले बढ्दै ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख पुगेको छ । चालु आवको साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा नेपालले विभिन्न देशबाट १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार बराबरका मालवस्तु आयात गरेको छ । सो अवधिमा १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार बराबरको विभिन्न वस्तु मात्रै निर्यात गरेको भन्सार विभागले जानकारी दिएको हो ।

चालु आर्थिक वर्षका १० महिनामा भएको व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ खर्बभन्दा बढीले बढेको छ । 

तरकारी आयातमा चार अर्बले वृद्धि

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा तरकारी मात्रै ३१ अर्ब ३५ करोड ८८ लाख ३६ हजारभन्दा बढी रकमको आयात भएको छ । सो अवधिमा नेपालबाट ५७ करोड १६ लाख बराबरको तरकारी निर्यात भएको छ ।

कोरोना भाइरसका कारण युवाहरू गाउँ फर्किने र कृषिजन्य आयातमा केही कमी आउने पूर्वानुमान विपरीत गत आर्थिक वर्षको सो अवधिको तुलनामा तरकारीको आयात करिब ४ अर्बभन्दा बढी भएको देखिन्छ । गत आर्थिक वर्षका १० महिनामा २६ अर्ब १९ करोड ६१ लाख ८९ हजार बराबरको तरकारी आयात भएको थियो ।



चालु वर्षको दश महिनामा गत वर्षभन्दा तरकारी निर्यातमा पनि दोब्बरभन्दा बढीले कमी आएको छ । त्यस अवधिमा नेपालबाट १ खर्ब १ अर्ब ४६ करोड तरकारी निर्यात भएको थियो । 

चालु वर्षका १० महिनामा नेपालले १ खर्ब ७२ अर्ब ७७ करोड ८८ लाख बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । यसबाहेक ठूलो मात्रामा खाद्यान्न, खाने तेल, औषधिजन्य उत्पादन, मल लगायतका वस्तु आयात भएको छ । यो अवधिमा नेपालले चिया, कफी, वनस्पति घ्यू तेल लगायतका मालवस्तु निर्यात गरेको छ । विभिन्न सांगीतिक उपकरणमा भने आयातभन्दा निर्यात बढी भएको तथ्यांकले देखाएको छ । अन्तरिक्षयान, वायुयान र पार्टपूर्जाको आयात र निर्यात पनि नेपालले गरेको देखिएको छ ।



यो अवधिमा नेपालले भन्सार राजस्वबाट ३ खर्ब ५२ अर्ब ८७ करोड १५ लाख ४४ हजार आम्दानी गरेको छ । भन्सार राजस्वबाट गरिएको आम्दानीमा पनि गत आर्थिक वर्षको समीक्षाको अवधिभन्दा झन्डै दोब्बरले वृद्धि भएको छ । गत आर्थिक वर्षको १० महिनामा भन्सार राजस्वबाट २ खर्ब ५६ करोड ५३ लाख १२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

सरकारी नीति प्रभावहीन 

सरकारले चालु आर्थिक वर्ष ०७७/७८ को बजेटमार्फत् व्यापार घाटा कम गर्न भन्दै उत्पादनमा गुणस्तर, आयातमा कडाई र स्वदेशी उत्पादन निर्यातमा प्रवर्द्धनको नीति लिएको थियो ।

बजेट दस्तावेजमा उल्लेख छ, ‘वैदेशिक व्यापारमा हाल देखिएको अवरोध चिर्दै विश्व बजारमा प्रतिस्पर्धी वस्तुको उत्पादन बढाइ निकासी प्रवर्द्धन गर्ने, विलासी र स्वास्थ्य तथा वातावरणीय हिसाबले हानिकारक वस्तुको आयात रोक्ने तथा उच्च मूल्ययुक्त स्वदेशी वस्तु निर्यातमा कर सहुलियत तथा अनुदानको व्यवस्था गरिनेछ ।’

सोही अनुसार सहुलियत, अनुदान तथा आयातमा कर वृद्धिका कारण व्यापार घाटामा केही कमी आएको अर्थमन्त्रालयको दाबी छ ।

चालु आर्थिक वर्षमा स्वदेशी कृषि उपजको बजार सुनिश्चित गर्न विदेशबाट आयात हुने तरकारी र फलफूलमा लाग्ने कृषि सुधार शुल्कमा वृद्धि गरिएको छ । भारत तथा चीनलगायत मुलुकबाट नेपाल भित्रने सबैखाले हरियो तरकारी र फलफूलको शुल्क ४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षसम्म ५ प्रतिशत मात्रै लाग्ने उक्त शुल्क अब ९ प्रतिशत पुर्‍याइएको छ । तेस्रो मुलुकबाट आयात हुने आलुमा लाग्ने त्यस्तो शुल्क पनि १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याइएको छ ।

सरकारले चिया, कफी, अर्गानिक तरकारी, पिउने पानी तथा जडिबुटीलाई निकासी प्रवर्द्धन र नेपाली हस्तकला प्रचार-प्रसार र बजारीकरण तथा निकासी गर्दा कर सहुलियत तथा अनुदान समेत पाउने व्यवस्था गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट दस्ताबेजमा पनि स्वदेशी उत्पादन र निकासीमा वृद्धि गर्ने विभिन्न कार्यक्रम अघि सारेको छ । जसमध्ये ‘मेड इन नेपाल र मेक इन नेपाल’ अभियान चलाउने उल्लेख गरेको छ । यसैगरी निर्यातजन्य उद्योगमा विदेशी लगानी आकर्षित गर्ने नीति सरकारले लिएको छ । सरकारले व्यापार घाटा कम गर्नकै लागि भन्दै गिट्टी बालुवा र ढुंगा निर्यात गर्ने घोषणा यतिबेला सर्वत्र चर्चाको विषय बनेको छ ।

लामो समयदेखि व्यापार घाटामा परेको नेपालले व्यापार नीतिमा सुधार ल्याउन नसक्दा व्यापार घाटा भने बढ्दो छ । स्वदेशी वस्तुको लागत महंगो पर्नु, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा आयातको तुलनामा स्वदेशी वस्तुको निर्यात बढ्न नसकेको विज्ञहरू बताउँछन् ।

  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार १९:७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया