युरो कप : डेनमार्क र इटाली क्वाटरफाइनलमा
जितपछि खुसी मनाउँदै डेनमार्क र इटालीका खेलाडी । तस्बिर : एजेन्सी

युरो कप अन्तर्गत शनिबार भएका अन्तिम १६ का आआफ्ना खेलमा जित हात पार्दै डेनमार्क र इटालीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

नेदरल्यान्डको एम्टरडममा भएको खेलमा डेनमार्कले १० खेलाडीमा सीमित वेल्समाथि ४-० को सहज जित हात पार्‍यो । उसको जितमा कास्पर डोलबर्गले २, जोकिम माहेल र मार्टिन ब्रेथवेटले १-१ गोल गरे ।

२७ औँ मिनेटमा डोलबर्गले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए । उनले मिकेल डम्सगार्डको पासमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।

४८ औँ मिनेटमा डोलबर्गलेनै टोलीको अग्रता दोब्बर बनाए । उनले वेल्सका निको विलियम्सले क्लियर गरेको बललाई पोस्टको दिशा दिएका थिए ।

८८ औँ मिनेटमा म्याथिस जेनसनको पासमा माहेलले टोलीका लागि तेस्रो गोल गरे ।

९० मिनेटमा वेल्स १० खेलाडीमा सीमित बन्यो । जोकिम माहेललाई खराब ट्याकल गरेपछि निको विलियम्सले सिधै रातो कार्डको सामना गर्नुपर्‍यो ।



थप गरिएको समयमा ब्रेथवेटले गोल गर्दै डेनमार्कलाई सहज जित दिलाए ।

डेनमार्कले क्वाटरफाइनलमा नेदरल्यान्ड र चेक गणतन्त्रबीचको विजेतसँग प्रतिस्पर्धा गर्नेछ ।



इटालीले पनि अस्ट्रियामाथि २-१ को कठिन जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । खेलको तीनै गोल अतिरिक्त समयमा भएको हो ।

लन्डनस्थित वेम्बली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा रोकिएपछि ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो ।

इटालीको जितमा वैकल्पिक खेलाडी फेड्रिको चेइसा र माटियो पेसिनाले १-१ गर्दा अस्ट्रियाका सासा कालाज्डिजले १ गोल फर्काए ।

९५ औँ मिनेटमा चेइसाले गोल गर्दै इटालीलाई अग्रता दिलाए । उनले लियोनार्दो स्पिनाजोलाको पसालाई सदुपयोग गरे । चेइसा ८४ औँ मिनेटमा डोमोनिको बेरार्डीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

पेसिनाले १०५ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । उनी ६७ औँ मिनेटमा निकोलो बरेलाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

११४ औँ मिनेटमा सासाले गोल गर्दै अस्ट्रियालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो प्रयाप्त बन्न सकेन ।

इटालीले क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार ५:३६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया