सिभिल बैंकका नवनियुक्त सिइओ पोखरेलले सम्हाले कार्यभार

सिभिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिलकुमार पोखरेलले आज (असार १८ गते) देखि आफ्नो कार्यभार सम्हालेका छन् । गत जेठ २८ गते नियुक्त भएका पोखरेलले आजदेखि सिइओ पदको कार्यभार सम्हालेका हुन् ।

बैंक सञ्चालक समितिको बैठकले असार १८ गतेदेखि लागू हुने गरी उनलाई प्रमुख कार्यकारी नियुक्त गरेको थियो । यससँगै उनले अब आगामी चार वर्षसम्म बैंकको सिइओको जिम्मेवारी सम्हाल्ने छन् ।

सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका पोखरेल अनुभवी बैंकरका रूपमा परिचित छन् । यसअघि उनी बैंकको निमित्त सिइओका रूपमा कार्यरत थिए ।

उनीसँग विदेशी बैंकदेखि नेपाली बैंकहरूमा पनि लामो समयसम्म काम गरेको अनुभव तथा कार्यकौशलता छ । उनले करिब २० वर्ष तत्कालीन ग्रिन्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा काम गरे । त्यसपछि उनले एनआइसी एसिया बैंकमा करिब ५ वर्ष काम गरे । नबिल बैंकमा पनि उनले एक वर्ष काम गरेको अनुभव छ ।

उनले म्यानमारस्थित युनाइटेड अमरा बैंकमा पनि काम गरेका छन् । त्यसपछि उनले म्यानमारकै एजिडी बैंकमा काम गरे । त्यसैले पनि उनलाई धेरैले विदेशी बैंकिङ सम्बन्धी राम्रै ज्ञान तथा अनुभव भएको बैंकरका रूपमा चिन्छन् । विदेशी बैंकसँग करिब ३ वर्ष काम गरेको अनुभव पोखरेलसँग छ ।

उनी २०७६ जेठ २ मा सिभिल बैंकको डेपुटी सिइओमा नियुक्त भएका थिए । यी विभिन्न बैंकमा काम गर्दा उनले हालसम्म तीन दशकभन्दा बढी समय बैंकिङ क्षेत्रमै बिताइसकेका छन् ।



सिभिल बैंकका सिइओ गोविन्द गुरुङले राजीनामा दिएपछि सञ्चालक समितिको बैठकले उनलाई सिइओमा नियुक्त गरेको हो ।



  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार १९:१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया